चिकित्सकले गर्ने प्रेस्क्रिप्सनको अडिट गर्ने योजनामा स्वास्थ्य मन्त्रालय
काठमाडौँ, १६ साउन । चिकित्सकले बिरामीलाई लेख्ने औषधि तथा गराउने परीक्षण परीक्षण समुचित हो कि होईन भनेर प्रेस्क्रिप्सन अडिट हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले चिकित्सकले अनावश्यक रुपमा औषधि तथा प्रयोगशाला परीक्षणका लागि प्रेस्क्रिप्सन गरिदिने गरेको गुनासा बढेको भन्दै यसको अडिट गर्न लागेको बताए ।
यसका लागि स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय टिम गठन गर्ने तयारीमा जुटेको छ ।
जिल्लामा भद्रगोल बन्दै गएको स्वास्थ्य बीमाका सन्दर्भमा ध्यानाकर्षण गराउन पुगेको पाल्पाली सांसद सहितको प्रतिनिधि मण्डल समक्ष मन्त्री बस्नेतले कतिपय अस्पतालसंगै चिकित्सक समेत स्वास्थ्य सेवा भन्दा व्यापारिक स्वास्थ्यमा बढी उद्धत रहेको बताए ।
‘म संगै थुप्रै गुनासो आएको छ, अस्पतालहरुको मात्रै होइन चिकित्सकले समेत इथिक्स विपरित काम गरे भन्ने । त्यसका लागि उनीहरुले लेख्ने प्रेस्क्रिप्सन अडिट गराउने तयारीमा छु,’ उनले भने ।
‘चिकित्सकले सामान्य टाउको दुखेको व्यक्ति, जसलाई सिटमोल खाए पुग्छ, त्यस्ता बिरामीलाई एमआरआई या सिटिस्क्यान गर्न लगाउने गरेको पनि पाइएको छ । यस्ता गुनासा धेरै आएका छन् । त्यसो हुँदा त गरिबले उपचार गर्न सक्ने अवस्था नै रहँदैन । कि त घरबार नै बेचेर सक्नुपर्ने अवस्था छ । यो गम्भीर समस्या हो । जुन औषधि आवश्यक छैन, त्यस्ता औषधि पनि दिइरहेको भन्ने गुनासो छ । अब डाक्टरको प्रेस्क्रिप्सनको पनि अडिट हुनुपर्छ । म मेडिकल टिमलाई राखेर यसको कार्यविधि अगाडि बढाउने सोचमा छु,’ उनले भने ।
स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएका अस्पतालहरुमा पनि यस्ता कार्य बढी भएको उनको भनाई थियो ।
‘बीमामा आवद्ध भएका जनताले पनि पैसा सक्न परयो भन्दै अनावश्यक परीक्षण गराउन चाहने र बिल बढाउन अस्पताल र डाक्टरहरुले अनावश्यक प्रेस्क्रिप्सन गर्ने चलन रहेछ । यसले पनि वीमा कार्यक्रमलाई अफ्टेरो पारेको छ । यसलाई सुधारका लागि पनि अडिट आवश्यक छ भन्ने लाग्छ । मैले यसको लागि योजना अघि सारेको हुँ,’ मन्त्री बस्नेतले भने ।
सम्पर्क इमेल : [email protected]