‘सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी ऐन कार्यान्वयन गर्न सरकार दृढ छ’

पोखरा, ३ असार । गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन कार्यान्यवनमा प्रदेश सरकार दृढ रहेको बताएकी छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य करकोष सचिवालयसंगको सहकार्यमा स्वास्थ्य पत्रकार मञ्च नेपालले शनिबार पोखरामा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन कार्यान्वयन सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा उनले सो कुरा बताएकी हुन् ।

‘कानून बनेको छ, तर कार्यान्वयनमा केही समस्या जस्तो पनि देखिएको छ । तर प्रदेश सरकार यसमा स्पष्ट छ । यसको कार्यान्वयन हुनै पर्छ । कार्यान्वयनको लागि हामी सबै मिलेर लाग्नु पर्छ,’ उनले भनिन् ।

त्यसो त गण्डकी प्रदेश सबैभन्दा पहिले सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी आफ्नै कानून बनाउने पहिलो प्रदेश हो । यो प्रदेशले सुर्तीजन्य पदार्थ नियनत्रण सम्वन्धी प्रदेश कानून विसं २०७६ सालमा पारित गरेको थियो । तर लेखिएको कानूनको पूर्ण पालना भने भएको छैन् ।

‘जनताको स्वास्थ्यसँग सम्बन्धित विषय हो । यसलाई निष्कर्ष निकाल्ने कुरामा मेरो जहिले सहयोग रहन्छ’ मन्त्री सिंखडाले भनिन्, ‘यो कानुन लागू गर्नुपर्छ भन्नेमा मेरो भूमिका एक प्रतिशत पनि कम हुँदैन ।’ उनले आफू सानै उमेरदेखि धुम्रपान मध्यपानको विरोधी रहेको पनि सुनाइन्।

किशोर–किशोरीहरुमा धुम्रपानको लत धेरै देखेको भन्दै मन्त्री सिम्खडाले, आफ्ना सन्तानलाई संस्कार सिकाउन आवश्यक रहेको औँल्याइन्।

‘हामी सप्पत्ति कमाउनेमा धेरै फोकस भएका छौँ । तर छोराछोरीलाई संस्कार दिनमा ध्यान छैन’ मन्त्री सिम्खडाले भनिन्, ‘हाम्रो घरबाटै सुरु गरौँ। बहस छलफल गर्दै जाऔँ, कानुन कार्यान्वयनको पाटोमा ध्यान दिऔँ । एकदिन अवस्य सफल भइन्छ।’

हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनबाट ८० लाख मान्छे मर्नु सामान्य कुरा नभएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल अस्पतालका निर्देशक प्रा.डा भरत खत्रीले बताए ।

यसरी ‘साइलेन्स किलर’ हो भनेर थाहा पाउँदा–पाउँदै पनि धुम्रपान गर्नेले त्यसलाई मनन् नगरेको प्राडा खत्रीले सुनाए।

कार्यक्रममा स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्री आचार्यले नेपालमा सुर्तीजन्य पदार्थ सेवनको अवस्था र ऐन कार्यान्वयनमा नेपाल तथा गण्डकी प्रदेशमा भएको प्रयासबारे प्रस्तुती राखे।

नेपालका करिब एक तिहाइले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको तथांक आचार्यले प्रस्तुत गरे। पुरुषको तुलनामा सुर्तीजन्य पदार्थ सेवन गर्ने महिला कम रहेको विभिन्न अध्ययनको तथ्यांकमा देखिएको आचार्यले जानकारी दिए।

सुर्तीजन्य पदार्थ सेवन गर्ने पुरुष ५१ प्रतिशत रहँदा महिला १३ प्रतिशत मात्रै रहेको पनि उनको भनाइ छ । पहाडी भेगका महिलाले धेरै सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको तथ्यांकमा पनि आचार्यले प्रस्तुत गरे।

विश्वका अन्य देशका तुलनामा नेपालमा करको दर निकै कम भएको र मूल्य सस्तो हुँदा सुर्तीजन्य पदार्थ सजिलै किन्न पाउने मुलुकको रुपमा रहेको पनि उनले जानकारी दिए।

कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले बार्षिक २७ हजार बढी नेपालीको ज्यान लैजाने सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि सरकार तथा सरोकार हातेमालो गर्दै अघि बढ्नु पर्ने भन्दै बनेका कानूनहरुलाई कार्यान्वयन गर्नु अहिलेको आवश्यकता भएको बताए । उनले विश्वमै बढी रहेको नसर्ने रोग मुख्य कारण सुर्तीजन्य पदार्थको सेवन रहेको बताए ।

७ प्रदेशमध्ये सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि गण्डकी प्रदेशले मात्रै ऐन बनाएको भन्दै अध्यक्ष चन्दले सह्राना गरे।

सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन गर्न मुख्य अस्त्र करवृद्धि रहेको चन्दले बताए। सुर्ती, चुरोटका खोलमा ९० प्रतिशत चेतावनीमुकल चित्र राख्नुपर्ने नियम रहेको र ६–६ महिनामा नयाँ चित्र राख्नुपर्नेमा त्यो कार्यान्वयन नभएकोमा चन्दले चिन्ता व्यक्त गरे।

सुर्ती उद्योगका सञ्चालकहरु नीति निर्माण तहमा बसेकालाई दिग्भ्रमित बनाएर आफ्नो स्वार्थ लागू गराउने खप्पिस रहेको आरोप चन्दले लगाए।

टोकाको कम्पनीका साहुजीहरु राजनीतिज्ञलाई कन्भिन्स गराउन निकै माहिर हुनुहुन्छ’ चन्दले भने, ‘रोजगार दिएका छौँ भन्ने, ग्राहकका रुपमा चुरोट, सुर्ती सेवन गर्नेलाई मुद्दा हाल्न लगाउने, यहाँ उद्योग बन्द भए विदेशबाट धेरै आयात हुन्छ भनेर तर्साउने पनि गर्नुहुन्छ।’

सुरुमा ऐन पास गर्नै गाह्रो भएको, त्यसपछि चेतावनीमुलक चित्र राख्ने निर्देशिका पास गराउने पनि निकै चुनौती झेल्नु परेको चन्दले सुनाए।

सुर्ती उद्योगहरुले समाजमा सेवा गरेको भन्ने नाममा विभिन्न गतिविधि गरिरहेकाले त्यो उपयुक्त नभएको चन्दको भनाइ छ । एम्बुलेन्स दिने, स्कुल खोलिदिने, पानी पम्प दिने, अस्पताल खोल्न पैसा दिने जस्ता कामा सुर्ती उद्योगहरुले सहयोग गर्ने गरेकाले त्यस्ता सहयोग लिन नहुने चन्दको भनाइ छ। सुर्तीजन्य पदार्थमा पोखरा महानगरपालिका सुस्त देखिएको अरोप अध्यक्ष चन्दको छ ।

पर्यटकीय शहर पोखरामा ‘स्मोक फ्री’ होटल बनाउने सके त्यो निकै राम्रो हुने सुझाव चन्दले दिए। शहरका हरेक ठाउँमा धुम्रपान निषेधको चिन्ह राख्ने, पालिकाले आफ्नै पाठ्यक्रम राख्न पाउने भएकाले त्यसमा सुर्तीजन्य पदार्थ नियमनको विषय राख्न पनि उपयुक्त हुने सुझाव चन्दको छ । सुर्तीजन्य पदार्थ सेवन सुरु गर्ने उमेर १२–१३ वर्ष रहेकाले यसरी पाठ्यक्रममा समावेश गर्न सके निकै राम्रो हुने उनको भनाइ छ ।

स्वास्थ्य पत्रकार मञ्चका सल्लाहकार समेत रहेका निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपानेले सरकारले सुर्तीजन्य पदार्थ सम्वन्धी ऐन राम्रो बनाए पनि कार्यान्वयनमा फितलो पना देखिएको बताए । उनले बनेको कानूनको राम्ररी कार्यान्वयन हुन सकेमा मात्रै पनि सुर्तीजन्य पदार्थको प्रयोग उल्लेख्य मात्रामा कमी हुने बताए । उनले नेपालमा सुर्तीजन्य पदार्थ सञ्चारमाध्यम र सञ्चारकर्मीले खेलेको भूमिकाको समेत प्रस्तुतिकरण मार्फत चर्चा गरेका थिए ।

यसैगरी मञ्चका सल्लाहकार प्रवीण ढकालले सुर्तीजन्य पदार्थ नियन्त्रण निमनका लागि ऐन निर्माण तथा कार्यान्वयनमा पत्रकारले खेलेको भूमिकाबारे प्रस्तुती दिदै स्वास्थ्य पत्रकारहरुले ऐन आउनुपर्छ भनेर निरन्तर कलम चलाएको उनले सुनाए। उनले नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानून ल्याउँदाका सुरुवाती दुख र त्यसमा मिडियाले कसरी सकारात्मक भूमिका खेलेको थियो भनेर समेत जानकारी गराए ।

स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुंगेलले सुर्तीजन्य पदार्थ नियन्त्रणमा मञ्चले खेलेको भूमिकाबारे जानकारी दिए। ऐन निमार्णदेखि कार्यान्वयनमा स्वास्थ्य पत्रकारको ठूलो भूमिका रहेको ढुंगेलले बताए ।

उनले सुर्तीजन्य पदार्थको सेवनबाट हुने मृत्युलाई रोक्न सकिने मृत्यु भन्दै यसको नियन्त्रण गर्ने कार्यमा नेपालका मिडिया तथा सञ्चारकर्मीहरु अरु भन्दा एक कदम अगाडी नै रहेको बताए ।

कार्यक्रममा पोखरामा रहेका स्थानीय पत्रकारहरुसंग सुर्ती नियन्त्रण कानून र यसको कार्यान्वयनको अवस्थाकाबारेमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *