यी हुन् काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रममा समेटिएका स्वास्थ्य सम्बन्धी सात कार्यनीति

काठमाडौँ, ७ असार । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुधबार मेयर बालेन्द्र शाहले महानगरपालिकाको १३ औँ नगर सभा अधिवेशनमा आगामी आर्थिक वर्ष २०८० /०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा स्वास्थ्य सम्वन्धी सात बुँदे कार्यनीति प्रस्तुत गरिएको छ । जसमा सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा, सुलभ फार्मेसी स्वर्णीम योजना लगायतका कार्यक्रम अघि सारिएको छ ।

नीति तथा कार्यक्रममा आएको स्वास्थ्यका सात बुँदामा के के छन् ?

स्वास्थ्य सम्बन्धी कार्यनीति :
१०. सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा गौरवको योजना अन्तर्गत महानगरवासीहरुमा सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन सबै सहरी स्वास्थ्य क्लिनिकहरूको स्तरोन्नति गरी सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा रूपान्तरण गरिने छ । महानगरका लक्षित वर्गका लागि स्वास्थ्य बिमा सम्बन्धी कार्यविधी तयार गरी कार्यक्रम सञ्चालन गरिनेछ ।

१२. महानगरपालिका क्षेत्रभित्र एक निर्दिष्ट नगर अस्पताल स्थापना गरी सञ्चालनमा ल्याइनेछ । निजी तथा सामुदायिक अस्पतालसँगको  सहकार्यमा सुलभ फार्मेसी स्वर्णीम योजना सञ्चालनमा ल्याई महानगरवासीलाई औषधि खरिदमा सहुलियत दिइने छ ।

१३. प्रचलित कानुन तथा मापदण्ड बमोजिम विपन्न र असहाय विरामीले पाउने निशुल्क तथा विशिष्ट सहुलियत सहितको स्वास्थ्य सेवा तथा अन्य स्वास्थ्य सेवाको लागि महानगरपालिका क्षेत्रभित्रका अस्पतालहरुसँग समन्वय र सहकार्य गरिनेछ ।

१४. आरोग्य जीवनका लागि फिजिकल हेल्थ, मेन्टल हेल्थ, ध्यान, योग चिकित्साजस्ता वैकल्पिक उपचार पद्दतिका कार्यक्रमहरू अन्य सम्वद्ध पक्षसँगको सहकार्यमा सञ्चालनमा ल्याइनेछ । पूर्वीय दर्शन शिक्षा, परम्परागत आयुर्वेदिक उपचार पद्दति प्रवर्धन तथा हेल्थ टुरिजम जस्ता कार्यहरूलाई प्रोत्साहित गरिनेछ । नेपालमा उत्पादित जडिबुटीहरूको प्रशोधन केन्द्र सञ्चालनमा सहयोग गरी सिंहदरवार बैद्यखाना र नरदेवी आयुर्वेदिक अस्पतालसँग सहकार्य गरिनेछ ।

१५. काठमाडौं महानगरपालिकाबाट आर्थिक, प्राविधिक तथा अस्पतालजन्य उपकरण वा सहायता उपलब्ध गराइएका अस्पतालहरुसँग समन्वय गरी स्थानीय विपन्न र सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने महानगरवासीका लागि निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने प्रबन्ध गरिनेछ । सामुदायिक अस्पतालको स्तरन्नोतिको लागि सहयोग गरिनेछ ।

१६. क्यालोरीमा आधारित उपभोग प्रणाली लागु गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।

१७. काठमाडौँ महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२ हटलाइन) लाई निरन्तरता दिइनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *