तिलोत्तमा नगरपालिकामा समायोजन मिलान भएका स्वास्थ्यका १३ कर्मचारीले साउन देखिको तलव पाएनन्
बुटवल, २ कात्तिक । समायोजन मिलान भई तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यका १३ कर्मचारीहरुले गत १ साउन देखिएको तलव भत्ता पाउन सकेका छैनन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र अनुसार नगरपालिकाले उनीहरुलाई हाजिरी गराए पनि तलव खुवाउन भने आलटाल गरिरहेको छ । दशैंको मुखमा साउन देखिकै तलव रोकिदा उनीहरु भने विचल्लीमा परेका छन् ।
एक जना कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतले नियतबस नै आफूहरुलाई दुख दिन खोजेको आरोप लगाए । ‘हामी सरकारकै कर्मचारी हौँ । समायोजन मिलान भई यहाँ आएका हौँ । काम काज पनि गर्दै आएका थियौँ । १ साउन देखि दबरन्दी भन्दा बढीलाई तलव खुवाउन नसकिने भन्दै सरकारले काज फिर्ता गर्ने अभियान त चलायो तर ३० साउनमा पुन समायोजन मिलान भएका कर्मचारीहरुलाई यथास्थितिमा राख्दै तलव खुवाउन स्थानीय पालिकाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले नपुग भएका ठाउँमा कति नपुग भएको हो सो जानकारी गराउन समेत भनेको छ । तर हाम्रो नगरपालिकाले त्यो गरेकै छैन । मन्त्रालयबाट पठायो भने तलव दिईन्छ होइन भने दिईदैन भन्ने गरेका छन् प्रशासकीय अधिकृत,’ एक कर्मचारीले भने ।
हाजिरी गराएका कर्मचारीहरुलाई काममा लगाउने र तलव खुवाउने दायित्व पनि प्रमुख प्रशासकीय अधिकृतको हो भन्दै १३ जना कर्मचारीप्रति उनको व्यवहार पक्षपातपूर्ण रहेको ती कर्मचारीले बताए ।
प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले भने सरकारले दरबन्दी भन्दा बढी कर्मचारी नराख्न निर्देशन दिएको र अहिलेका १३ जना समायोजन मिलानका कर्मचारी भएपनि दरबन्दी भन्दा बढी रहेको बताए । उनले मन्त्रालयबाट तलव आएमा खुवाउन सक्ने अन्यथा नसक्ने कुरा कर्मचारीलाई स्पष्ट पारेको समेत बताए ।
‘हामीकहाँ ४५ जना स्वास्थ्यको दरबन्दी हो । उहाँहरु १३ जना दरबन्दी भन्दा बढिमा पर्नु हुन्छ । यसमा हामीले खुवाउन सक्ने कुरा भएन । मेयर उपमेयर सहित बसेको बैठकले गरेको निर्णय हो यो,’ उनले भने ।
दशैंको बेलामा तलव नपाउँदा कर्मचारीहरुलाई अफ्टेरो लाग्नु स्वभाविक भए पनि आफू नियम विपरित काम गर्न नसक्ने अर्यालले बताए ।
तिलोत्तमाकै एक कर्मचारीले भने समायोजन मिलान भई काम गरेका छिमेकी पालिकाहरुमा दनादन तलव पाइरहेको बताए । ‘हाम्रोमा विशेषगरी प्रमुख प्रशासकीय अधिकृतले ईगो साँधेर यो काम गर्नु भएको हो । यति बढी कर्मचारी छन् तलव नपुग भयो भनेर मन्त्रालयलाई जानकारी पनि नगराउने, दिएमा मात्रै खुवाउँछु भन्ने यो गैर जिम्मेवारी कुरा भयो,’ ती कर्मचारीले भने ।
सम्पर्क इमेल : [email protected]