स्वास्थ्य मन्त्रीको रुपमा पदम गिरीको ४२ दिन, कुरा गरौँ न एकै छिन् !
‘लामो समय बसेका भए के गर्थे, कसो गर्थे तर करीव डेढ महिने अवधीमा उनले आफ्नो पहिचान उचो राखे । आफ्नो मात्रै राखेनन्, आफूलाई मत दिएर जिताएका पर्वतेली जनताको विश्वासलाई पनि कायम गरे, पार्टीले गरेको विश्वासलाई पनि डगमगाउन दिएनन्,’ गत सोमबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको समाचार पढेपछि एक जना पूर्व स्वास्थ्य सचिवले ४२ दिन स्वास्थ्य मन्त्री रहेका पदम गिरीमाथि गरेको टिप्पणी थियो यो ।
गत ३ माघमा सरकार विस्तार गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरीलाई स्वास्थ्य मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए । सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीसंग सपथ खाएर मन्त्री गिरी र राज्यमन्त्री डा कार्की संगसंगै मन्त्रालय प्रवेश गरेका थिए ।
पार्टीको निर्णयपछि राज्यमन्त्री डा कार्की स्वास्थ्य मन्त्रालयमा छिरेको २० दिनमै बाहिरिनु परेको थियो । स्वास्थ्य अभियन्ता, विशेषज्ञ चिकित्सक, युवा र सेलिब्रेटीको पहिचान बनाएकी उनको त्यो अवधी काम भन्दा बढी विवादमा परेको थियो । उनको आफ्नै अपरिपक्व शैलीले उनी विवादमा परेकी थिईन् ।
तर मन्त्री बन्नु अघिसम्म खासै चर्चामा नआएका गिरी भने पदबाट बाहिरिनु अघिसम्म अर्थात कार्यकालको अन्तिम दिनसम्म स्वास्थ्यमा निकै ‘फिट’ देखिए । ‘खासगरी बोल्दा, निर्णय लिँदा बिशेष ध्यान पु¥याए, आफै फोन उठाउँथे, कुरा सुन्थेँ, सबैका लागि सहज पहुँच थियो । उनी बुझ्न चाहन्थे, सिक्न चाहन्थे र केही गर्न चाहन्थे जस्तो लाग्थ्यो,’ स्वास्थ्यका एक जना अधिकारीले गिरीसंग विताएको ४२ दिनको अनुभव सुनाए ।
त्यसो त दलबाट प्रतिनिधित्व गरेपछि कतिपय अवस्थामा पार्टी निकटलाई च्यापेर काम गर्नुपर्ने बाध्यता हुन्छ नै तर उनले त्यसमा पनि सुझबुझपुर्ण निर्णय गरेको देखिन्थ्यो । उनले बाहिरिने बेलासम्म त्यस्तो कुनै अप्रिय निर्णय गरेनन् । उनको त्यो शैलीले पार्टी निकटकै कतिपय व्यक्तिहरु वेखुशी देखिए तर त्यहि शैलीले उनलाई झन् परिपक्व देखायो ।
गत सोमबार विहान राष्ट्रिय सभा गृहमा स्वास्थ्य सेवा दिवस मनाईरहँदा उनको पार्टीको सचिवालयको आकस्मिक बैठक बसेको थियो । सो बैठकपछि एमालेले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय हुने अनुमान आम सर्वसाधारणले समेत गरेका थिए ।
केही घण्टामै आफ्नो पद जाँदैछ भन्ने बुझे पनि उनले त्यहाँ आफ्नो धैर्यतामा कुनै प्रभाव परेको देखाएनन् । झण्डै आधा घण्टा भाषण गरेका उनले त्यसबेला पनि पार्टी राजनीति, सरकारको विषय र आफू बाहिरिने विषय कतै चुहाएनन् । बरु स्वास्थ्य क्षेत्र सुधारका लागि आफूले गरेको प्रयासका बारेमा सुनाए, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी कसरी बनाउने भन्ने बारेमा बताए । त्यो भन्दा पनि मुख्य कुरा कर्मचारीहरुलाई कार्यसम्पादन मुल्यांकन गराई, एक वर्षसम्म जिम्मेवारी हेरफेर नहुने विश्वास समेत दिलाए ।
‘भाषण सुन्दा उहाँ पाँच वर्ष कै मन्त्री हुनुहुन्छ जस्तो गरी गर्नु भएको थियो । जवकी उहाँलाई केही मिनेटपछि बाहिरिदैछु भन्ने थाहा थियो । यो पनि परिपक्कपना हो,’ मन्त्रालयका अर्का एक अधिकारीले भने ।
सरकारबाट बाहिरिएपछि मंगलबार (हिजो) विहान उनले स्वास्थ्य पत्रकारसंग अनौपचारिक भेटघाट राखेका थिए । त्यहाँ आफ्ना भनाई राख्ने क्रममा उनले स्वास्थ्य मन्त्रालय आफूले सोचे भन्दा पनि निकै चुनौतीपूर्ण भएको बताएका थिए । ‘मलाई थाहा थियो यो मन्त्रालयमा सम्हाल्न आएका अधिकांश मन्त्रीहरुको छवि राम्रो भएन, तर स्वास्थ्य क्षेत्र जनताको जीवनसंग प्रत्यक्ष जोडिएको मन्त्रालय थियो । मन्त्री बन्ने बेलामा मलाई परराष्ट्र कि स्वास्थ्य भनेर रोजाइएको थियो । मैले जनतासंग जोडिएको स्वास्थ्यमै जान्छु भनेर आएको थिएँ । यो मन्त्रालय विषयगत हिसावले पनि मेरो लागि नयाँ थियो, त्यसैले मैले बुझ्न थालेँ, अध्ययन् गर्न थालेँ । जति बुझ्दै गयो समस्या विकराल रहेछ । र मैले यसलाई समाधानका लागि योजना पनि ंसंगसंगै अघि बढाएको थिएँ । अब हामीले बनाएका योजनालाई कार्यान्वयनमा ल्याउँदै थियौँ तर सरकारबाट बाहिरिनु परयोँ,’ उनले भनेका थिए ।
स्वास्थ्यमा आफूले औषधिको गुणस्तर देखि स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता, अस्पतालमा क्यु लाग्ने र शल्यक्रियामा पालो कुर्नुपर्ने समस्या देखि, स्वास्थ्यकर्मीहरुको व्यवस्थापन सम्ममा संगसंगै काम अघि बढाएको बताएका थिए । ‘दरबन्दी व्यवस्थापन देखि उपकरण सम्म मात्रै होइन नेपाल स्वास्थ्य क्षेत्र रणनीति योजना, स्वास्थ्य वित्त रणनीति लगायतका नीतिगत विषयमा पनि काम अघि बढीसकेको थियो । ५, १० र १५ बेडको अस्पताल निर्माण प्रक्रिया, अस्पताललाई दिन बाँकी रहेका स्वास्थ्य बीमा उपचार सेवाको सोधभर्ना रकम उपलव्ध गराउने काम पनि अबको केही साता भित्र सकिदै थियो । यसलाई अव आउने मन्त्रीले अगाडी बढाउनु हुनेछ,’ उनले भने ।
मन्त्रीको टिम राम्रो
एमालेबाट स्वास्थ्यमा आएका मन्त्रीहरुमा सबैभन्दा प्रभावशाली र सफल देखिएका मन्त्री थिए खगराज अधिकारी । उनको पालामा भएका जति काम सम्भवत अहिलेसम्म कुनै मन्त्रीले गरेका छैनन् । यद्धपी उनले आफ्नो कामको ब्राण्डिङ गर्न जानेनन् । त्यसपछि आएका गगन थापाले पनि स्वास्थ्यमा राम्रो काम गरे । उनले जति काम गरे त्यसको राम्ररी पनि ब्राण्डिङ गरे । त्यस यताका स्वास्थ्य मन्त्रीहरुले खासै महत्व पाएनन् बरु विवादमै परिरहे ।
मन्त्री सफल वा असफल हुनेमा ठूलो भुमिका मन्त्रीको सचिवालय टिमको पनि हुन्छ । मन्त्री गिरी सफल हुनुमा अहिलेको सचिवालय टिमको समेत विशेष योगदान रहेको थियो । खासगरी टिममा रहेर मन्त्रीसंग आम जनताको पहुँच स्थापित गर्न रामजी सापकोटा जसरी खटेका थिए, सञ्चारमाध्यमसंग लिंकअप गर्ने र सूचनाको सहज पहुँच स्थापित गर्न श्रीधर पौडेल उत्तिकै खटेका थिए ।
मन्त्रालय भित्रको नीति योजना ताथ समन्वयको काममा भर्खरै आएका उपसचिव लिला पौडेलले नजिकबाट सघाएका थिए । यसपटक मन्त्रीले अघिल्ला मन्त्रीहरुले जसरी तोकेर विज्ञ सल्लाहकार राखेनन् तर विषयगत विज्ञ र सामुहिक छलफलका लागि भोलेन्टियरको रुपमा कोर टिम बनाए । त्यसको नेतृत्व राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष डा झलक गौतमले गरेको देखिथ्यो ।
यो ४२ दिनमा उनले आफ्नो टिमसंग मात्रै होइन, मन्त्रालयका सचिव, अतिरिक्त सचिव, महानिर्देशकहरु महाशाखा प्रमुखहरु, पेशागत संघ संगठनका प्रतिनिधिहरुसंग पनि सल्लाह सुझाव र छलफलहरु लिएर अघि बढ्ने गरेका थिएँ । स्वास्थ्य क्षेत्र सुधारका लागि सहयोग गर्दै आएको विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, अरु दातृ निकायका प्रतिनिधिहरुसंग पनि उनले सम्वन्धलाई थप प्रगाढ बनाउन सफल भएको मन्त्रालयमा अधिकांश कर्मचारीहरु बताउँछन् ।
यसले के देखाउँछ भने, स्वास्थ्यमा नेतृत्व गर्न लामो समय पछि एउटा आशा लाग्दो युवा मन्त्रीको रुपमा प्रवेश गरेको रहेछ, तर दुर्भाग्यवस उसले आफ्नो क्षमता राम्ररी प्रस्तुत गर्ने समय पाएनन् । जनताले र समग्र स्वास्थ्य क्षेत्रले पदम गिरीसंग जे आशा र अपेक्षा गरेको थियो त्यसलाई पुरा गर्ने गरी अव आउने नयाँ स्वास्थ्य मन्त्रीले त्यसलाई निरन्तरता दिनु पर्दछ । मन्त्री गिरीले पनि स्वास्थ्यमा रहँदा सिकेका कुरा अव संसदमार्फत जनताको हितमा प्रयोग गर्नु पर्नेछ ।
सम्पर्क इमेल : [email protected]