डिउटीमा रहेका दुई जना डाक्टरमाथि कुटपिट
कुटपिटमा सम्लग्नमाथी कारवाही गर्न चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम
काठमाडौँ, २७ भदौ । हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट भएको छ । अस्पतालका चिकित्सक डा. प्रशान्त बिडारी र डा. विकास थापामाथि आज कुटपिट भएको हो ।
अस्पताल स्रोतका अनुसार अनुसार एक महिनाअगाडि अस्पतालमा भर्ना भएका बिरामीको विषयलाई लिएर अहिले लफडा भएको हो । गत २२ साउनमा मकवानपुर सिक्रेनीका राजेश प्रधान उपचारका लागि सो अस्पतालमा भर्ना भएका थिए । ४१ वर्षीय प्रधानलाई डेंगी लगायतका समस्या भएको परिवारको आशंका थियो । तर अस्पतालमा जाँच गर्दा डेंगी नेगेटिभ देखिएको थियो ।
तर बिरामी पक्षलाई नेगेटिभ रिपोर्ट माथि शंका लाग्यो र उनीहरुले अन्यत्र लैजाने भने । अस्पताले पनि २३ साउन अर्थात भोलिपल्ट डिस्चार्ज दियो । बिरामीपक्षले त्यहाँबाट भरतपुरस्थित चितवन मेडिकल कलेजमा लगेर उपचार गराए । तर २५ भदौमा प्रधानको मृत्यु भयो ।
सन्चो अस्पतालमा राम्रोसँग उपचार नगरेकै कारण बिरामी मृत्यु हुने अवस्थामा पुगेको भन्दै आफन्तहरु आज आएर लफडा गरेको अस्पतालका कर्मचारीको भनाइ छ । अस्पताल स्रोतका अनुसार ती मृत्यु भएका व्यक्तिका आफन्तले ड्यूटीमा रहेका चिकित्सकमाथि आज अन्धाधुन्ध आक्रमण गरेको गरेका थिए।
कुटपिट भएपछि प्रहरी आइपुगेको थियो । बिरामीका आफन्त र कुटपिटमा पर्ने चिकित्सकबीच अहिले जिल्ला प्रहरी कार्यालयमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
यसैबीच नेपाल चिकित्सक संघले बिरामीको उपचारमा खटिएका चिकित्सक माथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएको भन्दै भत्र्सना गरेको छ । संघका महासचिव डा सञ्जीव तिवारीले विज्ञप्ती जारी गर्दै घटनामा सम्लग्न माथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी पहिलो संसोधन ऐन २०७९ बमोजिम कानूनी कारवाही गर्न सरकार समक्ष माग गरेका छन् ।
संघले दोषाीलाई ७२ घण्टा भित्र कानूनी कारवाही नगरे कडा अन्दोलन गर्ने समेत चेतावनी दिएको छ ।
सम्पर्क इमेल : [email protected]