पाठेघरको मुखको क्यान्सर विरुद्धको निशुल्क खोप लगाउन काठमाडौँमै आएनन् किशोरीहरु

असोज १० गतेसम्म थपियो एचपीभी खोप लगाउने समय सिमा

काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा गत २७ भदौ देखि १४ वर्ष उमेरका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट जोगाउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप निशुल्क रुपमा दिन सुरु गरिएको थियो । तर, अभियान सुरु भएको १० पुग्दा खोप लगाउने किशोरीको हिस्सा ३० प्रतिशतको हाराहारीमा छ । अझै ७० प्रतिशत किशोरीहरुले एचपीभी खोप लगाएका छैनन् ।

यस्तै समस्या भेरी अस्पतालमा पनि देखिएको छ । त्यहाँ पनि अहिलेसम्म ३२ – ३३ प्रतिशतले मात्रै खोप लगाएका छन् ।

खोप लगाउनै नआएपछि स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले खोप लगाउने अवधी थप ५ दिन बढाएको छ । सो अनुसार अब खोप बाँकी रहेका अस्पतालहरुमा १० असोजसम्म किशोरीहरुलाई एचपीभी खोप दिईनेछ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. अभियान गौतमले तोकिएका कतिपय प्रदेशका खोप केन्द्रहरुमा अझै ठूलो परिमाणमा खोप लगाउन बाँकी हुँदा अवधी बढाएको बताए ।

‘कोशीमा लगभग सकिएको छ , बागमती र लुम्बिनीमा अझै धेरै खोप लगाउन बाँकी छ । गण्डकीमा एक दुई दिनमा सकिएला, मधेश, कर्णाली र सुदूरपश्चिममा पनि एक दुई दिनमा सकिन्छ होला । त्यसैले मोटामोटी अब १० दिनमा सबैले सक्ने भनेर अन्तिम डेडलाइन तोकेका छौँ । यो अवधी भित्र तोकिएका उमेर समूहका किशोरीहरुले तोकिएका अस्पतालमा गएर निशुल्क खोप लिन सक्नेछन्,’ उनले भने ।

त्यसो त महाशाखाले यसअघि पनि खोप लगाउने अवधी थपेको थियो । ‘एक दुई दिनमै सकिएला भनेका थियौँ तर बीचमा अरु थुप्रै कारणले खोपमा उल्लेख्य उपस्थिति देखिएन त्यसैले ५ असोज सम्म तोकेका थियौँ । तर यो अवधी पनि पूर्ण नहुँदा अबधी बढाइएको हो,’ उनले भने ।

देशभर १४ वर्ष नाघेका १५ वर्ष नपुगेका किशोरीहरुको संख्या साढे तीन लाख रहेको छ । ती मध्ये अहिले डेमोष्ट्रेसन (नमूना) को रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ हजार ९ सय ९९ किशोरीलाई खोप लगाउने लक्ष्य लिएको थियो । खोप वि।सं २०६५ भदौ ३० देखि २०६६ भदौ ३० सम्म जन्मेका किशोरीलाई दिइएको छ ।

महाशाखामा आएको बिहीबारसम्मको तथ्यांक अनुसार लक्षित किशोरीमध्ये कोशी प्रदेशमा ८४ प्रतिशत, मधेसमा ५६ प्रतिशत, वागमतीमा २६ प्रतिशत, गण्डकीमा ५३ प्रतिशत, लुम्बीनीमा २८ प्रतिशत, कर्णालीमा ७३ प्रतिशत र सुदूरपश्चिममा ५० प्रतिशतले एचपीभि खोप लगाएका छन् ।

सरकारले गत भदौ २७ गतेबाट थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालवाट एचपिभी खोप अभियानको डेमोष्ट्रेसन गरेको थियो ।

यस्तै  कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको वीरगञ्जस्थित नारायणी अस्पताल, वागमती प्रदेशको परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान , लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालबाट समेत यो खोप सञ्चालन गरिएको थियो ।

खोप पहिलो मात्रा दिएको ६ महिनापछि दोस्रो मात्रा दिइनेछ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *