ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन

जाजरकोट, २० माघ । बारेकोट गाउँपालिकामा १५ शैयाको अस्पतालका निर्माणका लागि शिलान्यास गरेको १८ महिना पुग्यो । तर अहिलेसम्म जग पनि खनिएको छैन । गाउँपालिका, कर्मचारी र ठेकेदार कम्पनीको लापरवाहीका कारण भवन निर्माण हुन नसकेको हो । यी तीन वटै निकायबीच अस्पतालको भवन निर्माणमा गोलमाल भएको छ ।

पन्ध्र शैयाको अस्पताल निर्माणका लागि निर्माण व्यवसायीले पहिलो चरणमा रु ८० लाख रकम पेश्की र दोस्रो चरणमा थप रु एक करोड ८१ लाख पेश्की लिइसकेको छ । सम्झौताअनुसार कुल लागतको दश प्रतिशत बजेट अग्रिम पेश्की लिएको हो ।

साढे दुई करोड बढी रकम लिइसकेको ठेकेदारले भने गाउँपालिकाले जग्गा उपलब्ध गराउन नसकेका कारण भवन निर्माणमा ढिलाइ भएको दाबी गरेको छ ।

गाउँपालिकाले जग्गा नदिएर भवन बनाउन अवरोध गरेको ठेकेदारले दाबी गरेको छ । पन्ध्र शैयाको अस्पताल भवन बनाउन करिब ११ कठ्ठा जग्गा आवश्यक हुन्छ । तर हालसम्म लिम्सा स्वास्थ्यचौकीको नाममा चार रोपनी मात्र जग्गा रहेको छ ।

भवन निर्माण गर्न अस्पतालकै नाममा जग्गा धनीपुर्जा हुनुपर्ने कानुनी व्यवस्था रहेको छ । जसले गर्दा भवन निर्माणमा थप ढिलाइ भएको हो ।

स्थानीय तहको हचुवाको निर्णयले अस्पताल निर्माणमा थप समस्या आएको ठेकेदारको भनाइ छ । तत्कालीन गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले अस्पतालको जग्गा प्राप्त नगरी भवन निर्माणको बोलपत्र गराएका थिए । तर गाउँपालिकाले भने ठेकेदारकै कारण भवन निर्माणमा ढिलाइ भएको जनाएको छ ।

भवन निर्माणका लागि जग्गाको खासै समस्या नभएको बारेकोट गाउँपालिका उपाध्यक्ष निशान गिरीले बताए । “अस्पताल भवन बनाउन पर्याप्त जग्गा छ”, उनले भने, “तर ठेकेदारले तीनपटक म्याद थप गर्दासमेत काममा चासो दिएन”, ठेकेदारको लापरवाहीका कारण काम हुन नसकेको उनको दाबी छ । कर्मचारीहरू ठेकेदारसँग मिलेर भवन निर्माणमा थप ढिलाइ गरेको उपाध्यक्ष गिरीले बताए ।

यता स्वास्थ्य शाखा प्रमुख रामबहादुर रोकाय सार्वजनिक जग्गा पर्याप्त नभएका कारण भवन निर्माणमा ढिलाइ भएको बताए । गाउँपालिकाले यही पुस २८ गते स्वास्थ्यको भवन निर्माणका लागि जग्गा व्यवस्थापनका लागि विद्यालयको जग्गा प्राप्ति गर्ने निर्णय गरेको उनले बताए ।

लिम्सामा १५ शश्याको अस्पतालको भवन निर्माणका लागि रु २३ करोड बजेट लागत अनुमान गरिएको थियो । ठेकेदारले घटेर रु १८ करोड ३९ लाख ४९ हजार दुई सय छ मा निर्माणको ठेक्का लिएको गाउँपालिकाका इञ्जीनियर केशव श्रेष्ठले बताए ।

भवन निर्माणका लागि गाउँपालिकाले विसं २०७८ असार १४ गते ठेकेदारसँग सम्झौता गरेको थियो । सम्झौतामा दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने उल्लेख छ । तर सम्झौता अवधि सकिन पाँच महिनामात्र बाँकी रहँदा भवन निर्माणको सुरुआतसमेत हुनसकेको छैन । तत्कालीन वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले अस्पतालको भवनको शिलान्यास गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *