यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार डा. मिङमार ग्ल्याल्जेन शेर्पालाई
काठमाडौँ, १३ असार । यसवर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार डा. मिङमार ग्ल्याल्जेन शेर्पालाई प्रदान गरिने भएको छ ।
मदन भण्डारी फाउन्डेशनले मंगलबार विज्ञप्ती जारी गर्दै सो जानकारी दिएको हो ।
यो पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ ।
विगत ४५ वर्ष देखि स्वास्थ्य सेवाको क्षेत्रमा सम्लग्न रही देशका दुर्गम स्थानका गरीव, असहाय तथा सेवाको पहुँचबाट बन्चित रहेको समुदायलाई आफ्नो सेवाको अधिकांश समय व्यथित गरेको भन्दै शेर्पालाई यो पुरस्कार दिने निर्णय गरेको फाउन्डेशनले जनाएको छ ।
यस्तै डा शेर्पाले विशेषत मातृमृत्युदर घटाउन, आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच उपलव्ध गराउन, ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम, दुर्गम जिल्लाहरुमा टेलिमेडिसिन सेवा, असहायहरुका लागि हाडजोर्नी र अपाङ्गता सम्वन्धी उपचारका योगदान गरेको उल्लेख गरेको छ ।
त्यसैगरी स्वास्थ्य संस्थामा गुणस्तरीय औषधि तथा सामग्रीहरु नियमित आपूर्ति गर्न बहुवर्पीय खरीद प्रणालीको सुरुवात गरेको लगायत स्वास्थ्य सेवाको निरन्तरता र दिगोपनाका लागि स्वास्थ्य सेवा प्रणालीको संस्थागत विकास तथा विस्तारमा विशेष भूमिका खेलेको समेत उल्लेख गरेको छ ।
सोलु दुधकुण्ड नगरपालिका ४ फाप्लु सोलुखुम्बु निवासी डा शेर्पा स्वास्थ्य सेवा सेवाका पूर्व कर्मचारी हुन् । उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक समेत भएका थिए ।
यस्तै फाउन्डेशनले यस वर्षको मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार निरुकुमारी मगरलाई प्रदान गर्ने निर्णय गरेको बताएको छ । हेटौडा उपमहानगरपालिका ४ प्रतिभानगर, मकवानपुर निवासी मगर विगत ३१ वर्ष देखि खेलकुद विकासका विविध विधा र क्षेत्रमा सम्लग्न रही राष्ट्रिय अन्तराष्ट्रिय स्तरका खेलाडीहरुको नयाँ पुस्ता तयार गर्ने कार्यमा योगदान गरेको उल्लेख गरेको छ । यो पुरस्कारको राशी पनि एक लाख रुपैयाँको रहेको छ ।
जननेता मदन भण्डारीको ७२ औँ जन्मजयन्तीको अवसरमा बिहीबार (भोली) हुने विशेष समारोहमा यो पुरस्कार प्रदान गरिने फाउण्डेशनले जनाएको छ ।
फाउण्डेशनले देशका लागि उत्कृष्ठ कार्य गर्दै आएका व्यक्तित्वहरुलाई हौसला प्रदान गर्न २०६८ साल देखि मदन भण्डारी राष्ट्रिय पुरस्कार र गत वर्ष देखि मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ ।
सम्पर्क इमेल : [email protected]