नेपालले ‘महामारी कोष’मा हालेको प्रस्तावना छनौट
काठमाडौँ, ४ साउन । नेपालले महामारी कोष (द पाण्डामिक फण्ड) का लागि हालेको प्रस्तावमा छनौट भएको छ ।
सन् २०२२ को सेम्टेम्बर महिनामा इन्डोनेसियाको बालीमा भएको जी २० राष्ट्रका अर्थ मन्त्रीहरुको बैठकले स्थापना गरेको महामारी कोष (पान्डामिक फण्ड)मा नेपालले पेश गरेको प्रस्तावना छनौट भएको हो ।
यो बैठकले त्यसबेला न्युन तथा मध्यम आय भएका देशहरुलाई लक्षित गरी महामारी कोष स्थापना गरेको हो ।
स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलका अनुसार नेपालले महामारी सम्वन्धी पूर्व तयारीलाई बलियो बनाउने सम्वन्धी प्रस्ताव (स्ट्रेन्थेनिङ पाण्डमिक प्रिपेडनेश फर अर्लि डिटेक्सन इन नेपाल एसपीइइडी) राखेको थियो । ‘त्यसमा नेपाल छनौट भई काम गर्न पाउने पक्का भएको छ,’ डा पौडेलले भने ।
उनका अनुसार जी २० राष्ट्रहरुले स्थापना गरेको भएपनि यसको सञ्चालन विश्व बैंक, विश्व स्वास्थ्य संगठनका दाताहरु र विभिन्न गैर सरकारी संस्थाहरु मार्फत सञ्चालन हुनेछ ।
‘यो फण्ड कुल ३३८ मिलियन डलरको थियो । यसका लागि १८० वटा प्रस्तावा गएको थियो । जसमा कुल रकम २.५ विलियन डलर पुगेको थियो । तर नेपालको प्रस्तावना यसमा छनौट हुन सफल भएको छ,’ डा पौडेलले भने ।
उनले नेपाल छनौटमा परे पनि कति रकम पाउने भन्ने निश्चित भइनसकेको बताए । उनले भने, हामी नेपालले प्राप्त गर्ने राशी सहितको थप इमेलको प्रतिक्षामा छौँ ।
सम्पर्क इमेल : [email protected]