कोभिडबिरुद्धको प्रयोग हुने एक लाख डोज फाइजर खोप आइपुग्यो, थप एक लाख आउँदै
काठमाडौँ र ललितपुर महानगरसंग मिलेर मोवाइल खोप अभियान सञ्चालन गर्दै स्वास्थ्य सेवा विभाग
काठमाडौँ, २१ असार । कोभिडविरुद्धको अभियानलाई निरन्तरता दिएको सरकारले थप एक लाख डोज खोप फाइजर खोप ल्याएको छ ।
कोभ्याक्स सुविधा अन्तरगर्त सो परिमाणको खोप गत सोमबार काठमाडौँ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्तको आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले बताए । उनले केही दिनमा थप एक लाख डोज कोभिडविरुद्धको फाइजर खोप आइपुग्ने समेत जानकारी दिए ।
विभागले अहिले आएका खोपहरु बुस्टर डोजको रुपमा प्रयोग गर्ने, यसअघि नलगाएका वा पूर्ण डोज नपाएकाहरुले लगाउनका लागि ल्याइएको बताएको छ ।
विभागका खोप शाखा प्रमुख डा अभियान गौतमले अहिले आएको खोप बुस्टर डोजका लागि प्रयोग गर्ने बताए । उनले नयाँ तथा पूर्ण खोपका लागि छुटेकाहरुले पनि यसलाई प्रयोग गर्न मिल्ने जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनले कोभिडलाई खतराको सूचीबाट हटाएपछि खोप लगाउनेको संख्या पनि घट्दै गएको छ । तर रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, दीर्घ रोगीहरुलाई यसको जोखिम रहने भएकोले सतर्कता भने कायम राख्नुपर्ने चिकित्सकहरु बताउँछन् ।
डा गौतमले महामारीले तिब्रता लिएका बेला दिनमा ५ लाख बढीलाई खोप दिएको भन्दै अहिले खोप लगाउनेको दिनमा कहिले हजार र कहिले सय अंकमा सिमित रहेको बताए ।
काठमाडौँ उपत्यकाका महानगरमा मोवाइल खोप टोली खटाउने तयारी
यसैबीच परिवार कल्याण महाशाखाले काठमाडौँ तथा ललितपुर महानगरसंग मिलेर बृद्धबृद्धा, अशक्त, अपांगको लागि घर घर मै पुगेर कोभिडविरुद्धको बुस्टर डोज दिने योजना अघि सारेको छ ।
‘यो कार्यक्रम छिटै सार्वजनिक हुनेछ । महानगरहरु संगको सहकार्यमा मोवाइल टोलीले स्थानीय टोल टोल र चोक चोकमा पुगेर निश्चित दिनमा खोप अभियान सञ्चालन गर्ने छ । धेरै टाढा जान अफ्टेरो भएकाहरुले यसबाट लाभ लिन सक्नुहुनेछ,’ डा गौतमले भने ।
सम्पर्क इमेल : [email protected]