पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप आजबाट सुरु गर्दै सरकार
काठमाडौँ, २७ भदौ । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आजबाट लगाउन सुरु गरिने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले आज थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोप अभियानको सुरुवात गर्ने छन् ।
मन्त्री बस्नेतले अभियान सुरु गरेलगत्तै अस्पतालको ओपिडी भवनको तेस्रो तलाबाट खोप लगाउन सुरु गरिने अस्पताल निर्देशक डा श्रीप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार खोप २०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीले मात्र खोप लगाउन पाउने छन्।
उनले खोप लगाउनका लागि उमेर खुल्ने प्रमाण लिएर आउनु पर्ने जानकारी दिए।
अहिले बालबालिकालाई दिइन लागिएको खोप चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको हो । सिकोलिन ब्राण्ड नेममा उत्पादित यो एचपीभी खोप विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मान्यता प्रदान गरेको खोप हो ।
सरकारले अघिल्लो आर्थिक वर्षको बजेटबाट २० हजार भाइल यो खोप खरीद गरेको थियो । खरीद गरेको खोप १९ असारमा आइपुगेको थियो । लगाउने कार्यको आरम्भ भने आजबाट हुँदैछ ।
कहाँ कहाँ लगाईदैछ खोप ?
एचपीभी खोप अभियान पहिलो चरणमा देशका विभिन्न सात अस्पतालबाट लगाउन पाइने परिवार कल्याण महाशाखाले जनाएको छ। महाशाखाले अहिले सुरु गरेको खोप कार्यक्रमलाई डेमोस्ट्रेसनको नाम दिएको छ ।
महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा अभियान गौतमले यसपटक थोरै खोप रहेको भन्दै यसलाई डेमोस्ट्रेसनको रुपमा प्रयोग गर्न लागिएको बताए । उनले आगामी वर्ष देखि खोप अभियानलाई देशव्यापी बनाउने जानकारी दिए ।
डा गौतमले डेमोस्ट्रेसन सातै प्रदेशका ठूला सरकारी अस्पतालबाट दिईने उल्लेख गरे । प्रसूति गृहसहित कोशी प्रदेशमा कोशी अस्पताल, मधेश प्रदेशमा नारायण अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा प्रदेश अस्पताल वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पतालमा एचपीभी खोप लगाउनका लागि तोकिएको बताए ।
एचपीभी भनेको के हो ?
एचपीभी भनेको एक प्रकारको विषाणु हो । संसारका विभिन्न देशहरुमा गरिएको अध्ययन् अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक ह्युमन प्यापिलोमा भाइरस हो ।
पाठेघरको मुखमा हुने क्यान्सर मध्ये ९५ प्रतिशत भन्दा बढी एचपीभीले गराउँछ । एचपीभीको २०० भन्दा बढी किसिमका प्रजाति हुन्छन र यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख मानिन्छ ।
नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ । यसले पाठेघरको मुखको क्यान्सरको साथै यौनांगमा आउने मुसा तथा यौनांगको क्यान्सर समेत गराउन सक्दछ ।
सम्पर्क इमेल : [email protected]