अकुपञ्चर र नेपालमा यसको प्रचलन
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको अग्रसरतामा नेपालमा पहिलो पटक नोभेम्बर २२ लाई विश्व अकुपञ्चर दिवसको रुपमा मनाइदै छ ।
सन् २०११ मा ब्राजिलमा भएको वर्ड फेडरेसन अफ अकुपञ्चर एण्ड मोक्जिबुसन समाजले गरेको सातौँ फ्रेन्च कार्यकारी आयोगको तेस्रो बैठकबाट हरेक वर्षको नोभेम्बर २२ लाई विश्व अकुपञ्चर दिवसको रुपमा मनाउने निर्णय गरिएको हो ।
मित्रराष्ट्र चीनमा पनि नोभेम्बर १६ देखि नोभेम्बर २२ लाई अकुपञ्चर सप्ताहको रुपमा मनाउँदै विरामीलाई उपचारमा छुट, अकुपञ्चर सम्बन्धि विभिन्न सभा सम्मेलन, गोष्ठी आदि आयोजना गरि मनाइन्छ ।
विश्वमा झण्डै ४० लाख देखि ५० लाख अकुपञ्चरका दक्ष जनशक्ति रहेको, अहिले विश्वका १९६ राष्ट्रहरुमा अकुपञ्चर सेवा विस्तार भएको तथा अकुपञ्चरबाट उपचार गरिने रोग तथा स्वास्थ्य समस्याहरु झण्डै ४०० पुगिसकेको कुरा वर्ल्ड फेडेरेसन अफ अकुपञ्चर तथा मोक्जिबुसन समाजका सदस्य तथा मित्रराष्ट्र चीनमा सबैभन्दा उत्कृष्ट मानिने थियानचिन युनिभर्सिटी अफ ट्राडिसनल मेडिसिनका प्राध्यापक डाक्टर कुवो ई ने नेपालमा विश्व अकुपञ्चर दिवसको सन्दर्भमा दिनुभएको शुभकामना सन्देशमा व्यक्त्त गर्नुभएको छ ।
के हो अकुपञ्चर चिकित्सा ?
अकु र पञ्चर दुई शब्द मिलेर बनेको अकुपञ्चर शब्दमा अकु को अर्थ सियो र पञ्चरको अर्थ भेदन भन्ने हो । विभिन्न आकार प्रकारका रौँ जस्ता मसिना सियोहरु प्रयोग गरि शरीरका संवेदनशील विन्दुहरु जसलाई अकुप्वाइन्ट भनिन्छ, त्यसलाई भेदन गरि गरिने चिकित्सा पद्धतीनै अकुपञ्चर हो ।
परम्परागत चिकित्साको सिद्धान्त अनुसार शरीरमा विभिन्न प्रकारका इनर्जी बग्ने बाटोहरु हुन्छन् । ती बाटोहरुलाई मेरिडियन भनिन्छ । यिनै मेरिडियनमा भएका संवेदनशील विन्दुहरुमा सियोले भेदन गरि उपचार गरिन्छ ।
मानिस शरीरमा जम्मा ३६१ वटा अकुप्वाइन्टहरु हुन्छन् ।
विश्व स्वास्थ्य संगठन सन् २००३ मा प्रकाशन गरेको क्लिनिकल ट्रायलको रिर्पोट अनुसार झण्डै सय प्रकारका रोगहरुमा अकुपञ्चर प्रभावकारी मानिएको छ । विशेषः गरेर नसा सँग सम्बन्धित समस्या, दुखाई सम्बन्धि समस्या, वाथ रोग, महिनावारीको दुखाई, अनिद्रा, माइग्रेन, नसाको कारण हुने पिसाबको समस्या, प्यारालाइसिस जस्ता स्वास्थ्य समस्या तथा शरीरमा रोपप्रतिरोधी क्षमता क्षमत्व बृद्धि गर्न समेत अकुपञ्चर प्रभावकारी हुन्छ ।
नेपालमा अकुपञ्चर कहिले शुरु भयो त ?
वि.सं. २०२८ सालमा कोदारी राजमार्ग निर्माणको क्रममा आएका चिनियाँहरुसँगै अकुपञ्चर सेवा नेपालमा प्रवेश भएको मानिन्छ । त्यस्तै वि.सं. २०३४ सातमा वीर अस्पतालमा मित्रराष्ट्र चीनबाट अध्ययन गरेर आएका चिकित्सकले अकुपञ्चर युनिट स्थापना गरेका थिए ।
तर पछि त्यो युनिटनै बन्द भयो । त्यस्तै गरेर नेपाल प्रहरी अस्पतालमा पनि अकुपञ्चर सेवा संचालनमा रहेको थियो तर हाल आएर बन्द भएको छ ।
सरकारी स्तरमा आयुर्वेद चिकित्सालय, नरदेवीमा वि.सं. २०४१ मंसिर १४ गतेबाट डा.हरिशचन्द्र शाहको अगुवामा सानै रुपमा भएतापनि अकुपञ्चर सेवा सुचारु भयो । हाल आएर विशेषज्ञ सिहतको सुविधासम्पन्न डिलक्स अकुपञ्चर सेवा, अकुप्रेसर, कपिङ, कस्मेटिक अकुपञ्चर जस्ता सेवाहरु विस्तार भई अकुपञ्चर विभागनै सञ्चालन भएको छ ।
अहिले नीजिस्तरमा पनि थुप्रै अकुपञ्चर क्लिनिकहरु सञ्चालनमा छन् । एकिकृत स्वास्थ्य सेवाको अवधारणा अनुसार डा.वसन्त पन्तको अगुवाईमा अन्नपूर्ण न्यूरो अस्पतालले पनि सन् २०१३ देखिनै अकुपञ्चर सेवा प्रदान गर्दै आएको छ । हाल आएर भर्खरै बागमती प्रखेश सरकारले आफ्ना १३ जिल्लाहरुमा अकुपञ्चर सहायक स्तरका जनशक्तिबाट सेवा प्रदान गर्न शुरु गरेको छ ।
शैक्षिक उपाधि र मान्यता सम्बन्धि कानूनी र न्यायिक व्यवस्थाः
जापान सरकारको सहयोगमा रेडक्रस सोसाइटी मार्फत वि.सं. २०५० मा र वि.सं. २०५८ सालदेखि सि.टि.इ.भि.टी बाट सञ्चालित तीनवर्षे डिप्लोमा कोर्षका सहायक स्तरका जनशक्तिहरु एकसय पच्चिस नेपाल हेल्थ प्रोफेसनल काउन्सिलमा दर्ता भएका छन् ।
त्यस्तै स्नातक, स्नातकोत्तर तथा पी.एच.डी. तहका जनशक्तिहरु पनि विद्यमान छन् । स्नातक र स्नातकोत्तरका केही जनशक्ति ल्ज्एऋ मा दर्ता भएका छन् भने केही जनशक्तिहरु आयुर्वेद चिकित्सा परिषद्मा दर्ता भएका छन् ।
ट्राडिसनल मेडिसिनका स्नातक तहको शैक्षिक योग्यताले त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रबाट आयुर्वेद चिकित्साको स्नातक तह सरहको मान्यता समेत प्राप्त भई आयुर्वेद चिकित्सा परिषद्मा दर्ता भएको ३५ वर्ष पुगिसकेको भएता पनि अकुपञ्चर लगायत अन्य ट्राडिसनल मेडिसिनको स्नातकोत्तर तहको शैक्षिक उपाधिले मान्यता पाउन भने निकै ठूलो कानूनी संघर्ष गर्नुप¥यो ।
यस क्रममा पटक पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय, प्रधानमन्त्री कार्यालय, अख्तियार अनुसन्धान आयोग, डिन कार्यालयमा वैठकहरु भए ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०६४।४।१२ को निर्णय अनुसार आयुर्वेद इकाइका संगठनात्मक सुदृढीकरणका लागि उच्चस्तरीय जनशक्ति विकासका लागि वि.सं. २०६४।१।१७ मा मित्रराष्ट्र चीन, थाइल्याण्ड र भारत जस्ता मुलुकहरुमा पठाउने र तीनै जनशक्तिहरुलाई आयुर्वेद चिकित्सालय, नरदेवी, राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्र आदिमा उपयोग गर्ने भन्ने निर्णय भएता पनि छात्रवृतिमा नै पढ्न पठाइएका ती जनशक्तिहरुले परिषद्मा नाम दर्ता गर्न र स्वास्थ्य सेवामा बढुवा हुन भने पुनः न्यायिक र कानूनी लडाई नै लड्नुप¥यो ।
कानूनी लडाईको झण्डै पाँच वर्ष पछि सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलासको मिति २०७४।७।१२ गतेको निर्णय र मिति २०७५।४।३१ गतेको पूर्ण इजलासको आदेश पश्चात् परम्परागत चिनियाँ चिकित्साका अकुपञ्चर लगायतका अन्य विषयका स्नातकोत्तर उपाधिले आयुर्वेद स्नातकोत्तर सरह मान्यता प्राप्त गरिसकेपछि मात्र स्वास्थ्य सेवामा बढुवा हुने र आयुर्वेद चिकित्सा परिषद्मा दर्ता हुने कानूनी र न्यायिक बाटो खुल्यो भने अर्को तर्फ उच्च शिक्षाका लागि मित्रराष्ट्र भारतसँगै मित्रराष्ट्र चीनका लागि नयाँ पिढीहरुका लागि बाटो खुल्यो ।
सम्पर्क इमेल : [email protected]