चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा अञ्जनीकुमार झा नियुक्त
काठमाडौँ, २१ भदौ । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा अञ्जनीकुमार झालाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्राडा झालाई कार्यकारी उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि उपाध्यक्षको नाम सिफारिस गर्न गठित समितिले प्राडा झा सहित तीन जनाको नाम सिफारिस गरेको थियो । त्यसमा पूर्व स्वास्थ्य सचिव प्राडा प्रवीण मिश्र र आयोगका वर्तमान उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीको नाम थियो ।
मन्त्रिपरिषद्ले पहिलो नम्बरमा सिफारिस भएर आएका प्राडा झालाई नियुक्त गरेको बुझिएको छ ।
क्यान्सर रोग विशेषज्ञ प्राडा झा यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यकारी अध्यक्ष, नेपाल चिकित्सक संघको अध्यक्ष भएका थिए ।
यसअघि आयोगको उपाध्यक्षका लागि समिति समक्ष ९ जनाको आवेदन परेको थियो। उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आवेदन दिएका ९ जनासँग भदौं १७ र १८ गते अन्तगर्वाता र प्रस्तुतिकरण हेरेको थियो।
आयोगको उपाध्यक्ष पदका लागि प्राडा संगिता सिंह भण्डारी, प्राडा सुमन कुमार श्रेष्ठ, डा प्रविण मिश्र, प्राडा पियुस दाहाल र प्राडा विधान निधि पौडेल बर्तमान उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी, डा प्रमोदकुमार यादव, डा अञ्जनीकुमार झा र प्राडा मनेनप्रसाद गोर्खालीले आवेदन दिएका थिए। यी मध्ये तीन जनाको नाम सिफारिस भएको थियो ।
कार्यकारी उपाध्यक्षको कार्यकाल चार वर्षको हुनेछ ।
सम्पर्क इमेल : [email protected]