कीर्ते प्रमाणपत्रमा अध्ययन् गरेको आरोपमा छ जना एमबीबीएस डाक्टर र एक जना एमबीबीएस विद्यार्थी सीआईबीको अनुसन्धानमा
काठमाडौँ, २ भदौ । एमबीबीएस अध्ययनका लागि प्लस टू को प्रमाणपत्रमा अंक सच्याएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले सात जनालाई नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको छ ।
सीआईबीले नियन्त्रणमा लिई अनुसन्धान गरेकामध्ये ६ जनाले नेपाल मेडिकल काउन्सिलले लिएको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा उत्तीर्ण गरी डाक्टर बनिसकेका व्यक्ति हुन् । एक जना भने चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत हुन् ।
को को छन् सीआईबीको हिरासतमा ?
सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार छ जना चिकित्सक र एक जना एमबीबीएसका विद्यार्थीलाई हिरासतमा लिएर अनुसन्धान जारी राखिएको छ । लिखत सम्वन्धी कसुर मुद्धामा अनुसन्धान भइरहेको छ ।
हिरासतमा राखी अनुसन्धान गरिएकामध्ये एक जना डा. मनित चौधरी हुन् । विराटनगर नगरपालिका ६ का बासिन्दा ३४ वर्षीय चौधरी बिराटनगरस्थित अनु फार्मेसीमा काम गर्दथे । उनी बिराटनगरबाटै पक्राउ परेका हुन् ।
यस्तै अर्का व्यक्ति हुन डा. अमित चौधरी । कलैया ४ बाराका ३४ वर्षीय चौधरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत थिए । उनी शिक्षण अस्पतालबाटै पक्राउ परेका हुन् ।
यस्तै प्लस टूमा नक्कली प्रमाणपत्र बनाएको आरोप लागेकी अर्की डाक्टर हुन एरिना शाह, काठमाडौँ कुलेश्वर निवासी २९ वर्षीया शाह अहिले एमडी अध्ययनको तयारीमा थिईन् ।
सीआईबीले अर्की डाक्टर श्रद्धा शिल्पकारलाई पनि प्लस टूमा नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा पक्राउ गरेको छ । ललितपुर हात्तीवनकी ३३ वर्षीया शिल्पकार काठमाडौँको धापासीस्थित ईशान बाल तथा महिला अस्पतालमा काम गर्द थिईन् । उनलाई प्रहरीले धापासीबाटै पक्राउ गरेको हो ।
यसैगरी काठमाडौँ कागेश्वरी मनोहराकी २८ वर्षीया डाक्टर पुनम थापा पनि पक्राउ परेकी छन् । उनलाई गोठाटार काँडाघारीबाट पक्राउ गरिएको हो ।
यस्तै सिराहा नन्कर्कट्टीका ३२ वर्षीय डाक्टर रामबाबु यादव पनि पक्राउ परेका छन् । बागमती सेन्ट्रल अस्पताल दुर्गाभगवती गाउँपालिका रौतहटमा कार्यरत उनी त्यहिबाट पक्राउ परेका हुन् ।
यता चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययन्रत नसिम अख्तर गत बिहीबार भरतपुरबाट नै पक्राउ परेका छन् । २८ वर्षका उनी राजबिराज नगरपालिका सप्तरीका स्थायी बासिन्दा हुन् ।
प्रहरीले यसअघि सांसद एवं मेडिकल व्यवसायी सुनील शर्मालाई पनि पक्राउ गरेको थियो । तर अदालतले उनीमाथि हिरासत बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएपछि हिरासत मुक्त भएका छन् । अर्का एक जना डाक्टर भने नक्कली नभएको प्रमाणित भएपछि हिरासत मुक्त गरिसकेको छ ।
सीआईबीले उनीहरुमाथि प्लस टूको प्रमाणपत्रमा विभिन्न विषयमा प्राप्त गरेको अंकलाई बास्तविक भन्दा थपघट गर्ने र नक्कली कीर्ते बनाएको आरोप लगाएको छ । उसले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीबाट एकीन गर्दा नक्कली भनी खुल्न आएपछि पक्राउ गरिएको बताएको छ ।
सम्पर्क इमेल : [email protected]