सुर्तीजन्य पदार्थमा कर बढाउने विषयमा अर्थका अधिकारीहरुको ‘कुतर्क’

काठमाडौँ, २४ चैत । नेपाल बर्डेन अफ डिजिज २०१९ को प्रतिवेदनका अनुसार नेपालमा सन् २०१९ मा कुल १ लाख ९३ हजार ३३१ जनाको मृत्यु भएको थियो । सो मध्ये ७१.१ प्रतिशत मृत्युको कारण नसर्ने रोग हो भनिएको छ । यस्तै २१.१ प्रतिशत मृत्यु सरुवा रोग, मातृ मृत्यु, नवजात मृत्यु र पोषणको कारण भएको भनिएको छ । बाँकी ७.८ प्रतिशत मृत्यु चोटपटक तथा दुर्घटनाका कारणले भएको भनिएको छ ।

सन् २००० विश्व स्वास्थ्य संगठनले गरेको सर्वेक्षणमा नेपालमा सर्ने रोग भार ७० प्रतिशत र नसर्ने रोगको भार ३० प्रतिशत थियो । त्यसको १० वर्ष पछि अर्थात सन् २०१० मा ग्लोबल बर्डेन अफ डिजिजले गरेको सर्वेक्षणले कुल मृत्युको कारण ५१ प्रतिशत नसर्ने रोगबाट भएको पाइएको थियो । सोही संस्थाले सन् २०१४ मा गरेको सर्वेक्षणले नसर्ने रोगबाट मृत्युको संख्या ६० प्रतिशत र सन् २०१६ मा ६६ प्रतिशत पुगेको देखिएको थियो ।

………………………………………………………….

नसर्ने रोग तिव्र गतिमा बढ्नुको एउटा मुख्य कारण धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन हो । विश्व स्वास्थ्य संगठनले नसर्ने रोगको प्रमुख कारण धूमपान तथा सुर्तीजन्य पदार्थ प्रयोगलाई नियन्त्रण गर्नै पर्ने र त्यसका लागि एउटा प्रभावकारी माध्यम भनेको करको दर बृद्धि गर्नु हो भनेको छ । करको दर बढाउँदा मूल्य बढ्ने र महंगो हुनासाथ खपतमा कमी हुने उसको सिम्पल थ्यौरी हो । उसले सुर्तीजन्य पदार्थमा कम्तीमा करको दर ७५ प्रतिशत पुरयाउन पर्ने भनेको छ ।

डब्लुएचओको सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी नीति डब्लुएचओ एफसीटीसी अनुमोदन गरेका राष्ट्रहरुले यस अनुसार नै सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दर बढाउँदै गएका छन् । तर, नेपालले भने अपेक्षाकृत सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दर बढाउन सकिरहेको छैन् । करको दर बढाउने कुरा उठ्नासाथ सुर्ती उद्योगीहरु त विरोधमा उत्रिन्छन् नै केही सरकारी अधिकारीहरु पनि उनीहरुकै पक्ष लिएर कुतर्क गर्न तम्सिन्छन् ।

विहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पनि यस्तै दृश्य देखियो । नेपाल अर्बुद रोग निवारण संस्थाको आयोजनामा भएको ‘सुर्तीजन्य पदार्थमा कर बृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी अर्थ मन्त्रालय र त्यसमातहतका कार्यलयका प्रतिनिधीले कुतर्क गर्दै सुर्तीमा कर बढाउनु आवश्यक नभएको बताए ।

कार्यक्रममा सहभागी भएका अर्थ मन्त्रालयका उपसचिव थेकु श्रेष्ठले कर बढाएर सुर्तीजन्य पदार्थको सेवन न्युनिकरण नहुने ठोकुवा गरे । ‘कर बढाएर सुर्ती जन्य पदार्थको सेवन घट्छ भन्ने होइन, खोइ त घटेको ? छोडेँ भन्नेहरुले पनि फेरी सुरु गरेका छन् । यो लत हो, अम्मलीहरु झन् झन् बढेका छन् । त्यसैले करको दर बढाउनु आवश्यक छैन् । फेरी करको दर बढाउँदा बाहिरबाट अवैध सुर्तीहरुको आयात बढ्छ,’ उनले कुतर्कका साथ प्रस्तुत भए । उनले अटोमोवाइल पछि बढी राजश्व दिने सुर्ती उद्योग हो भन्दै उनीहरुलाई राज्यले विशेष हेर्नुपर्ने बताए ।

कर बढाएर सुर्तीजन्य पदार्थको खपतलाई नियन्त्रण गर्नुपर्छ भन्ने कुरामा बिमती राखेका उनले उनले बार्षिक २७ हजार बढी नेपालीको ज्यान जान्छ भन्ने सम्झेनन् । उनले राजश्व जति प्राप्त हुन्छ त्यसको दोब्बर बढी उपचारमा खर्च हुन्छ भन्ने करा पनि थाहा नपाए झैँ गरे । सबैभन्दा ‘कुतर्क’ भारतबाट अवैध आयात हुन्छ भनेर गरे, जवकी भारतमा करको दर ५१ प्रतिशत माथि छ । नेपालमा ४० प्रतिशतको हाराहारीमा छ । यसले नेपालमा सुर्तीजन्य पदार्थ भारतमा भन्दा निकै सस्तो पर्दछ । त्यसैले अवैध आयात हुन्छ भन्ने कुरामा उनको जवरजस्त कुतर्क थियो ।

कार्यक्रममा सहभागिता जनाएका आन्तरिक राजश्व विभागका निर्देशक ईश्वरप्रसाद कोइरालाले कर दर बढाउने कुरा भन्दा अरु विकल्प खोज्न पर्ने बताए । उनले सुर्तीमा करको दर बढाउने भन्ने विषयमा पुरै हात संसदको रहेको भन्दै सरकारले केही गर्न नसक्ने कुतर्क गरे । जवकी बजेट बनाउने वेलामा राष्ट्रिय योजना आयोग तथा अर्थ मन्त्रालय मिलेर नै करका दर निर्धारण गर्ने हुन् । उनका धारणा पनि सुर्ती उद्योगको पक्षमा हुने खालको देखिन्थ्यो ।

कर बढाउनु पर्छ भन्ने अधिकारी पनि थिए

कार्यक्रममा सहभागी भएका अर्थ मन्त्रालयकै अधिकृत डम्बर बहादुर गुरुङले भने करको दर बढाउन पर्नेमा जोड दिए । उनले देशको राजश्व पनि बढ्ने र खपतमा पनि घट्ने हुनाले यसो गर्दा सबैलाई फाइदा हुने बताए । उनको धारणासंग भन्सार विभागका निर्देशक कृष्णबहादुर बस्नेत पनि सहमति देखिए । उनले पनि सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दर बढाउनु पर्ने बताए ।

सांसद तेजुलाल चौधरीले त सुर्तीजन्य पदार्थमा लाग्दै आएको करमा बृद्धि गर्दा नेपालका ९९ प्रतिशत व्यक्तिहरु खुशी हुने दावी गरे । बेखुशी हुने १ प्रतिशतमा सुर्ती उद्योगीहरु मात्रै हुने उनको तर्क थियो ।

कार्यक्रममा पूर्वमन्त्री गणेश साहले सुर्तीजन्य पदार्थमा करको दर बढाउनु पर्ने दोहोरयाए ।

यस्तै अर्बुद रोग निवारण संस्थाका अध्यक्ष महेश श्रेष्ठले नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उपायमध्ये सरकारले सजिलै लागू गर्न सक्ने एउटा माध्यम करको दर बढाउनु नै हो भने । उनले करको दर बढाउँदा सुर्तीको अवैध आयात हुन्छ भन्ने अर्थ मन्त्रालयका अधिकारीहरुको धारणा प्रति विमती राख्दै सस्तो पाइने ठाँउमा महगो बस्तु नआउने बताए ।

कार्यक्रममा नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई)का निर्देशक डा जयकुमार गुरुङले नेपालमा सुर्तीजन्य पदार्थमा करको अवस्था कस्तो छ ? कर बढाउन किन आवश्यक छ ? भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले डब्लुएचओको सुझाव अनुसार सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दर कम्तीमा ७५ प्रतिशत पुरयाउन आवश्यक रहेको बताए ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *