स्वास्थ्यले अर्थसंग माग्यो सुर्तीबाट उठेको कर रकमको २५ प्रतिशत हिस्सा !

काठमाडौँ, ११ भदौ । कानून त अर्थ मन्त्रालयले सुर्तीजन्य पदार्थमा लागेको करबाट उठेको कुल रकमको २५ प्रतिशत हिस्सा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य कर कोषलाई उपलव्ध गराउनु पर्ने हो । तर, सुर्तीजन्य पदार्थबाट बार्षिक १६-१७ अर्व कर उठाउने अर्थले स्वास्थ्य कर कोष सचिवालयलाई बार्षिक ४० करोड रकम उपलव्ध गराई टार्ने गरेको छ ।

सचिवालयले पनि अर्थले दिएको रकममा सन्तुष्ठी भाव प्रकट गर्दै बस्ने गरेको छ ।

तर, यसपटक भने स्वास्थ्य कर कोष सचिवालय अलि टाठिएको छ । स्वास्थ्य कर कोष सचिवालयले यसपटक सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा २२, सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली २०६८ को दफा १८ बमोजिम सुर्तीजन्य पदार्थमा उठेको कुल कर रकमको २५ प्रतिशत उपलव्ध गराउनु भन्दै चिठी लेखेको छ ।

अर्थले स्वास्थ्यले भने झै ऐन नियमको पालना गर्दै २५ प्रतिशत रकम उपलव्ध गरायो भने कर कोषमा ४ देखि सवा ४ अर्व रकम उपलव्ध हुनेछ ।

स्वास्थ्य कर कोषका सदस्य सचिव समेत रहेका कानूनका उपसचिव श्याम श्रेष्ठले यसपटक अर्थलाई पुरा रकम उपलव्ध होस भनेर चिठी पठाएको बताए । ‘हामीले कति रकम भनेर मागेका छैनौँ । नियम अनुसार धूमपान तथा सुर्तीजन्य पदार्थबाट उठेको कुल रकमको २५ प्रतिशत हिस्सा कोषमा दाखिला गर्नुपर्छ । हामीले सोही व्यवस्था सम्झाउँदै रकम दाखिला गर्न भनेका छौँ,’ श्रेष्ठले भने ।

त्यसो त स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले पनि स्वास्थ्य कर कोषमा कोष अर्थले दाखिला गर्नुपर्ने पुरा रकम नआएको भन्दै यसलाई ल्याउन आफू क्रियाशिल रहेको बताउने गरेका छन् । उनले कर कोषमा आउने रकमबाट नि:शुल्क उपचार कार्यक्रमलाई अघि बढाउने भन्ने गरेका छन् । तर, अर्थले दिनु पर्ने नियम जस्तै आएको रकम खर्च गर्ने पनि छुट्टै नियम छ । मन्त्री बस्नेतले भने जस्तो अन्य बिरामीको उपचारमा यो खर्च गर्न मिल्देन ।

स्वास्थ्य कर कोषमा आउने रकमको खर्च कहाँ कसरी हुन्छ त ?
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा २२ मा भनिएको व्यवस्थालाई कार्यान्वयन गर्न सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली २०६८ को दफा १८ मा स्वास्थ्य कर कोषमा रकम जम्मा गरिने व्यवस्था उल्लेख छ । जसमा भनिएको छ, ‘नेपाल सरकारले आर्थिक ऐनद्धारा लगाएको धूमपान तथा सुर्तीजन्य पदार्थको अन्तशुल्क कर बाट उठेको कुल रकमको कम्तीमा २५ प्रतिशत रकम स्वास्थ्य कर कोषमा जम्मा गरिनेछ ।’

यस्तै नियमावलीको दफा १९ मा स्वास्थ्य कर कोषको रकम खर्चबारेमा पनि उल्लेख छ ।

त्यसमा भनिएको छ,’धूमपान तथा सुर्तीको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण, निदान, उपचार तथा अनुसन्धान गर्न, धूमपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रणको लागि स्वास्थ्य शिक्षा जनचेतनामुलक र सेवामुलक कार्यक्रम सञ्चालन गर्न र समितिको सञ्चालन खर्चमा प्रयोग हुनेछ ।’

यसमा अझ स्पष्ट पार्दै उप नियम १ मा भनिएको स्वास्थ्य करकोषको रकम देहाय बमोजिम बाँडफाँड गरिनेछ ।

  • धूमपान तथा सुर्तीजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको निदान, उपचार तथा अनुसन्धान गर्नको लागि सरकारी स्वामित्वका अस्पतालहरुलाई ७५ प्रतिशत,
  • धूमपान तथा सुर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य शिक्षा जनचेतनामुलक र सेवा मुलक कार्यक्रम सञ्चालन गर्न मन्त्रालयका अन्तगर्तका केन्द्र वा महाशाखाहरुलाई १५ प्रतिशत,
  • ध्रुमपान तथा सुर्तीजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण, निदान र उपचार सम्वन्धी कार्यक्रम सञ्चालन गर्नका लागि सामाजिक संस्था वा गैर सरकारी अस्पताललाई १० प्रतिशत रकम उपलव्ध गराईनेछ ।

अहिले सम्म सचिवालयले ठूलो हिस्सा रकम क्यान्सर तथा मुटु अस्पतालहरुका लागि, केही अनुसन्धानका लागि र केही गैर सरकारी संस्थाहरुका लागि वितरण गर्ने गरेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *