सुर्तीजन्य पदार्थमा कर नबढेको विषयमा अर्थ मन्त्रीका आर्थिक सल्लाहकारको ‘कुतर्क’
भन्छन्, 'कर बढाउँदा स्मग्लिङ बढ्ने, मधेशका किसानको बाच्ने आधार सकिन्छ'
काठमाडौँ, ५ असार । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत रहिसकेका अर्थविद् एवं नेपाली कांग्रेसका युवा नेता डा विश्व पौडेलले सुर्तीजन्य पदार्थको करको दरका विषयमा विवादास्पद टिप्पणी सहितको कुतर्क गरेका छन् । उनले सामाजिक सञ्जालमा आएको एक प्रश्नको जवाफ दिने क्रममा विवादास्पद टिप्पणी गरेका हुन् ।
यतिवेला अर्थमन्त्री डा प्रकाशशरण महतको आर्थिक सल्लाहकार समेत रहेका उनले नेपालमा चुरोटमा कर बृद्धि गर्दा विदेशी चुरोटले बजार लिने, मुद्रा विदेशीने र स्मलिङ बढ्ने कुतर्क गरेका छन् ।
जवकी नेपालले सुर्तीजन्य पदार्थमा करको दर कम गरेका कारण विदेशमा भन्दा निकै सस्तो मूल्यमा चुरोट सहितका सुर्तीजन्य पदार्थ उपलव्ध छन् । विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउनु पर्ने बताएको छ ।
नेपालमा अहिले ३३ प्रतिशतको हाराहारीमा सुर्तीजन्य पदार्थमा करको दर कायम छ । यसपटकको बजेटमा त झनै घटेर २८ प्रतिशतमा झर्ने निश्चित भएको छ ।
डा पौडेलले टिप्पणीमा अन्तशुल्क मार्फत रक्सी र चुरोटबाट सरकारले ७० अर्व भन्दा बढी कर सरकारले उठाएको भन्दै घुमाउरो पारामा उद्योगकै प्रशंसा समेत गरेका छन् ।
उनले अझ् एककदम अघि बढेर मधेशका विभिन्न जिल्लाका किसानहरुको बाच्ने आधार समेत सुर्ती खेती हो भन्दै हास्यास्पद तर्क गरेका छन् । उनले कर नबढ्दैमा नीतिगत भ्रष्ट्राचार गरयो भनेर सोच्न नहुने समेत बताएका छन् ।
गत ४ मंसिरको निर्वाचनमा चितवन क्षेत्र नं १ बाट सत्ता गठबन्धनको तर्फबाट उम्मेद्धार बनेका डा पौडेल तेस्रो हुँदै पराजित भएका थिए । अहिले भने उनी अर्थमन्त्री डा प्रकाशशरण महतको विज्ञ टोलीमा रहेर काम गरिरहेका छन् ।
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा कर बढाउने दावी गरिरहँदा झन् उल्टै घटेर आएपछि यसमा सरकारले नीतिगत भ्रष्ट्राचार गरेको आरोप लाग्दै आएको थियो ।
सोही विषय कोट्याउँदै एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सरकारले यसपटक रक्सी र चुरोटमा उद्योगीलाई फाइदा पुग्ने गरी काम गरेको भन्दै यसमा नीतिगत भ्रष्ट्राचार जस्तो देखिएको भन्दै प्रश्न उठाएका थिए । उनलाई जवाफ दिने क्रममा डा पौडेलले यस्तो कुतर्क गरेका हुन् ।
उनको जवाफ पछि सामाजिक सञ्जालमा अन्य व्यक्तिहरुले पनि गलत टिप्पणी गरेको भन्दै जवाफ फर्काएका छन् ।
यसैबीच स्वास्थ्य मन्त्री बस्नेतले भने करको दर नबढेको विषयमा आफू चिन्तित रहेको भन्दै मन्त्रिपरिषद्मा छुट्टै प्रस्ताव लगेर भएपनि सुर्तीजन्य पदार्थमा करको दर बढाउने बताएका छन् ।
मंगलबार एमाले स्वास्थ्य विभागको प्रतिनिधिले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले यस्तो बताएका हुन् । एमालेले सुर्तीजन्य पदार्थमा करको दर नबढाएको भन्दै सरकारको आलोचना गरेको छ ।
सम्पर्क इमेल : [email protected]