नर्सिङ लाइसेन्स परीक्षाको प्रश्नपत्र आउट प्रकरण:

सीआईबीको प्रतिवेदन पछि मात्रै बोर्डले निर्णय गर्छ : काउन्सिल रजिष्ट्रार खनाल

काठमाडौँ, २५ असार । नेपाल नर्सिङ काउन्सिलले प्रहरी अनुसन्धानको प्रतिवेदन प्राप्त भएपछि मात्रै परीक्षा लाइसेन्स परीक्षाको विषयमा निर्णय लिने भएको छ । गत शनिबार परीक्षा चलिरहेको बेला प्रश्नपत्र बाहिरिएपछि काउन्सिलले आफ्नो ३३ औँ लाइसेन्स परीक्षाको नतिजा स्थगित गरेको छ ।

काउन्सिलका रजिष्ट्रार शुक्ला खनालले प्रश्न पत्र आउटको विषयलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईवीले अनुसन्धान गरिरहेको भन्दै उसले प्रतिवेदन नबुझाउँदासम्म कुनै निर्णय नहुने बताईन् ।

‘प्रश्नपत्र बाहिरिएको हामीले जव थाहा पायौँ, शनिबार नै हुनुपर्ने परीक्षाफल प्रकाशनलाई स्थगित गरेका छौँ । त्यसबाहेक अरु केही निर्णय भएको छैन् । पहिले प्रहरीले आफ्नो अनुसन्धान सकोस र हामीलाई प्रतिवेदन देओस त्यसपछि मात्रै बोर्ड बैठक बसेर निर्णय हुन्छ,’ उनले भनिन् ।

रजिष्ट्रार खनालले प्रश्नपत्र बाहिरिएको विषयलाई अहिले केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी)ले अनुसन्धान गरिरहेको बताईन् । उनले त्यहाँका अधिकारीहरुले यो अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन कम्तिमा २५-२६ दिन सक्ने आफूलाई सुनाएको समेत बताईन् । ‘सीआईवीले २५ – २६ दिन त कम्तीमा लाग्छ भनेको छ । यदि त्यस समयमा निष्कर्ष पायौँ भने हामीले पुन: परीक्षा लिने कि नलिने भन्ने विषयमा पनि निर्णय लिन सक्छौँ,’ उनले भनिन् ।

शनिबार विहान भएको परीक्षामा सिद्धार्थ बनस्थली मावि परीक्षाकेन्द्रबाट प्रश्नपत्र आउट भएको थियो ।

प्रश्नपत्र आउट गरेको आरोपमा कास्की लेखनाथकी २० वर्षीया समीक्षा थापा, धादिङ त्रिपुरासुन्दरीकी २३ वर्षीया सविना आले र कास्की लेखनाथकै २० वर्षीया भावना गुरुङलाई पक्राउ गरेको छ ।

उनीहरुले प्रश्न पत्र भेटाउने वित्तिकै फेसबुक म्यासेन्जर ग्रुपमा हालेका थिए । सो प्रश्नपत्र ४०० बढी जनाले म्याजेन्सर ग्रुपमा सिन भएको देखिएको काउन्सिल अध्यक्ष प्राध्यापक सरला केसीले बताएकी थिईन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *