सिन्धुपाल्चोकको हेलम्बुमा ‘फुडपोइजनिङ’ हुँदा एकै घरका आठ सहित १६ बिरामी, एक जनाको मृत्यु

काठमाडौँ, १९ असोज । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका -४ गैराबारीमा एकै परिवारका आठ सहित १६ जना गम्भीर बिरामी परेका छन् । ती मध्ये एक जनाको मृत्यु भएको छ ।

बिरामीहरुको अहिले काठमाडौँको चावहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा उपचार भइरहेको छ ।

हेलम्बु वडा नं – ४ का वडा अध्यक्ष बुद्धिमान तामाङका अनुसार गाउँमा आएको थोपासिचाई परियोजनाको जिम्मा लिएका सोमार तामाङको घरमा गत बुधबार बेलुका खाना खाएका परिवारका ८ जना सहित अरु ८ जना बिरामी परेका हुन् । उपचारकै क्रममा सोमार तामाङको ५ वर्षका छोराको बिहीबार मृत्यु भएको छ ।

‘गाउँमा १२० घरमा थोपासिचाई गर्ने परियोजना अघि बढेको छ । सोमार तामाङले पोखरी खन्ने जिम्मा लिनु भएको थियो । पोखरी खन्नका लागि उहाँकै घरमा केही कामदार पनि बस्नु भएको थियो । गत बुधबार बेलुका गाउँबाट राँगाको मासु सहित खाना खानु भएको रहेछ । राती ११ बजे तिरबाट सो घरमा खाना खाएका मध्ये अधिकांशलाई समस्या देखियो । बान्ता हुने, पखला लाग्ने र टाउको दुख्ने भयो । विहान मैले थाहा पाएपछि दुई लट गरेर उपचारका लागि काठमाडौँ ल्याएको हुँ,’ वडाध्यक्ष तामाङले भने ।

उनले संगै एउटै खाना खाएका परिवारका तीन जनालाई भने केही नभएको पनि बताए । बिरामीहरु एउटा घरमा खाना खाएपछि भएकोले फुड पोइजनिङ भएको हो कि भन्ने आफूहरुको अनुमान भएको वडाध्यक्ष तामाङले बताए ।

हेल्पिङ हेण्डका अस्पताल प्रशासक रविन पोखरेलले आफ्नो अस्पतालमा आएकामध्ये १३ जना मध्ये अहिले २ जनाको आइसीयूमा र ८ जनाको हाइकेयरमा उपचार भईरहेको बताए । उनले स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि ३ जनालाई भने डिस्चार्ज गरिदिएको बताए ।

नेपाल भारत अस्पतालमा उपचार गराईरहेको पाँच वर्षीय बालकको मृत्यु भएपछि अहिले पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

यसैबीच स्वास्थ्य मन्त्री मोहन बस्नेतले बिहीबार बेलुका हेल्पिङ हेण्ड अस्पताल पुगी बिरामीहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । उनले उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *