स्वास्थ्य क्षेत्रमा ताप्लेजुङदेखि दार्चुलासम्म परिवर्तन आउनेछ : स्वास्थ्य मन्त्री गिरी
पर्वत,११ माघ । स्वास्थ्य मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रका समस्याहरुको पहिचान गर्दैै परिवर्तनको प्रत्याभूति दिलाउने बताएका छन् । कुश्मा बजारमा आयोजित सातौं पर्वत महोत्सवको उद्घाटन गर्दै उनले भने, ‘ म अहिले स्वास्थ्य क्षेत्रका विद्यमान समस्याबारे गहिरोगरी अध्ययन गर्दैछु । ती समस्या पहिचान गरेर जनतालाई भिन्नताको महसुस गराउने वाचा गर्छु ।’
उनले पर्वत जिल्लाका सातवटै स्थानीय तहमा आगामी ५ वर्षभित्र सुविधासम्पन्न अस्पताल खोल्ने घोषणा पनि गरे । ‘यहाँको जिल्ला अस्पतालमा अत्यावश्यक उपकरणहरुको कमी रहेछ । हामीले केही उपकरण अहिल्यै हस्तान्तरण गर्दैछौं । आगामी ५ वर्षभित्र सातवटै पालिकामा अस्पताल हुन्छन्, डाक्टर, नर्स र ल्याब हुनेछ । सानोतिनो शल्यक्रिया पनि हुन्छ । कोही पनि उपचार नपाएर मर्ने अवस्था रहदैंन,’ मन्त्री गिरीले भने, ‘फेरि स्वास्थय मन्त्रीले आफ्नो जिल्लाको मात्रै हेर्यो भन्ने पर्ला । तर त्यस्तो होइन । ताप्लेजुङदेखि दार्चुलासम्मका समस्या पहिचान गरेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनेछौं । गुणस्तरीय स्वास्थ्यको पहुँच सबै जनतामा पुर्याउने जिम्मा सरकारको हो । उपचार नपाएर अकालमा मर्नुपर्दैन भन्ने प्रत्याभूति जनतालाई दिलाउनेगरी काम गर्नेछौं ।’
प्रजातन्त्र प्राप्तिपछि मुलुकले पर्वत जिल्लाबाट प्रतिनिधित्व गर्ने पहिलो क्याबिनेट मन्त्री पाएको भन्दै उनले आफुलाई भोट हाल्ने सबै जनतालाई धन्यवाद् दिए । ‘६०/७० वर्षको अवधिमा पर्वतन जिल्लाले कुनै मन्त्री पाएको रहेनछ । हामी कति अभागी रहेछौं, वर्षौं भोट हाल्यौ । तर मन्त्री कोही बनेन । तर आज एउटा इतिहास बनेको छ , म सबैलाई कृतज्ञता व्यक्त गर्न चाहन्छु । यो पदम गिरीमात्रै होइन, हामी सबै पर्वतवासी मन्त्री भएका हौं,’ उनले भने,‘म अब काम गर्नुपर्ने ठाउँमा छु ।
कसैप्रति आलोचना गर्ने ठाउँमा छैन । अफ्टेरा छन्, चुनौती छन् । तर, यी चुनौती र अफ्टेराका बाबजुद जनताका पक्षमा काम गर्ने अठोट गर्नुपर्छ र काम गरेर देखाउनुपर्छ । इतिहासले बारम्बार अवसर दिदैंन, थोरै समय अवसर दिन्छ । काम गरेर देखाउन सकियो भने इतिहासमा दर्ज हुन्छ, नत्र यस्ता मन्त्री धेरै आए, गए । इतिहासमै सिमित भए ।’
सम्पर्क इमेल : [email protected]