महाराजगञ्ज मेडिकल क्याम्पसबाट एमबीबीएस उत्तीर्ण चिकित्सकहरु संगठित, गठन गरे अलुम्नाई एशोसिएशन

आगामी ३ कात्तिकमा काठमाडौँमा बृहत भेलाको आयोजना

काठमाडौँ, २१ असोज । महाराजगञ्ज मेडिकल क्याम्पसबाट एमबीबीएस पास गरेका चिकित्सकहरु एकतावद्ध भएका छन् । उनीहरुले महाराजगञ्ज मेडिकल क्याम्पस अलुम्नाई एशोसिएशन गठन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा गैर नाफामुलक संस्था (एनजीओ)को रुपमा दर्ता भएको अलुम्नाई एशोसिएशन अहिले तदर्थ समितिको रुपमा चलेको छ । यतिवेला एशोसिएशनको नेतृत्व प्राडा सुरेश उप्रेतीले गरेका छन् । आगामी ३ कात्तिकका दिन काठमाडौँमा विशेष भेला आयोजना गरि नयाँ कार्यसमिति गठन गर्ने एशोसिएशनको तयारी छ ।

अहिले एघार सदस्यीय रहेको एशोसिएशनको कार्य समितिमा उपाध्यक्ष डा. प्रदीप ज्ञवाली रहेका छन् । यस्तै सचिवमा डा. रञ्जन सापकोटा रहेका छन् । एशोसिएशनको सहसचिवमा डा. पुजा पौडेल र कोषाध्यक्षमा डा. अमित शर्मा भट्टराई रहेका छन् । सदस्यहरुमा प्राडा वाईपी सिंह, प्राडा महेशराज सिग्देल, डा. खेम कार्की, डा. सूर्य देवकोटा, डा. अच्युतराज कार्की र डा. असिम भट्टराई रहेका छन् । एशोसिएशनको संरक्षकमा क्याम्पस प्रमुख प्राडा अर्जुन लामिछाने रहेका छन् ।

‘चिकित्सक उत्पादन गर्ने नेपालकै पहिलो क्याम्पस । यहाँबाट अध्ययन पुरा गरेका चिकित्सकहरुले स्वदेश तथा विदेशका विभिन्न ठाउँमा विभिन्न पदमा रहेर काम गर्नु भएको छ । पुराना र नयाँ पुस्ताका ग्राजुएट्सबीच पुर्नमिलन होस, आफूले पढेको कलेजका लागि केही गर्न सकियोस्, समाज र देशका लागि पनि केही गर्न सकियोस भनेर संगठित भएका हौँ,’ अध्यक्ष प्राडा उप्रेतीले भने ।

समितिका उपाध्यक्ष रहेका डा. ज्ञवालीले महाराजगञ्ज मेडिकल क्याम्पसबाट अहिलेसम्म २ हजार बढीले एमबीबीएस उत्तीर्ण गरेको र यो संख्या बर्षेनी थपिदै जाने भन्दै स्वदेश तथा विदेशमा रहेका सबै पूर्व विद्यार्थी (चिकित्सक)हरुलाई यस अलुम्नाईमा आवद्ध गर्न खोजिएको बताए । ‘यसले हाम्रो क्याम्पसबाट मेडिकल डाक्टर बनेकाहरु कहाँ कुन ठाउँमा कसरी रहनु भएको छ भन्ने पनि थाहा हुन्छ । पहिले र अहिलेका पुस्ताबीच सम्वन्ध स्थापित हुनेछ,’ उनले भने ।

सचिव डा. सापकोटाले अलुम्नाईले एउटै संस्थाबाट पढेका चिकित्सकबीच भाइचारा, आपसि हित, आफूलाई डाक्टर बनाएको संस्थाप्रतिको दायित्व र समाज तथा देशका लागि सामुहिक बलबाट काम गर्ने उदेश्य रहेको बताए । उनले एशोसिएशनमा आजिवन सदस्य बन्ने क्रम बिस्तारै बढ्दै गएको जानकारी दिए । ‘केही महिना अघि दर्ता भयौँ । अहिलेसम्म तदर्थ समितिको रुपमा कमिटि सञ्चालन गरेका छौँ । अब ३ कात्तिकको भेलाले नयाँ कमिटि छनौट गर्दछ । त्यसपछि योजनाबद्ध तरिकाले अलुम्नाईले काम गर्छ,’ उनले भने ।

अलुम्नाई एशोसिएशनले महारागञ्ज मेडिकल क्याम्पसबाट एमबीबीएस पास गरेका सबैलाई आजिवन सदस्य बन्नका लागि आव्हान गरेको छ । उसले स्वदेशमा रहेकाहरुलाई ५ हजार रुपैयाँ र विदेशमा रहेकाहरुलाई २ सय डलर आजिवन सदस्यता शुल्क तोकेको छ ।

त्रिभुवन विश्व विद्यालयले सन् १९७२ मा स्थापना भएको महाराजगञ्ज मेडिकल क्याम्पसमा सन् १९७८ देखि एमबीबीएस पढाई सुरु भएको हो । एमबीबीएसको पहिलो ब्याचमा २२ जना विद्यार्थी भर्ना लिइएको थियो ।

त्यसबेला प्रमाणपत्र तह उत्तीर्ण भएका स्वास्थ्य सहायक, नर्स, फार्मासिस्ट, रेडियोग्राफर लगायतका स्वास्थ्यकर्मीहरुमध्येबाट २२ जनालाई छनौट गरी एमबीबीएसमा भर्ना गरिएको थियो ।

पछि विस्तारै विद्यार्थी संख्या बढाउन थालियो । सन् १९९३ मा भर्ना संख्यालाई प्रतिवर्ष ४० जना पुर्‍याइएको तर त्यसभन्दा अघि सन् १९८७ देखि एमबीबीएसमा भर्ना हुन विद्यार्थीमध्ये ५० प्रतिशत विज्ञान विषयमा प्रमाणपत्र तह उत्तीर्णहरुमध्ये लिने गरिएको थियो ।

सन् २००० देखि भने एमबीबीएस अध्ययन्का लागि पुरै विद्यार्थीहरु विज्ञान विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने र प्रतिस्पर्धा गराई योग्यता क्रमको आधारमा भर्ना लिने पद्धती लागू गरिएको थियो ।

अहिले सो क्याम्पसमा प्रति वर्ष १०० जनाका दरले एमबीबीएसमा विद्यार्थी भर्ना हुने गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *