डब्लुएचओद्धारा गम्भीर श्वासप्रश्वास संक्रमण उपचार केन्द्र सरकारलाई हस्तान्तरण

काठमाडौँ १ चैत । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा बनाएको गम्भीर श्वासप्रश्वास संक्रमण उपचार केन्द्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

मंगलबार विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाका लागि क्षेत्रीय निर्देशक, डा. पूनम खेत्रपाल सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, डा. रोशन पोखरेललाई उपचार केन्द्र हस्तान्तरण गरेकी हुन् । सो अवसरमा सशस्त्र प्रहरी बलका प्रमुख महानिरिक्षक राजु अर्याल, विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा. राजेश संभाजीराव पाण्डव र विश्व खाद्य कार्यक्रम नेपालका प्रतिनीधिहरुको उपस्थिति थियो ।

लगभग ७,६०० वर्ग मिटरमा फैलिएको यस प्रकारको उपचार केन्द्र, दक्षिण–पूर्वी एसिया क्षेत्रमा पहिलो हो र यो कोभिड–१९ लगायत श्वासप्रश्वास सम्बन्धी अन्य संक्रामक रोगका सामान्य, मध्यम, गम्भीर र जटिल अवस्थाका विरामीहरूको उपचारका लागि निर्माण गरिएको हो ।

“जनस्वास्थ्य आपतकालिन अवस्थाहरूको लागि पूर्वतयारी र प्रतिकार्य क्षमता बलियो बनाउन विश्व स्वास्थ्य संगठनको क्षेत्रीय प्राथमिकता अनुरूप यो उपचार केन्द्रको स्थापना गरिएको हो ।

गम्भीर श्वासप्रश्वासको संक्रमण विश्वमै संक्रामक रोगहरूबाट हुने बिमारी र मृत्युको प्रमुख कारण हो । यस स्वास्थ्य संरचनाले श्वासप्रश्वास सम्बन्धी संक्रामक रोगका लागि नमूना रेफरल उपचार केन्द्रको रूपमा काम गर्नुको साथै विरामीको संख्या धेरै हुँदा उपचार र व्यवस्थापनमा सहयोग पु¥याउने छ ।” विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाका लागि क्षेत्रीय निर्देशक, डा. पूनम खेत्रपाल सिंहले भनिन् ।

नेपालका लागि विश्व स्वास्थ्य संगठनका प्रमुख डा. राजेश संभाजीराव पाण्डवले यो उपचार केन्द्र स्थापना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सशस्त्र प्रहरी बल र विश्व खाद्य कार्यक्रमसँगको सहकार्यमा गर्न पाउँदा गौरवान्भित भएको भन्दै यसले श्वासप्रश्वास सम्बन्धी संक्रमणका विरामीहरूको उपचार र हेरचाहका लागि नेपालको स्वास्थ्य पूर्वाधारमा सहयोग पुग्ने बताए ।

श्वासप्रश्वासका विरामीहरूको उपचार गर्न निर्माण गरिएको यस उपचार केन्द्र प्रभावकारी संक्रमण रोकथाम तथा नियन्त्रणका उपायहरूमा आधारित छ । यी उपायहरु सुनिश्चित गर्न ट्राइएज र कर्मचारीका लागि छुट्टै स्थान, विरामीहरुका लागि आउने र जाने छुट्टै बाटो र श्वासप्रश्वासबाट हुनसक्ने संक्रमणको फैलावटलाई कम गर्न उचित भेन्टिलेसन र वायु सुद्धिकरण प्रणालीहरूको व्यवस्था गरिएको छ । यो उपचार केन्द्रलाई सामान्य,मध्यम, गम्भीर र जटिल वार्डमा विभाजन गरिएको छ ।

महामारीको समयमा समुदाय स्तरमा संक्रमण व्यापक हुँदा एक विशेष उपचार केन्द्रको रूपमा ९२ शैय्या क्षमताको छ । यस स्वास्थ्य संरचनाले स्वास्थ्यकर्मी, विरामी र समुदायमा जोखिम कम गर्न मद्दत गर्ने बताइएको छ ।

कोभिड–१९ महामारीका बीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फिल्ड अस्पताल स्थापना गर्न विश्व स्वास्थ्य संगठनलाई आग्रह गरेपछि विश्व खाद्य कार्यक्रमको अन्तर्राष्ट्रिय अनुदान सहयोगबाट यस उपचार केन्द्र स्थापना गरिएको हो ।

विश्वव्यापी सामग्री ढुवानीमा व्यापक चुनौती रहेका बेला स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा विश्व स्वास्थ्य संगठनले यस संरचना निर्माणका लागि आवश्यक ठूलो मात्राको सामग्री ढुवानी गरी नेपालसम्म ल्याउन सहजीकरण गरेको थियो । यसका साथै विश्व स्वास्थ्य संगठन नेपालले थप प्राविधिक र आर्थिक सहयोग प्रदान गरेको थियो भने विश्व खाद्य कार्यक्रम नेपालले संरचना निर्माणका लागि आवश्यक जमिनको आधार तयार गर्न सहयोग गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले विश्व स्वास्थ्य संगठन र विश्व खाद्य कार्यक्रमले उपचारकेन्द्र स्थापना गर्न गरेको सहयोगको प्रशंसा गरे। “यस उपचार केन्द्र निर्माणका लागि विश्व स्वास्थ्य संगठन र विश्व खाद्य कार्यक्रमले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दछु । भविष्यमा आउनसक्ने महामारी प्रतिकार्यका बेला यस उपचारकेन्द्र प्रभावकारीरुपमा संचालनका लागि कार्यविधि बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ए.पि.ए.फ अस्पतालसँग सहकार्य गर्न प्रतिबद्ध छ ।” सचिव पोखरेलले बताए ।

“काठमाडौंको ए.पी.एफ. अस्पतालमा रहेको अस्थायी गम्भीर श्वासप्रश्वास रोग उपचार केन्द्र संयुक्त राष्ट्र संघ अन्र्तगत विश्व खाद्य कार्यक्रमले विश्व स्वास्थ्य संगठनलाई प्रदान गरेको अनुदान सहयोगबाट स्थापना गरिएको हो ।

यस केन्द्रमा मध्यम, गम्भीर, जटिल र सघन उपचार चाहिने विरामीहरुको लागि ९२ वटा शैयाका साथै भान्साकोठा, भोजन कक्ष, लुगाधुने ठाउँ र फार्मेसीको सुविधा रहेको छ ।

विश्व खाद्य कार्यक्रम नेपालले गम्भीर श्वासप्रश्वास संक्रमण उपचार केन्द्रको स्थापनाको लागि जमिनको आधार डिजाइन र निर्माण गर्न इन्जिनियरिङ सेवा उपलब्ध गराएको हो,” विश्व खाद्य कार्यक्रम नेपालका निर्देशक रोबर्ट कास्काले बताए ।

गम्भीर श्वासप्रश्वास रोग उपचार केन्द्र विभिन्न संक्रामक रोगहरूको उपचारका लागि पनि प्रयोग गर्न सकिन्छ जसमा संक्रमण फैलिन नदिन सावधानी अपनाउनु पर्ने सार्स कोभ२, मर्स कोभ, इन्फ्लुएन्जा, एभिएन एन्फ्लुएन्जा, प्लेग लगायत ठूलो प्रकोप वा महामारी निम्त्याउन सक्ने उच्च विरामीदर र मृत्युदर भएका श्वासप्रश्वास सम्बन्धी नयाँ गम्भीर संक्रामक रोग पर्दछन् ।

संक्रामक रोगको प्रकोप वा ठूला दुर्घट्नाका बेला नियमित स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्थामा ए.पी.एफ. अस्पतालको नेतृत्व र व्यवस्थापन अन्तर्गत रहनेगरी यस उपचार केन्द्रले बिरामीको हेरचाह तथा उपचार सहज बनाउन निर्माण गरिएको हो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *