शहीद धर्भभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्यो तीन दिनमा दुई जनाको कलेजो प्रत्यारोपण
केन्द्रमा कलेजो प्रत्यारोपण गराउनेको कुल संख्या १३ पुग्यो
भक्तपुर, ४ भदौ । पछिल्लो तीन दिनको अवधीमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दमा दुई जनामा कलेजोको सफल प्रत्यारोपण भएको छ ।
गत बिहीबार ५२ वर्षीय कृष्ण बहादुर केसी र शनिबार ५७ वर्षीया कमार राईको कलेजो प्रत्यारोपण भएको हो । केसीलाई उनका २३ वर्षीय छोरा किरण र राईलाई उनकी २१ वर्षीया छोरी प्रतिक्षाले कलेजो दान गरेकी हुन् ।
अहिले प्रत्यारोपण गरिएका दुबै जना र प्रत्यारोपणका लागि अंगदान दिनै दुबै जनाको स्वास्थ्य अवस्था सामान्य तथा सुधारोन्मुख भएको अस्पतालका निर्देशक एवं प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठले बताए ।
त्यसो त प्रत्यारोपण केन्द्रले नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने संस्थाको रुपमा आफूलाई अग्रस्थानमा उभ्याएको छ ।
यस संस्थाले त्यसबेला अर्थात २२ मंसिर २०७२ मा नेपालमै पहिलो पटक कलेजोको सफलता पूर्वक प्रत्यारोपण गरेको थियो । तर, त्यस यताका झण्डै सात वर्षमा केन्द्रले अपेक्षित प्रत्यारोपण गर्न सकेको थिएन् ।
२०७२ साल देखि २०७९ सालसम्म आइपुग्दा केन्द्रमा जम्मा १० जनाको कलेजो प्रत्यारोपण गरेको थियो । तर २०८० साल लागिसकेपछि भने अहिलेसम्म ३ जनाको सफलतापूर्वक प्रत्यारोपण गरेको उसले जनाएको छ ।
संसारमै सबैभन्दा जटिल शल्यक्रिया मानिन्छ कलेजो प्रत्यारोपणलाई
कलेजो प्रत्यारोपण गर्नुलाई नेपालमा मात्रै होईन संसारमै सबै भन्दा जटिल शल्यक्रिया मानिन्छ । यो शल्यक्रिया महंगो पनि छ । तर, नेपालमा भने अरु देशको तुलनामा प्रत्यारोपण सस्तो भएको बताइने गरेको छ । प्रत्यारोपण केन्द्रका निर्देशक डा श्रेष्ठ भन्छन्, ‘नेपालमा १५ लाख रुपैयाँमा नै कलेजो प्रत्यारोपण हुने गरेको छ ।’
उनले स्वदेशी चिकित्सको दक्षता बृद्धी गरी नेपालमानै उपलब्ध जनशक्तिबाट प्रत्यारोपण सेवा सुरु हुन लागेपछि यसले गति लिने संकेत देखाएको दावी गरे ।
यसअघि नेपालमा कलेजो प्रत्यारोपणका लागि भारत, कोरिया लगायतका देशबाट विज्ञ सम्मिलित टिम आएर प्रत्यारोपणमा अगुवाई लिने गरेको थियो । यस पटक भने एक जना मात्र विशेषज्ञ चिकित्सकको सहयोगमा केन्द्रको आफ्नै जनशक्तिबाट तीन दिन भित्र दुई जनाको प्रत्यारोपण भएको हो । डा. श्रेष्ठले प्रत्यारोपणका लागि बाहिरबाट आउने विज्ञ टोलीको संख्या विस्तारै घटाईदै गएको भन्दै अब कलेजो प्रत्यारोपण पूर्ण रुपमा नेपाली टोलिले गर्न सक्ने बताए ।
कलेजो प्रत्यारोपण टोलीमा यसपटक को को थिए ?
केन्द्रमा गत विहीबार र शनिबार भएको दुई जनाको कलेजो प्रत्यारोपण शल्यक्रियाको नेतृत्व कलेजो तथा मृर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा. पुकारचन्द्र श्रेष्ठले गरेका थिए । सो प्रत्यारोपणमा सहयोग गर्न भारत बाट कलेजो प्रत्यारोपण शल्य चिकित्साक डा शिल्भा कुमार नागानाथन आएका थिए ।
यस्तै प्रत्यारोपणमा सर्जन डा. रोशन घिमिरे, डा.सपना बर्मा, डा राम बाबु साह, डा. ललित कुमार दास, कलेजो फिजिसियन डा. कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठ, डा. रश्मित श्रेष्ठ, डा. शिवसुन्दर जचल संलग्न थिए ।
त्यस्तै, रेडियोलोजी विभागको नेतृत्व डा. कृष्ण बुढाथोकी, डा. समिर दवाडी, डा विवेक नेपाल, डा जस्मिन जोशीले गरेका थिए ।
नर्सिङ्ग तर्फ पूजा कोइराला नेतृत्वमा बबिता लवजु, अनिता कार्की लगायतको नर्सिङ टोलीले प्रत्यारोपणमा सघाएका थिए ।
त्यसैगरी प्रत्यारोपण गर्ने विरामीको चेक जाँच तथा तयारी कार्य केन्द्रका प्रत्यारोपण कोर्डिनेरहरु, तारा साँध, शनिषा कार्की, सरु कोजुले गरेका थिए ।
केन्द्र मिर्गौला प्रत्यारोपणमा पनि अग्रस्थानमा
कलेजोमा मात्रै होईन यो केन्द्र मिर्गौला प्रत्यारोपणमा पनि अग्रस्थानमा छ । स्थापनाको ११ वर्ष अवधिमा ११०० जनाको सफल मृर्गौला प्रत्यारोपण गरेको केन्द्रले २०७४ बैशाख २८ गतेबाट पहिलो पटक मस्तिष्क मृत व्यक्तिको अङ्गबाट प्रत्यारोपण सुरु गरेको थियो ।
त्यस यता पाँच जना व्यक्तिबाट मस्तिष्क मृत्यू भएको अङ्ग झिकेर १० जना मिर्गौला र ३ जना कलेजो गरी कुल १३ जनामा प्रत्यारोपण भएको छ ।
डा श्रेष्ठ भन्छन्, ‘अंग प्रत्यारोपणको लागि अंग दान गर्न आवश्यक छ । उपयुुक्त कानून बने पनि कार्यान्वयन पक्ष हामीले सोचे जस्तो सफल हुनसकेको छै्नं । यसको मूख्य कारण जनचेतनाको कमी नै हो ।’
उनका अनुसार गाडेर खेर जाने वा जलेर खरानी हुने हाम्रो अंगहरु दान दिन सके एक जना मस्तिष्क मृत्यू भएको व्यक्तिबाट ८ वटा अंगहरु २ वटा मृगौला, २ वटा फोक्सो, १ वटा कलेजो, १ मुुटु, १ प्याङ्क्रियाज, १ सानो आन्द्रा , लगायतका अंगहरु दान गरी ८ जनाको ज्यान बचाउन सकिन्छ । यसरी अङ्गदान भए नेपाल प्रत्यारोपणमा आत्म निर्भर हुनसक्ने छ ।
त्यसो त केन्द्रले मिर्गौला प्रत्यारोपण र डायलासिसलाई देशव्यापी बनाउँदै छ । उसले अहिलेसम्म गण्डकी प्रदेश पोखरा र कर्णाली प्रदेशको सुर्खेतमा प्रत्यारोपणको थालनी गरिसकेको छ ।
अब क्रमश सेती प्रादेशिक अस्पताल, धनगढी, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौडा अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगर हुँदै देशको सातै प्रदेशमा प्रत्यारोपण कार्यको तयारी भै रहेको छ ।
सम्पर्क इमेल : [email protected]