बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको बोर्ड सदस्यमा ६ जना नियुक्त
काठमाडौँ, २१ असार । सरकारले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनको रिक्त बोर्ड सदस्य पदमा ६ जनालाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त रहेको ६ वटा पदमा ६ जनालाई नियुक्त गरेको हो।
सदस्यमा नियुक्त हुनेहरुमा डा दिनेश बिक, डा रश्मी पुन, डा रिता महासेठ, डा अनिलविक्रम कार्की, दिलिप पौडेल र शीलादेवी अधिकारी रहेका छन् ।
अस्पतालको १४ सदस्यीय रहने सञ्चालक समितिमा ६ जना सदस्य स्वास्थ्यमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्ने व्यवस्था छ। सोही अनुसार स्वास्थ्य मन्त्री बस्नेतले आज लगेको ६ जनाको नामलाई मन्त्रिपरिषले सदर गरेको हो।
अस्पताल सञ्चालक समितिमा भरतपुर महानगरपालिकाको प्रमुख, स्वास्थ्य मन्त्रालयको सचिव वा सचिवले तोकेको व्यक्ति, अर्थ सचिव वा अर्थसचिवले तोकेको व्यक्ति, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को प्रतिनिधि पदेन सदस्य रहने व्यवस्था छ। यसैगरी, समितिले दुई जना नियुक्त गर्ने व्यवस्था रहेको छ।
सञ्चालक समितिले कार्यकारी निर्देशक नियुक्तिका लागि सिफारिस उपसमिति गठन गर्ने व्यवस्था छ। उक्त उपसमितिले सिफारिस गरेका व्यक्तिमध्येबाट सञ्चालक समितिले कार्यकारी निर्देशक नियुक्त गर्ने छ। समितिमा सदस्य नियुक्त भएसँगै कार्यकारी निर्देशक नियुक्तिको बाटो समेत खुलेको छ।
यसअघि बोर्डले पूर्णता नपाउँदा अस्पतालको कामकाज सहित कर्मचारीहरुको तलव समेत रोकिएको थियो । तलब रोकिएपछि कर्मचारी तथा स्वास्थयकर्मीहरुले आन्दोलन सुरु गरेका थिए ।
सम्पर्क इमेल : [email protected]