नेपाल औषधि व्यवसायी संघको १४ औँ राष्ट्रिय अधिवेशन आज देखि सुरु
वीरगञ्ज २१ भदौ । नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) को १४ औँ राष्ट्रिय अधिवेशन आज देखि सुरु हुँदैछ । संघ स्थापनाको पचासौँ वर्षको अवसरमा स्वर्ण महोत्सव सहित हुने यसपटकको अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।
अधिवेशनस्थल टाउन प्लाजामा बनाइएको छ । अधिवेशनको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्नेछन् ।
एनसीडीएका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठका अनुसार झण्डै तीन घण्टामा उद्घाटन सत्र सकेपछि बन्द सत्र सुरु हुने छ । आज अपरान्ह पाँच बजेपछि नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने छ ।
अधिवेशनमा देशभरबाट छानिएर आएका २०५ जना प्रतिनिधिले तीन वर्षका लागि नयाँ नेतृत्व छान्ने छन् । ती प्रतिनिधिहरुमा सातै प्रदेशका अध्यक्ष सहितका सबै पदाधिकारी, जिल्ला अध्यक्षहरु, निवर्तमान अध्यक्षहरु रहनेछन् ।
२१ सदस्यीय केन्द्रीय समिति रहेको एनसीडीएमा अध्यक्ष, निवर्तमान अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, आयात तर्फको उपाध्यक्ष, थोक तर्फको उपाध्यक्ष र खुद्रा तर्फको उपाध्यक्ष गरी तीन जना उपाध्यष रहनेछन् । यस्तै महासचिव, सचिव, कोषाध्यक्ष, उपकोषाध्यक्ष एक एक जना पनि पदाधिकारीमा रहने व्यवस्था छ । सदस्यहरुमा खुद्रा, थोक र आयात सहित महिला गरी चार जना क्लस्टर सदस्य र बाँकी खुल्ला सदस्य रहनेछन् । अध्यक्ष श्रेष्ठले यसपटकको अधिवेशनमा विधान संसोधन प्रस्ताव पनि आउने बताए ।
आवास व्यवस्थापन तथा स्वागत सत्कार उपसमितिका संयोजक रहेका एनसीडीएका बरिष्ठ उपाध्यक्ष प्रकाशकुमार खण्डेलवालले अधिवेशनका लागि सम्पूर्ण तयारी पुरा भएको बताए । उनले भीभीआईपी आउने भएकोले सुरक्षा सतर्कता बढाइएको, सवै प्रतिनिधिहरुको लागि आवासको व्यवस्था मिलाइसकिएको बताए ।
खण्डेलवाल र श्रेष्ठ अध्यक्षको प्रतिस्पर्धामा
यसैबीच यसपटकको अधिवेशनबाट एनसीडीएको नेतृत्व सम्हाल्न हाल बरिष्ठ उपाध्यक्ष रहेका वीरगञ्जका व्यवसायी प्रकाशकुमार खण्डेलवाल र बुटवलका व्यवसायी लोकहरि श्रेष्ठ चुनावी मैदानमा ओर्लिएका छन् । दुबै जनाले एनसीडीएको अध्यक्ष आफू बनेमा संस्थागत विकास हुने दावी गरेका छन् ।
अध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गरेका खण्डेलवालले आफूसंग एनसीडीएको कार्यकारिणीको सदस्य, सह कोषाध्यक्ष, उपाध्यक्ष आयात र बरिष्ठ उपाध्यक्ष भएर काम गरेको अनुभव भएको बताउँछन् । औषधि क्षेत्रमा आफ्नो चार पुस्ताको आवद्धता रहेको र ६५ वर्ष देखि औषधि व्यवसायमा लागेकोले यस क्षेत्रलाई नजिकबाट बुझेको बताउँछन् ।
उता व्यवसायी श्रेष्ठ लुम्बिनीबाट सदस्य हुँदै तत्कालिन समयमा लुम्बिनी अञ्चलको सह कोषाध्यक्ष, कोषाध्यक्ष र उपाध्यक्ष भएका थिए । केन्द्रमा एक कार्यकाल थोक तर्फको उपाध्यक्ष भएका थिए । अघिल्लो अधिवेशनमा उनले अध्यक्ष पदमा उम्मेद्धारी दिए पनि पराजित भएका थिए ।
सम्पर्क इमेल : [email protected]