प्रश्नपत्र आउट भएर रोकिएको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गर्ने योजनामा परिषद्
काठमाडौँ, १८ साउन । प्रश्नपत्र आउट भई परीक्षाफल नै रोकिएपछि गत २३ असारमा भएको नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागी धेरै नर्सहरुमा पुन: परीक्षा दिनु पर्ने हो कि भन्ने चिन्ताले सताएको थियो । तर, अब चिन्ता लिनु नपर्ने भएको छ । नेपाल नर्सिंङ परिषद्ले प्रश्नपत्र आउट भएर स्थगित गरेको ३३ औँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा आइतबार सम्म प्रकाशित गर्ने तयारी गरेको छ ।
परिषद् स्रोतका अनुसार प्रश्न पत्र आउट प्रक्ररणको अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले २५ दिन लगाएर गरेको छानवीनमा अमर्यादित कार्यमा १२ जना सम्लग्न रहेको निस्कर्ष निकालेपछि उनीहरुको नतिजा रोकेर बाँकी परीक्षार्थीहरुको नतिजा सार्वजनिक गर्ने तयारी भएको हो ।
परिषद्ले यस विषयमा निर्णय लिन शुक्रबार बोर्ड बैठक बोलाएको छ ।
‘प्रहरीले मुद्धा चलाउने परीक्षार्थी बाहेक अन्यको नतिजा सम्भवत आइतबार प्रकाशित हुन्छ,’ स्रोतले भन्यो ।
यता काउन्सिलका रजिष्ट्रार शुक्ला खनालले शुक्रबार बोर्ड बैठक राखेको पुष्टि गरिन् । उनले प्रहरीको रिपोर्ट र रोकिएको नतिजाबारेमा शुक्रबारको बैठकले आवश्यक निर्णय लिने बताईन् ।
गत २३ असारमा भएको ३३ औँ नाम दर्ता परीक्षामा सिद्धार्थ बनस्थली परीक्षा केन्द्रका तीन जना विद्यार्थीले प्रश्न पत्र फोटो खिचि भाइवर ग्रुपमा राख्ने र बाहिरबाट उत्तर पठाई लेख्ने कार्य भएको थाहा भएको थियो । त्यस दिन प्रश्नपत्र बाहिर पठाउने कार्यमा सम्लग्न ३ जनालाई पक्राउ गरी अनुसन्धानमा राखिएको थियो ।
त्यस दिन पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएकी २३ वर्षीया सविना आले मगर, कास्कीको पोखरा महानरपालिका–२५ घर भएकी २० वर्षीया समीक्षा थापा, पोखरा–१६ कै २० वर्षीया भावना गुरुङ थिए ।
तर परिसरले २५ दिनसम्म गरेको अनुसन्धानको क्रममा थप ९ जनाको संलग्नता देखिएको छ । प्रहरीले उनीहरुलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको बताएको छ । तर ९ जना भने अहिले फरार छन् । प्रहरीले उनीहरुलाई फरार प्रतिवादी बनाइएको छ।
फरार प्रतिवादी हुनेहरुमा गोरखाको शहीद लखन गाउँपालिका–६ घर भएकी ३५ वर्षीया सनसरी श्रेष्ठ, पोखरा–१४ कि २३ वर्षीया सुस्मिता रानाभाट, बाग्लुङको गलकोट नगरपालिका–१ घर भएकी २२ वर्षीया धनुष विश्वकर्मा, बागलुङ नगरपालिका–१४ घर भएकी २३ वर्षीया सुष्मा पौडेल रहेकी छन् ।
यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका–६ घर भएकी १९ वर्षीया रोजिना काउछा मगर, कास्कीको माछापुच्छे गाउँपालिका–७ घर भएकी १८ वर्षीया अस्मिता विश्वकर्मा, कास्कीको अन्नपूर्ण गाउँपालिका–९ घर भएकी २० वर्षीया निशा पुन, पोखराकी २४ वर्षीया श्रेया पहारी र तनहुँको शुक्लागण्डकी नगरपालिका–१ की २३ वर्षीया सृष्टि तिमिल्सिना पनि फरार प्रतिवादीको सूचीमा परेकी छन् ।
सम्पर्क इमेल : [email protected]