शाकाहारी पुरुषमा आन्द्राको क्यान्सरको जोखिम २२ प्रतिशत कम हुने : अध्ययन
एजेन्सी । शाकाहारी खानाले पुरुषहरुमा आन्द्राको क्यान्सरको जोखिम २० प्रतिशतले घटाउने एक अध्ययनले देखाएको छ । ७९ हजार ९५२ अमेरिकी पुरुषहरुमा अवलोकनमार्फत् गरिएको अध्ययनले सबैभन्दा धेरै मात्रामा शुद्ध वनस्पतिमा आधारित खाना खाने पुरुषमा आन्द्राको क्यान्सरको जोखिम २२ प्रतिशतले घट्ने देखाएको छ ।
अनुसन्धानदाताले महिलाहरुमा भने वनस्पति खानाले पेटको क्यान्सर घटेको पाएनन् । जबकि ९३ हजार ४७५ महिलालाई पनि निगरानीमा राखिएको थियो ।
सामान्यतया पुरुषहरुमा आन्द्राको क्यान्सरको जोखिम महिलाको तुलनामा बढि हुन्छ र उनीहरुमै वनस्पतिजन्य खानाले क्यान्सरको जोखिम कम भएको पाइयो ।
बीएमसी मेडिसिन नामक जर्नलमा प्रकाशित अध्ययनका सह–लेखक जिह्य किमका अनुसार आन्द्राको क्यान्सर विश्वमा तेस्रो सबैभन्दा धेरैलाई लाग्ने क्यान्सर हो । जीवनभर हरेक २३ मध्ये एक पुरुष र हरेक २५ मध्ये एक महिलालाई आन्द्राको क्यान्सर हुने सम्भावना हुन्छ । ‘ र हाम्रो अध्ययनले स्वस्थ्य खाना खाएमा आन्द्राको क्यान्सर घट्ने देखाएको छ ,’ दक्षिण कोरियास्थित क्युङ ही विश्वविद्यालयसँग आबद्ध जिह्य किमले भने ।
अध्ययनमा खानालाई स्वस्थ्य वनस्पतिजन्य खाना (अन्न, फलफूल, वनस्पति तेल, ओखर, चिया र कफी), न्युन स्वस्थ्यवद्र्धक वनस्पतिजन्य खाना (प्रशोधित अन्न, फलफूलका जुस, आलु र थपिएको चिनी हालिएको खाना) र मासुजन्य खाना (बोसो, डेरी, अण्डा, माछा अथवा सीफूड र मासु) मा विभाजित गरिएको छ ।
‘फलफूल, तरकारी र अन्नमा पाईने एन्टि–अक्सिडेन्टले क्यान्सर निम्त्याउन सक्ने निरन्तरको सुजनलाई घटाउनसक्ने भएकाले आन्द्राको क्यान्सर घटाएको हुनसक्छ ,’ किमले भने ।
अनुसन्धानदाताले अध्ययन अवलोकनमा आधारित भएकाले वनस्पतिजन्य खानाले पुरुषमा आन्द्राको क्यान्सर अनिवार्य घटाउँछ भनेर निष्कर्ष निकाल्न नहुने बताएका छन् ।
सम्पर्क इमेल : [email protected]