संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति भानुभक्त जोशी हुने निश्चित
काठमाडौँ, १० भदौ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा सांसद भानुभक्त जोशी हुने निश्चित भएको छ । सोमबार (भोली) अपरान्ह ३ बजे हुने समितिको सभापति चयन गर्ने निर्वाचनका आज आव्हान गरिएको उम्मेद्धारी दर्ता कार्यक्रममा जोशीको मात्रै उम्मेद्धारी परेपछि उनले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको नेतृत्व लिने निश्चित भएको हो ।
नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका सांसद जोशी गत मंसिरमा सम्पन्न संघीय संसदको निर्वाचनमा बझाङ क्षेत्र नं १ बाट बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्धार बनि विजयी भएका थिए ।
त्यसो त भोली हुने विभिन्न १० समितिको सभापतिहरुको निर्वाचनमा ९ वटा समितिमा एकल उम्मेद्धारी परेको छ । एउटा समितिमा भने दुई जनाको उम्मेद्धारी परेको छ ।
अन्तिम समयमा दलहरूबीच भएको सहमतिअनुसार कांग्रेसले तीन, एमालेले दुई, माओवादी, राप्रपा, नेकपा एस, जसपा, जनमतले उम्मेदवारी दर्ता गराएका छन् । तर संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी भने एक्लिएको छ ।
कसको कुन समितिमा उम्मेद्धारी ?
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको तर्फबाट राज्य व्यवस्थामा रामहरि खतिवडा, कृषि सहकारी तथा वातावरणमा डा। आरजु राणा देउवा र अर्थ समितिमा सन्तोष चालिसेको एकल उम्मेद्धारी परेको छ ।
एमालेबाट महिला समिति किरण साह र लेखा समितिमा ऋषिकेश पोखरेल, माओवादीबाट कानून न्याय तथा मानव अधिकार समितिको सभापतिमा विमला सुवेदी, राप्रपाका दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवारी दिएका छन् ।
जसपाका राजकिशोर यादवलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापति बन्न एकल उम्मेद्धारी परेको छ । यता जनमतका अब्दुल खानले उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दिएका छन् । सोही समितिको सभापतिको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको पनि उम्मेदवारी परेको छ ।
सम्पर्क इमेल : [email protected]