पाकिस्तानी डाक्टरद्धारा ६० सन्तान जन्माएको दावी, अर्को बिहे गरेर ‘अझ छोराछोरी पाउने ईच्छा’
- मोहम्मद काजिम
बीबीसी उर्दू, क्वेटा
पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाका सरदार हाजी जान मोहम्मदले आफ्नो ६०औँ सन्तान जन्मेको दाबी गरेका छन्। बीबीसीसँग कुरा गर्दै उनले आफ्ना पाँच सन्तानको मृत्यु भएको अर्थात् उनकै भाषामा उनीहरू ‘अल्लाहको प्रिय भएका’ र ५५ जना जीवित र स्वस्थ रहेको बताए।
यति धेरै सन्तान जन्माइसकेका उनले अझै पनि आफू बच्चा जन्माउन नछाड्ने बताए।
उनका भनाइमा “अल्लाहको इच्छा भयो भने” उनी अझै धेरै सन्तान जन्माउनेछन्।
को हुन् खान ?
पचास वर्षीय सरदार जान मोहम्मद खान क्वेटा सहरको पूर्वी बाइपासनजिकै बस्छन्। उनी खालजी समुदायका हुन्। उनी डाक्टर हुन् र उनको त्यही क्षेत्रमा क्लिनिक छ। उनले आफ्नो ६०औँ सन्तानका रूपमा आइतवार छोरा जन्मिएको बताए।
उनले ती बालकको नाम खुशहाल खान राखेका छन्। उनले भने, ‘मैले खुशहाल खानको जन्म हुनुभन्दा पहिले उनकी आमालाई उमराह ९हजजस्तै तीर्थयात्रा० का लागि लिएर गएको थिएँ, त्यसैले म उनलाई हाजी खुशहाल खान भन्छु।’
त्यति धेरै सन्तानको नाम याद छ त भनी सोध्दा उनले चर्को स्वरले हाँस्दै भने, “किन नहुनु ?’
सन् २०५० सम्ममा विश्वको कुल जनसङ्ख्या वृद्धिमा ५० प्रतिशत योगदान दिने विश्वका आठ देशमध्ये पाकिस्तान पनि हुनेछ।
संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् १९६० देखि विश्वभरि जनसङ्ख्या वृद्धिदर घट्दै गएको र सन् २०२० मा यो दर १ प्रतिशतभन्दा कम थियो भने पाकिस्तानमा १.९ प्रतिशत थियो।
चौथो विवाहका लागि महिलाको खोजी
सरदार जान मोहम्मद खानले आफूले चौथो पटक बिहे गर्न चाहेको र त्यसका लागि महिलाको खोजीमा रहेको बताए। पाकिस्तानमा मुस्लिम पुरुषले बहुविवाह गर्न पाउँछन्। तर अर्को विवाह गर्न चाहने पुरुषले पत्नीको अनुमति लिनुपर्छ। अनि पुरुषले एक पटकमा चारवटी पत्नी मात्र राख्न पाउँछन्।
सरदार जान मोहम्मद खानले भने, ‘मैले मेरा सबै साथीहरूलाई मेरो चौथो विवाहका लागि केटी खोज्न मद्दत गर्न आग्रह गरेको छु। उमेर ढल्किँदै छ, त्यसैले चौथो बिहे छिट्टै होस्।’
उनले मात्र धेरै सन्तान जन्माउने इच्छा राखेका होइनन्, उनका श्रीमतीहरूको चाहना पनि त्यस्तै भएको उनको भनाइ छ। किनभने घरमा ‘छोराको भन्दा छोरीको सङ्ख्या धेरै’ छ।
जान मोहम्मद खानले आफ्ना केही छोराछोरी २० वर्षभन्दा बढी उमेरका भए पनि उनीहरू पढिरहेकाले कसैको पनि विवाह नभएको बताए।
आर्थिक समस्या
हाजी जान मोहम्मद खानले आफ्नो कुनै ठूलो व्यापार नभएको तर घरखर्च आफ्नो क्लिनिकले धानिरहेको बताए।
उनका भनाइमा यसअघि बालबालिकाको खर्चमा खासै समस्या थिएन। तर गएको तीन वर्षदेखि महँगी अत्यधिक बढेपछि केही आर्थिक समस्या परेको उनी बताउँछन्।
उनी भन्छन्, ‘व्यवसाय ठप्प भएको छ। पीठो, घिउ, चिनीलगायत सबै आधारभूत कुराको मूल्य तीन गुणाले बढेको छ। पछिल्ला तीन वर्षदेखि मलगायत विश्वका मानिसहरू र सबै पाकिस्तानीले समस्या भोगिरहेका छन्। त्यसमा म पनि पर्छु।’
छोराछोरीलाई खुसी राख्ने आफ्नो प्रयास रहेको र त्यसका लागि आफूले कसैसँग सहयोग नमागी आफ्नै मेहनतले खर्च जुटाउने प्रयास गरेको उनले बताए।
सबै बालबालिकालाई पढाइरहेका हाजी जानले आफ्ना छोराछोरीको पढाइमा पनि धेरै खर्च गरिरहेको जानकारी दिए।
उनले बालबालिकाको खर्चका लागि कसैबाट सहयोग नपाएको तर आफ्ना छोराछोरीले सरकारबाट नागरिकका रूपमा अधिकार पाउनुपर्ने बताए।
‘सरकारले बस देओस्’
सरदार जान मोहम्मद खानका अनुसार उनी घुम्न मन पराउँछन् र आफ्ना छोराछोरीले पूरै पाकिस्तानको भ्रमण गरून् भन्ने चाहन्छन्। छोराछोरी साना हुँदा उनीहरूलाई गाडीमा घुमाउन लान सजिलो भए पनि अहिले गाडीमा त्यसरी लैजान नसकेको उनले बताए।
आफ्ना बालबालिकालाई यात्रा गर्न सरकारले सहयोग गरिदिनु पर्ने उनको माग छ।
उनी भन्छन्, ‘यदि सरकारले मलाई बस दियो भने म आफ्ना सबै छोराछोरीलाई सजिलै पाकिस्तान घुमाउन सक्छु।’
सरदार जान मोहम्मद खान बलुचिस्तानमा धेरै सन्तानको पिताका रूपमा चर्चा हुने दोस्रो व्यक्ति हुन्।
यसअघि बलुचिस्तानको नुश्की जिल्लाका अब्दुल मजीद मेङ्गल नामका व्यक्तिले छ वटा विवाह गरेर ५४ सन्तान जन्माएका थिए।
अब्दुल मजीद मेङ्गलको ७५ वर्षको उमेरमा गत महिना निधन भएको थियो। उनको जीवनकालमै उनका दुई श्रीमती र १२ छोराछोरीको मृत्यु भएको थियो।
सम्पर्क इमेल : [email protected]