कञ्चनपुरमा घाइतेको उपचारमा खटिएका स्वास्थ्यकर्मी माथि मध्यरातमा आक्रमण (भिडियो सहित)
कञ्चनपुर ३ असोज । हेटौँडा घटना सेलाउन नपाउँदै सुदूरपश्चिमको कञ्चनपुरमा एक स्वास्थ्यकर्मीमाथि बिरामीको आफन्त भनिने समूहले आक्रमण गरेको छ । जिल्लाको बेलौरी नगरपालिकामा रहेकोश्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा घाइतेको उपचारमा खटिएका एक जना स्वास्थ्यकर्मी माथि हातपात भएको छ ।
गए राति सवा ११ बजेको समयमा टाउको र आँखामा चोट लागेर घाइते भएका बेलौरी ५ मैनाहाका बाबुराम चौधरीको उपचारमा खटिएका श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अहेब नरेन्द्र प्रसाद गैरेमाथि हातपात भएको हो ।
बेलौरीकै गोकुलपुर बजार बस्ने रामु भनिने राम बहादुर खड्काले ड्युटीमा रहेका अहेव गैरेमाथि हातपात गरेका हुन् । घाइतेको घाउ सफाइ गरिरहेको समयमा आएका खड्काले आफूमाथि गालीगलौज गरी घाँटी च्यापेको र आफूले सबै कुरा सिसिटिभी क्यामेरामा कैद भइरहेको भनेपछि थप दुर्घटना हुनबाट जोगिएको अहेब गैरेको भनाइ छ । उनले यसअघि पनि थुप्रैपटक यस्तो दुस्प्रयास भएकोले यो घटना सुनियोजित भएको बताएका छन् ।
श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रले उपलब्ध गराएको सिसिटिभी फुटेजमा देखिए अनुसार सुरक्षाकर्मीकै अगाडि मध्यरातमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि गरिएको दुर्व्यवहारलाई भने खड्काले सामान्य विवाद भएको प्रतिक्रिया दिएका छन् ।
आफ्नो घर नजिक घाइते अवस्थामा भेटिएका चौधरीलाई स्वास्थ्य केन्द्रमा पुर्याएको लामो समयसम्म पनि चेकजाँचमा ढिलाइ गरेको र टाँका लगाउन आवश्यक धागो समेत उपलब्ध नभएको भन्दै बाहिरबाट मगाउँदा विवाद भएको र आफूले धक्का मात्रै दिएको उनको भनाइ छ ।
यस विषयमा इलाका प्रहरी कार्यालय बेलौरीमा जानकारी गराइसकेको भए पनि अहिलेसम्म कुनै पहल नभएको अहेब गैरेले बताएका छन् ।
घाइतेको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि गुण्डागिरी शैलीमा आएर अनायासै हातपात र गालीगलौज गर्ने व्यक्तिहरूलाई कानुनी कारबाहीको माग गर्दै श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द बहादुर बिष्टले अन्यथा स्वास्थ्यकर्मीहरूले अन्य विकल्प अपनाउने चेतावनी दिएका छन् ।
इलाका प्रहरी कार्यालय बेलौरीले भने दुवै पक्षलाई छलफलका लागि बोलाएको जनाएको छ ।
सम्पर्क इमेल : [email protected]