स्वास्थ्य मन्त्री बस्नेतले दिएको आत्महत्या सम्वन्धी अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगको आपत्ति

काठमाडौँ, २९ भदौ । त्यसो त स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले आफ्ना एक कर्मचारीलाई लक्षित गर्दै आत्महत्या सम्वन्धी आपत्तिजनक अभिव्यक्ति दिएको दुई महिना भन्दा बढी भईसक्यो । तर, राष्ट्रिय मानव अधिकार आयोगले आज विज्ञप्त जारी गर्दै मन्त्री बस्नेतको सो अभिव्यक्तिलाई असहिष्णु र घृणित भनेको छ ।

आयोगले मन्त्री बस्नेतले आफ्ना कर्मचारीलाई आत्महत्या गर्ने भए डोरी किनिदिन्छु भनेको उल्लेख गरेको छ ।

मन्त्री बस्नेतले गत २५ असारमा आफ्नो दुई महिने उपलव्धी सुनाउन आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त अभिव्यक्ति दिएका थिए । त्यसबेला उनले ‘एक जना चिकित्सकले ट्रमा सेन्टरमा काम गर्न पाइन भने आत्महत्या गर्छु भनेर सचिवहरुलाई तर्साएको र मैले सचिवहरुलाई फेरी पनि त्यसो भन्न आयो भने डोरी किनेर पठाइदिनु भन्दिएको छु,’ भनेका थिए । जिम्मेवार मन्त्रीबाट आएको सो अभिव्यक्तिको त्यसबेला चर्को आलोचना भएको थियो ।

आयोगले आज सार्वजनिक गरेको विज्ञप्तीमा चिकित्सक माथि कुटपिट भएको भन्दै हेटौडा अस्पतालका ७८ जना चिकित्सकले राजिनामा दिएको समेत जानकारीमा आएको उल्लेख गरेको छ ।

यस्तै उसले काठमाडौँका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाईदिन्छु भन्ने अभिव्यक्ति, ताप्लेजुङमा कोशी प्रदेशका सदस्य खगेनसिं हाङगामले सुरक्षा निकायका प्रमुखलाई सार्वजनिक स्थलबाटै धम्की दिएको विषय समेत असहिष्णु र घृणित भनेको छ ।

उसले यस्ता गतिविधिले अराजकतालाई प्रसय दिने र शान्ति सुरक्षामा समेत आँच पुग्ने उल्लेख गरेको छ ।

आयोगले जिम्मेवार अधिकारीहरुले मर्यादित र शिष्ट भाषाको प्रयोग गर्न तथा अराजक गतिविधिहरुमा लाग्नेलाई कानून अनुसार कार्वाहीको दायरामा ल्याउन समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *