मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीको ‘ब्रिफिङ’

काठमाडौँ, २ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गरेका छन् ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गराएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

चीनमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई गएराति सामान्य प्रकारको हृदयाघात भएको थियो । प्रधानमन्त्री दाहालले उनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कजेजमा उपचार भइरहेको जानकारी गराएको मन्त्री शर्माले बताइन् । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको मन्त्री शर्माले जानकारी दिइन् ।

“प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे चीनका लागि नेपाली राजदूतसँग जानकारी लिइराख्नुभएको छ । उपचारका क्रममा केही दिन उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा नै रहने जानकारी आएको छ”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री शर्माले भनिन् ।

बैठकले नजिकिएको चाडपर्व दसैँ, तिहार, नेपाल संवत्, छठलगायत राष्ट्रिय पर्वका अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *