थपिएका २४६ जना स्टाफ नर्सलाई वीरले कहाँ कसरी व्यवस्थापन गर्दैछ ?
काठमाडौँ, १९ असार । स्वास्थ्य मन्त्रालयले लोक सेवा आयोगको परीक्षा पास गरी स्थायी नियुक्तिका लागि सिफारिस भएर आएका २९५ जना स्टाफ नर्समध्ये २४६ जनालाई वीर अस्पतालमा पदस्थापन गरेको छ । सोमबार मन्त्रालयले सबै नर्सहरुलाई पदस्थापन सहितको नियुक्ती पत्र दिदा २४६ जनालाई वीरमा र बाँकी ४९ जनालाई अन्य संघीय अस्पतालमा खटाएको छ ।
एकै पटक ठूलो संख्यामा स्थायी नर्स पाउने भएपछि वीर अस्पतालले सेवा सुधारका लागि ठूलो राहत पुग्ने बताएको छ । अस्पतालका निर्देशक डा सन्तोष पौडेलले स्टाफ नर्सहरु थपिएपछि अहिले चलेका र चलाइने योजनामा रहेका केही महत्वपूर्ण सेवाहरुले तिब्रता पाउने बताए ।
‘४६० शैय्यामा रहेको वीरमा सर्जिकल भवनबाट सेवा थपिदा एकैपटक झण्डै ५०० शैय्या थपिएर ९६० को आसपासमा पुगेको थियो । तर जनशक्ति सो अनुसार थिएन । त्यसैले हामीलाई सबै सेवाहरुलाई पूर्ण रुपमा दिन समस्या भइरहेको थियो । अब आजबाट आउने नर्सिङ जनशक्तिले ती सेवाहरुलाई योजना अनुसार सञ्चालन गर्न सकिनेछ,’ उनले भने ।
थपिएका नयाँ नर्सहरुलाई वीरले कुन कुन विभागमा खटाउँदै छ ?
निर्देशक डा. पौडेलले थपिएका नर्सहरुबाट अब आइसीयू तथा एचडीयू सञ्चालन गरिनेछ । अहिले वीर अस्पतालमा करीव ५५ वटा आईसीयू सञ्चालनमा रहे पनि अब केही दिनमा २२ वटा एचडीयू समेत थप गरेर १०० वटा सञ्चालन गर्ने योजना रहेको उनले बताए ।
यस्तै अप्रेसन थिएटरलाई सत प्रतिशत चलाउने अबको योजना रहेको बताए । ‘नर्सिङ जनशक्तिको अभावमा हामीले अप्रेसन थिएटर भएपनि पूर्ण रुपमा चलाउन सकेका थिएनौँ । अब भएका ओटी हप्ताको छ दिन नै चल्ने छन् । युरोलोजीमा ३ महिना ६ महिनापछि पालो आउने भनेको ओटी हरेक दिन नभएर हो, अब पूर्ण रुपमा सञ्चालन भएपछि यो समस्या रहँदैन्,’ उनले भने ।
यस्तै वीर अस्पतालमा अर्को समस्या भएको क्षेत्र आकस्मिक कक्ष हो । डा पौडेलले आकस्मिक कक्षमा पनि नर्सहरु थपिने बताए । ‘अहिले इमरजेन्सीमा १२ शैय्या थप हुँदैछ,’ यसमा पनि नर्सिङ जनशक्ति परिचालन हुने उनले जानकारी दिए ।
डा. पौडेलले साउनबाट सञ्चालनमा ल्याउन लागिएको बर्न वार्ड (जलन कक्ष) का लागि पनि नर्सिङ जनशक्ति परिचालन गरिने बताए । ‘भूकम्प पछि यो सेवा लगभग रोकिएको अवस्था थियो । अब पुन व्यवस्थित ढंगले वर्न वार्ड सञ्चालनमा ल्याउँदै छौँ । त्यसका लागि पनि नयाँ जनशक्ति प्रयोग हुनेछन्,’ उनले भने ।
उनले बर्न वार्ड १० शैय्याबाट सुरु गरेर २५ शैय्यापुग्ने योजना रहेको बताए । त्यसपछि बाँकी रहेमा नयाँ नर्सिङ स्टाफहरुलाई जनरल बेड तर्फ परिचालन गर्न सकिने डा. पौडेलले बताए ।
सम्पर्क इमेल : [email protected]