नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने, एक दिन देशभर शोक बिदा दिने सरकारको निर्णय
काठमाडौँ, २६ भदौ । संविधानसभा अध्यक्ष एवंम नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।
आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्दै सोही दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज बिहान अचेत अवस्थाका नेम्वाङलाई सोमबार राती १ः५० बजे त्रिवि शिक्षण अस्पताल पुर्याइएका नेम्वाङलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
बैठकले, नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेकी शर्माका अनुसार शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत सरकारले गरेको छ ।
नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ । उनको अन्त्येष्टि यही भदौ २८ गते गर्ने तयारी छ । अन्तिम श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थीव शरीर नेकपा एमालेको पार्टी मुख्यालय ललितपुरको च्यासलमा राखिएको छ।
नेम्वाङ इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए ।
सम्पर्क इमेल : [email protected]