आफूलाई निमित्त कार्यलय प्रमुख घोषणा गर्दै कार्यालय प्रमुखलाई नै निर्देशनात्मक पत्र पठाएपछि…
दाङ, १२ भदौ । आफूलाई निमित्त कार्यालय प्रमुख घोषणा गर्दै बाहालवाला कार्यालय प्रमुखलाई निर्देशनात्मक पत्र पठाएपछि बाँकेका परिवार नियोजन सुपरभाइजर अधिकृत नरेशबाबु श्रेष्ठ विभागीय कारवाहीमा परेका छन् ।
उनलाई लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय सोमबार सचिवस्तरीय निर्णय गर्दै तीन दिन भित्र यथार्थ विवरण सहितको स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ भने एक महिनाका लागि मन्त्रालय तानेको छ ।
सातौँ तहका श्रेष्ठले गत आइतबार स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल रहेकी बरिष्ठ जनस्वास्थ्य अधिकृत आठौँ तहको व्यक्तिगत इमेलमा ‘स्वास्थ्य मन्त्रालयको ३१ साउनको निर्णय र ४ भदौको पत्र अनुसार तपाईँको सरुवा स्वास्थ्य निर्देशनालय दाङ भएको हुँदा रमाना लिने प्रयोजनका लागि आफू जिम्माको जिन्सी तथा नगद यथाशीघ्र यस कार्यालयमा बुझाउनु हुन अनुरोध गरिन्छ,’ भन्दै पत्र पठाएका थिए । पत्रमा आफूलाई निमित्त कार्यालय प्रमुखको दर्जा दिएका थिए ।
आफू मातहतका कनिष्ठ कर्मचारीले आफूलाई निमित्त कार्यालय प्रमुखको दर्जा दिएर आफैमाथि पत्र काटेपछि छक्क परेकी पौडेलले स्वास्थ्य मन्त्रालय दाङ मा त्यसबारे जानकारी गराउँदै कार्वाही गरि पाउँ भन्दै निवेदन दर्ता गराएकी थिईन् ।
उनको निवेदनमा ‘मलाई स्वास्थ्य मन्त्रालयको मिति २०८०।०४।३१ को सचिवस्तरीय निर्णय अनुसार स्वास्थ्य कार्यालय बाँके बाट स्वास्थ्य निर्देशनालय भालुवाङमा सरुवा गरिएकोमा उक्त सरुवा सम्वन्धी पत्र २०८०।०५।०४ गते प्राप्त भएकोमा परिवार नियोजन सुपरभाइजर अधिकृत नरेशबाबु श्रेष्ठले म हाजिर भएकै मिति २०८०।०५।१० गते च नं २५ को पत्रबाट रमाना लिने प्रयोजनका लागि आफ्नो जिम्मा रहेको जिन्सी तथा नगद यथाशीघ्र कार्यालयमा बुझाउनु हुन भनी सोही दिन साँझ कार्यालयको मेल प्रयोग गरी निजले कार्यालय प्रमुख झै व्यक्तिगत इमलेमा चिठी पठाउने गैर जिम्मेवार काम गरेकोले कार्वाही गरी पाउँ,’ भन्ने उल्लेख छ ।
सोही निवेदनका आधारमा श्रेष्ठलाई मन्त्रालय तान्ने र स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो ।
‘पौडेल म्याडमको सरुवा भएको हो तर २१ दिनसम्म रमाना लिने म्याद थियो । उहाँ जानु नै हुन्थ्यो । तर हाजिर भएकै दिन अधिकार नै नभएको व्यक्तिले कार्यालयको ईमेल प्रयोग गर्दै पत्र काटेपछि प्रक्रिया बिग्रिएको हो,’ एक कर्मचारीले भने ।
सम्पर्क इमेल : [email protected]