३१ अधिकृत सहित १४१ जनाको दरबन्दी स्वीकृत भएपछि धनगढीको गेटा अस्पताल सञ्चालनको तयारीमा
काठमाडौँ, १८ असोज । ३१ जना अधिकृतस्तर र ११० जना सहायकस्तरको कर्मचारी दरबन्दी पाएपछि धनगढीको गेटा अस्पतालले उपचार सेवा सुरु गर्ने तयारी थालेको छ । अस्पतालका निर्देशक डा. प्रमोद जोशीले बढीमा एक महिना भित्र अस्पतालले ओपिडी र इमरजेन्सी सेवा दिने बताए । उनले त्यसको केही समय पछि अप्रेसन सेवा प्रारम्भ गर्ने जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबारको मन्त्रिपरिषद बैठकले १७२ जना अधिकृत स्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको थियो । त्यसमा अधिकृतस्तरका ३१ दरबन्दी गेटा अस्पतालका लागि थियो । ११० जना सहायकस्तरका कर्मचारीको दरबन्दी भने मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयले उपलव्ध गराईसकेको छ ।
सो अस्पतालले १०० शैय्याको सञ्चालन स्विकृति पाएको छ ।
‘हामीकहाँ ३१ अधिकृतस्तर सहित कुल १४१ जना कर्मचारीको दरबन्दी आएको छ । यसमा विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, प्यारामेडिक्स, नर्स, ल्याव टेक्निसियन लगायतका स्वास्थ्यकर्मी तथा प्रशासन तर्फका कर्मचारी हुनु हुनेछ । अब जति सक्यो छिटो त्यो दरबन्दी भरेर काम सुरु गर्ने हो,’ डा जोशीले नेपाली हेल्थसंग भने ।
उनले अस्पतालको सेवा सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरु पाइसकेको समेत बताए । ‘अब सबैभन्दा पहिले दरबन्दी पूर्ति गर्ने कार्य गर्दछौँ । त्यसमा सकेसम्म बढी सरकारी कर्मचारीहरु नै लैजान्छौँ । बाँकी भएका ठाउँमा करारमा जनशक्ति लिन सक्छौँ,’ उनले भने ।
उनले गेटालाई शैक्षिक प्रतिष्ठानको रुपमा पनि विकास गर्न सक्ने गरी पूर्वाधार बनिरहेको भन्दै भवनहरु हस्तान्तरण हुँदै जाँदा सेवाहरु पनि थपिदै जाने बताए ।
‘जुन कुनै अस्पताल सानो आकारमा सुरु भएर बिस्तृत आकार लिने गरेको हामीले देखेकै छौँ, गेटा पनि त्यहि हो । अहिले १०० बेडबाट सुरु हुँदैछ । भविस्यमा यसले ठूलो आकार लिने छ । शैक्षिक प्रतिष्ठानकै रुपमा अघि बढने छ,’ उनले भने ।
सरकारले डा. जोशीलाई गत वर्ष गेटा अस्पतालको निर्देशकको रुपमा नियुक्त गरेको थियो । अहिले त्यहाँ काजमा करीव १२ जना कर्मचारी कार्यरत छन् ।
गेटा अस्पतालका लागि सरकारले चालु आर्थिक बर्षका लागि पूँजीगत तर्फ ८० करोड रुपैयाँ र चालु तर्फ साढे तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सम्पर्क इमेल : [email protected]