स्वास्थ्यकर्मी समायोजनको ‘लफडा’ पुन: ब्युतिदै, महासंघले भन्यो -‘यसरी हुन सक्छ समाधान’
काठमाडौँ, २९ असार । स्वास्थ्यकर्मी समायोजनको विषयले पुन: चर्चा पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ साउन देखि दरबन्दी भन्दा बढी भएका ठाँउमा गएका स्वास्थ्यकर्मीलाई तलव खुवाउन नसकिने भन्दै पत्र पठाएपछि स्थानीय तहले समायोजन भएरै गएका स्वास्थ्यकर्मीहरुलाई पनि फिर्ता गर्न थालेका छन् ।
स्वास्थ्यका कर्मचारी संगठन तथा टे«ड युनियनहरुले भने मन्त्रालयको पत्र पछि समायोजनमा पुन लफडा देखिएको आरोप लगाएका छन् ।
स्वास्थ्यले दरबन्दी नभएका ठाउँमा काजमा काम काज गर्दै लामो समय देखि बसेकाहरुलाई तलव खुवाउन नसकिने भने पनि स्थानीय तहले दरबन्दीमै रहेकाहरुलाई धमाधम फिर्ता पठाउन थालेको उनीहरुले बताएका छन् ।
यसैबीच राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले विहीबार विज्ञप्ती जारी गर्दै मन्त्रालय, स्थानीय तह र स्वास्थ्यकर्मीलाई समायोजनको विषयमा देखा परेको समस्या समाधान गर्न केही दायित्व देखिएको भन्दै सम्झाएको छ ।
उसले स्वास्थ्य मन्त्रालयलाई २५ असारको पत्र फिर्ता लिनुपर्ने र स्थानीय तहलाई स्वास्थ्यकर्मीलाई कार्यरत संस्थाहरुबाट जवरजस्ती फिर्ता नगर्न भनेको छ । यस्तै उसले समस्या समाधानको स्पष्ट नीति सार्वजनिक गर्नु समेत मन्त्रालय र स्थानीय तहलाई भनेको छ ।
उसले स्वास्थ्यकर्मीहरुलाई कार्यक्षेत्रबाट फिर्ता गरिएको भनिएता पनि रमाना नबुझी आ आफ्नो कार्यक्षेत्रमा रही स्वास्थ्य प्रदान गर्न अनुरोध गरेको छ ।
महासंघका अध्यक्ष डा झलक गौतमले जारी गरेको विज्ञप्तीमा २५ असारको पत्र पछि केही स्थानीय तहहरुले पूर्वाग्रहपूर्ण तरिकाले स्वास्थ्यकर्मीहरुलाई फिर्ता गरिएको पत्रहरु थमाउँदै हाजिरीकापीमा रातो लगाइदिने जस्ता अपमानजनक कार्य गरेको सूचना प्राप्त गरेको भन्दै भत्सर्ना समेत गरिएको छ ।
विज्ञप्तीमा समस्या समाधानको लागि स्वास्थ्य सेवा भित्र कार्यरत ट्रेड युनियनका प्रतिनिधिहरुले अनौपचारिक रुपमा दिएका सुझावहरुलाई पनि वेवास्ता गर्दै मन्त्रालय एक पक्षीय रुपमा अघि बढेको र तार्किक समाधान भन्दा पनि बलपूर्वक समाधान खोदिएको आरोप लगाएको छ ।
महासंघले समस्या पहिचानका लागि समिति बनाउने, समाधानका मार्गचित्र तयार गर्ने, प्राथमिकता तोकि पारदर्शी किसिमले मन्त्रालय विभाग देखि स्थानीय तहसम्म त्रुटि सच्याउँदै निर्णयहरु लागू गर्दै जाने आफ्नो सुझावलाई वेवास्ता गरिएको बताएको छ ।
पछिल्लो गतिविधिले विगतमा भएको समायोजन अवैज्ञानिक, हचुवा र अपूर्ण थियो भन्ने कुरा प्रमाणित भएको समेत महासंघले दावि गरेको छ ।
सम्पर्क इमेल : [email protected]