आफ्ना सबै कर्मचारी र तिनका परिवारको समेत स्वास्थ्य बीमा गरिदिने वीर अस्पतालको निर्णय
काठमाडौँ, ४ असोज । वीर अस्पतालले आफूकहाँ कार्यरत सबै कर्मचारीहरु र उनीहरुका परिवारका अरु चार जना सदस्य समेतको नि:शुल्क स्वास्थ्य वीमा गरिदिने निर्णय गरेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको गत १९ भदौमा बसेको कार्यकारी परिषद्को बैठकको निर्णय अनुसार अस्पतालले सबै कर्मचारी र तिनका परिवारका सदस्य (कुल ५ जना ) को स्वास्थ्य बीमा गरिदिने भएको हो ।
अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले वीरमा कार्यरत प्राविधिक तथा अप्राविधिक लगायतका सम्पूर्ण कर्मचारीहरु, जसमा स्थायी, अस्थायी, करार, मासिक तथा दैनिक ज्यालादारीको रुपमा खटिएका छन्, उनीहरु सबैको स्वास्थ्य बीमा गरिदिन निर्णय भएको बताए ।
उनले सबै खाले कर्मचारी गरी अस्पतालमा कुल १ हजार ८६६ जना रहेको भन्दै यी सबै कर्मचारीहरुको स्वास्थ्य बीमा हुने बताए ।
यो बीमा कार्यक्रम १ साउन २०८० देखि नै लागू हुने गरी निर्णय भएको छ । अब कर्मचारीहरुले अनिवार्य रुपमा स्वास्थ्य बीमामा आवद्ध हुने छन् र त्यसमा आवद्ध भए वापत बार्षिक रुपमा तिर्नु पर्ने ३ हजार ५०० रुपैयाँ प्रिमियम वीर अस्पताले सोध भर्ना गरिदिने छ ।
यसअघि वीर अस्पतालले बार्षिक रुपमा अधिकृतस्तरलाई १ महिना वराबर र सहायकस्तरलाई ढेड महिना बराबरको औषधि उपचार खर्च दिने गर्दथ्यो । तर, महालेखा परीक्षकको कार्यालयले सो खर्चलाई बेरुजु निकालेपछि अस्पतालले बार्षिक रुपमा स्वास्थ्य बीमा गर्ने नीति लिएको हो ।
‘कर्मचारीहरुलाई औषधि उपचार खर्च भनेर राज्यले जम्मा गरिदिई नै रहेको हुन्छ । हामीले बार्षिक रुपमा त्यहि शीर्षकमा दिन नमिल्दो रहेछ । पहिले यसरी दिदा महालेखाले बेरुजु निकाल्यो । त्यसैले अब सबै कर्मचारीहरुलाई १ लाख रुपैयाँको उपचार सुविधा दिने गरी बार्षिक ३ हजार ५०० रुपैयाँको प्रिमियम तिरिदिने निर्णय भएको छ,’ डा पौडेलले थप स्पष्ट पारे ।
सबै भन्दा पुरानो र ठूलो सरकारी अस्पताल बीरमा कर्मचारी र तिनका परिवारको उपचारमा छुट दिनु पर्ने बाध्यता जस्तै हुन्छ । तर अब वीमामा आवद्ध भएपछि कर्मचारी र उनीहरुका परिवारको उपचारका लागि छुट माग्न पनि परेन । उपचार सबै बीमाबाट सोधभर्ना हुने भएपछि अस्पतालको आम्दानी समेत बढी हुने डा. पौडेलले बताए ।
गत १ साउन यता वीमामा आवद्ध भएका कर्मचारीहरुले अस्पतालसंग प्रिमियमवापतको बार्षिक ३ हजार ५०० रुपैयाँ सोधभर्ना लिन सक्नेछन् ।
वीमामा आवद्ध नभएकाहरुले सोमबार र बुधबार सामाजिक ईकाईमा गएर आवद्धता गराउन सक्ने अस्पतालले जनाएको छ ।
‘हामीले हरेक सोमबार र बुधबार सामाजिक सेवा ईकाईमा स्वास्थ्य बीमा दर्ता सहयोगीलाई बोलाएर कर्मचारीहरुको फोटो खिचाउने तथा दर्ता गराउने काम गर्दैछौँ । यसले पनि बीमामा आवद्ध हुन कता जाने भन्ने झन्झटबाट कर्मचारीहरुलाई सुविधा हुनेछ,’ डा. पौडेलले भने ।
‘यसो त स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लामा लागू भए पनि केही पालिकाहरुमा लागू भईसकेको छैन । त्यो मध्येको एक काठमाडौँ महानगरपालिका हो । वीरमा काम गर्नेहरु काठमाडौँ महानगरका पनि त हुन सक्छन्, उनीहरुले यो सुविधा लिन पाउँछन् त ?,’ नेपाली हेल्थको प्रश्नमा डा पौडेलले भने, ‘हामी सेवा प्रदायक संस्था हौँ, हामीले यहि समस्याको समाधान गर्न यसअघि नै बीमा बोर्डसंग सम्झौँता गरिसकेका छौँ । हामी वीर अस्पताल अर्थात ठूलो स्वास्थ्य सेवा प्रदायक संस्थाका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई बीमा बोर्डले त्यो सहुलियत दिएको छ । अझ हामी स्वास्थ्यकर्मी तथा कर्मचारीको लागि प्रथम विन्दु नै वीर अस्पताल हो । अन्यत्र जानु पनि पर्दैन,’ उनले थप स्पष्ट पार्दै भने, ‘जहाँका भए पनि वीर अस्पतालमा कार्यरत सबै खाले कर्मचारी र तिनका अरु ४ जना सम्मका सदस्यले स्वास्थ्य वीमा सुविधा उपभोग गर्न पाउनुहुन्छ ।’
त्यसो त डा. पौडेल यसअघि राष्ट्रिय ट्रमा सेन्टरमा निर्देशक हुँदा पनि त्यहाँका सबै कर्मचारीहरुको स्वास्थ्य बीमा गरिदिने निर्णय गरेका थिए ।
सम्पर्क इमेल : [email protected]
यो हो नि त कार्यछ्यमता 👍️👍️एक पछी अर्को योजना त्यो पनि कर्मचारी को हितमा जस्ले गर्दा कर्मचारी ले सुबिधा अनि सहज तरिका ले उपचार गर्न गराउन सजिलो हुनेछ । साथै परिवार ले पनि सुबिधा पाउनेछन । यस्ता ब्यक्ति धेरै चाहिदैन परिवर्तन ल्याउन खोज्नु @ र सहजीकरण गराउन सक्नु नै सफलता को अनुभुती हुनेछ । बिडम्बना म त्यो ब्यवस्थापन को हिस्सा बाट बन्चित हुन पुगे तर पनि डाक्टर सन्तोष को ब्याबहार मेरो लागि अति नै विशेष अनि मन मस्तिष्क मा रहने छ ।यस्तै यस्तै काम गर्दै जानुस तर कसैको दबाब अनि आसेपासे को भड्किलो सुझाव लाई आफुले नियाल्ने गर्नुहोस । शुभकामना 🙏🙏🙏💐💐
धेरै राम्रो सोच भएको निर्देशक डा. हजुलाई सलाम छ यस्तो सोच सवै अस्पताल का मेडिकल सुपरिडेन्टमा जायोस हजुरको काम धेरैनै प्रशनसा योग्य छ