विश्व स्तन क्यान्सर जागरण महिना :

स्तन क्यान्सरविरुद्धको जागरण अभियानमा डाक्टर संगसंगै स्तन ‘क्यान्सर सर्भाइभर’

काठमाडौँ, ४ कात्तिक । विश्व स्वास्थ्य संगठनले अक्टोबर महिनालाई स्तन क्यान्सर जागरण महिनाको रुपमा मनाउने गर्दछ । यहि सन्दर्भ पारेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, अंकोलोजी विभागको अगुवाईमा विहीबार विहान ७ बजे प्रभातफेरीको आयोजना गरिएको थियो । प्रभातफेरीमा चिकित्सक, नर्स, विद्यार्थी, क्यान्सर सर्भाइभर, कर्मचारी, पत्रकारहरु सहभागि थिए ।

पाटन अस्पतालबाट सुरु भएको प्रभातफेरी लगनखेल, मंगलबजार, पुल्चोक, जाउँलाखेल, कुमारीपाटी हुँदै पुन लगनखेलमा आएर टुंगिएको थियो । नेवारहरुको बाक्लो बस्ती रहेको ललितपुरको कोर एरियामा समेटेर पिंक टिसर्ट लगाएका डेढ दुई सयको जमात व्यानर र प्लेकार्ड बोकेर सडकमा निस्कदाँ आम सर्वसाधारणले हेरेका थिए, व्यानर प्लेकार्ड पढेका थिए ।

‘क्यान्सर रोगबारे सचेत बनौ, क्यान्सर बेलैमा थाहा पाए उपचार गर्न सजिलो हुन्छ र चाँडै निको हुन्छ भनेर जानकारी दिनका लागि निस्केको जुलुस हो ‘मा,’ – पाटन मंगलबजार नजिकै बाटो छेउमा उभिएकी ७८ बर्षीय अष्टमायालाई उनीसंगै उभिएका उनका नाती प्रणवले जुलुसबारे सोधेको प्रश्नमा जवाफ दिएका थिए ।

‘कम्तीमा हामी जनचेतनामुलक व्यानर र प्लेकार्ड बोकेर हिड्यौँ । कोही न कोही मानिसले त चासो राख्यो । नबुझेकाहरुले सोध्नु भयो, बुझेकाहरुले मनमा लिनुभयो । यसले कम्तीमा मानिसहरुलाई यसको सम्वेदनशीलताबारेमा त झक्झक्यायो नि,’प्रभातफेरी कार्यक्रमको अगुवाई गरेका पाटन अस्पतालका मेडिकल अंकोलोजिष्ट डा अरुण शाहीले भने ।

करीब ४ किलोमिटर पदयात्रा पछि आएको टोली अस्पताल परिसरमा करीव पाँच मिनेट सुस्तायो । त्यसपछि डा अरुणकै निर्देशनमा चौथो तल्लामा रहेको अडिटोरियम हल तर्फ अघि बढ्यो ।

त्यहाँ डा अरुणसंगै अमेरिकाबाट आएका क्यान्सर रोग विशेषज्ञ डा रोवर्ट र नर्स तथा स्तन क्यान्सर प्रशिक्षक एलिजावेथले आफ्नो देशमा गरेका प्राक्टिस तथा अनुभव सुनाउने कार्यक्रम थियो । त्यसबीचमा अंकोवार्डमा काम गर्ने सिस्टर निर्मला, नर्भिकको अंकोवार्डमा काम गर्ने सिस्टर मटिना महर्जन समेतले बिरामी र स्वास्थ्यकर्मीको सम्वन्धका बारेमा बोलेका थिए ।

डाक्टर अरुणले स्तन क्यान्सर बारेमा केही बताएपछि पालो आयो स्तन क्यान्सर सर्भाइभरको कुरा सुन्ने । उनीहरुले आफ्ना अनुभव र भोगाई यसरी प्रस्तुत गरे :

गाँठागुठी विना पनि स्तन क्यान्सर हुँदो रहेछ : सूर्य लक्ष्मी महर्जन

म सूर्यलक्ष्मी महर्जन करीव तीन वर्ष अघि मलाई स्तन क्यान्सर भएको हो । स्तन क्यान्सर र वरिपरि गाँठागुठी देखियो भने क्यान्सरको जोखिम हुन्छ भन्ने मैले बुझेको थिएँ । तर मलाई क्यान्सर लाग्दा मेरो बुझाईमा नभएको लक्षण देखा परयो । अर्थात मेरो स्तनमा गाँठागुठी थिएन तर दुबै स्तनको निप्पल भित्र छिर्दै गयो ।

करीव ६ -७ महिनासम्म म अलमलमै रहें । किनभने मैले यो जटिलताको संकेत हो भनेर बुझेको थिएन । मेरा नजिकका एक दुई जना साथीहरुलाई भने उनीहरुले पनि त्यसलाई सामान्य रुपमा लिए । तर एक दिन नजिकैको अर्को एक जना साथीलाई यो कुरा सेयर गरें । उहाँलाई थाहा रहेछ र अस्पताल गएर डाक्टरलाई देखाउँन भन्नुभयो । तर मलाई आत्तिन्छ भनेर केही भन्नु भएन ।

सर्वप्रथम म भक्तपुर क्यान्सर अस्पताल गएर डाक्टरलाई देखाएँ । उहाँले कोही साथी हुनुहुन्छ भनेर सोध्नु भयो । मैले दाईलाई बोलाएँ । त्यसपछि भनिदिनुभयो तपाँईलाई स्तन क्यान्सर भएको छ भनेर । त्यसदिन म रुखबाट खसेको बाँदर जस्तो भएँ । शरीरका भाइटलहरु सबै घटेर लल्याक लुलुक भए । बल्ल बल्ल घर आएँ । परिवारले यो कुरा थाहा पायो । सन्नाटा छायो ।

कोभिड लकडाउनको बेला थियो के गर्ने कसो गर्ने भनेर सोच्न नै सकिएन । तर विस्तारै सासाह जुटाउँदै गएँ । भक्तपुरमा उपचारमा केहि ढिलाई हुने देखिएपछि हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पताल गएँ । त्यहाँ उपचार गरेँ । निको हुँदै गएपछि म स्तन क्यान्सर विरुद्धको जागरण अभियानमा जोडिएँ । मैले धेरै ठाँउमा गएर आफ्नो अनुभव सेयर गर्दै आएको छु । क्यान्सर रोग जित्नका लागि उपचारसंगै आत्मवल पनि चाहिन्छ । परिवारको हौसला सहयोग उत्तिकै आवश्यक छ ।

रिपोर्ट हेर्न खोज्नु भएका श्रीमानलाई हात मिलाउँदै भने आई ह्याव क्यान्सर : पुजा कुँवर


म पुँजा कुँवर नार्कोनन नेपालको डाइरेक्टर । मैले आफूलाई स्वास्थ्यमा सचेत ठान्दथें । नियमित स्वास्थ्य परीक्षण गर्दै आएको थिएँ । बुबा आमा दिदीहरुलाई क्यान्सर भएको कारण आफू त्यसमा पनि सचेत थिएँ । मेरो स्तनमा स साना सिस्ट देखा परयो । छ महिना अघि अमेरिकामा जाँदा मेमोग्राम गरेको थिएँ । रिपोर्ट नर्मल नै थियो । उनीहरुले क्यान्सर होइन भने तर मलाई कता कता मनमा चिसो पसि नै रहयो ।

नेपाल फर्केपछि यहाँकै एक अस्पतालमा परीक्षण गराएँ । दोस्रो स्टेजको क्यान्सर भएको पुष्टि भयो । त्यसबेला बायोप्सीको रिपोर्ट लिन म एक्लै गएको थिएँ । रिपोर्टमा क्यान्सर भएको आएपछि एक छिन त के गर्ने गर्ने भयो तर तत्कालै सम्हाले , क्यान्सर पहिले जस्तो त होइन, उपचार पद्धती र प्रविधि तथा जनशक्तिको निकै विकास भएको छ भनेर साहास बढाएँ । म आत्तिएर पुरा परिवारलाई अत्याउने मात्रै काम हुँथ्यो त्यसको सट्टा बरु उपचार तर्फ लाग्नु बुद्धिमानी हुन्छ भनेर लागें ।

त्यसबेला मेरो श्रीमान् बसन्त कुँवर काम विशेषले बाहिर हुनुहुन्थ्यो । हतार हतार आउनु भयो र भन्नुभयो जाँउ हिन रिपोर्ट लिन । मैले भनें रिपोर्ट मैले लिएर आईसकें । खोई के आएको छ हेरोँ भन्नुभयो । मैले हात मिलाएँर भने आई ह्याव क्यान्सर पोजेटिभ । मैले त्यसो भन्दा उहाँ पनि एक छिन अवाक हुनु भयो । मेरो चाला देखेर विस्तारै भन्नुभयो किन यस्तो गर्दैछौँ ? मैले भने सुरुमै थाहा भयो यो ठूलो कुरा हो । अव हामी उपचारमा जान सक्छौँ नि भने । उहाँले सहमति जनाउनु भयो ।

हामीले यहाँ नै उपचार गर्ने भनेका थियौँ तर केही कारणले गर्दा भारतमा गएर उपचार गरियो । त्यहाँ पनि उपचारका लागि दुई वटा विकल्प दिइएको थियो । एउटा किमोले सुकाउने र सर्जरी गर्ने जसले गर्दा स्तन जोगाउन सकिन्छ भनेर ।अर्को स्तन फाल्ने । मैले स्तन फाल्न भने । किनभने स्तन जोगाएर राख्दा पनि क्यान्सरको विउ त रहन सक्ला नि भन्ने लाग्यो । त्यसैले मैले बाँया स्तन शल्यक्रिया गरि हटाइयो । अहिले म ठिक छु । मलाई भगवानले समयमै रोग देखाएर उपचार गरि बचाएको स्तन क्यान्सरको क्ष्ँोत्रमा केही गरोस भनेर हो जस्तो लाग्छ । मैले आम दिदी बहिनीलाई यसबारेमा जागरण ल्याउनका लागि अभियानमा जोडिन थालेको छु ।

१२ पटक स्तनको सर्जरी गर्नु पर्‍यो : विनु केसी

म पनि स्तन क्यान्सर सर्भाभर हो । मलाई १४ वर्ष अघि स्तन क्यान्सर भएको पुष्टि भयो । त्यसपछिको अवधीमा १२ पटक शल्यक्रिया गर्नु पर्‍यो । अहिले मेरा दुबै स्तन शल्यक्रिया गरि हटाइएको छ ।

अहिले क्यान्सरको अत्याधुनिक ढंगले हुने उपचार नेपालमै छ । त्यसबेला पनि थियो तर यस्तो थिएन । त्यसैले परिवारको आग्रहमा म भारतमा गएर उपचार गर्नु परयो । तीन वर्षको छोरालाई छाडेर करीव ६ वर्ष नेपाल भारत गर्दै उपचार गर्दाको पिडा अहिले उल्लेख गरिसाध्य छैन् । तर त्यसले मलाई म जस्तै थुप्रै साथीहरु जुटाईदियो । यसमा काम गर्नका लागि सहयोगी बन्यो । नेपाल क्यान्सर सर्वाभर सोसाइटी भन्ने संस्था खोलेका छौँ ।

क्यान्सर लाग्यो भन्ने वित्तिकै हाम्रो समाजले मृत्यु नै सोच्दछ । क्यान्सर लाग्दैमा मृत्यु हुँदैन । उपचार पछि नयाँ जीवन पाईन्छ । हामी नै उदाहरण छौँ । यो कुरा सबैले बुझ्नु बुझाउन पर्छ ।

मैले नै डाक्टर बनाएको छोरालाई विश्वास नगर्ने ? भन्ने भयो : सुस्मा आचार्य

म एक प्रोफेसर हो । त्रिभुवन विश्वविद्यालयमा ४२ वर्ष पढाएँ । जव म रिटायर जीवन विताउँदै थिएँ । म दिनहुँ शारीरिक व्यायम गर्दथें । मलाई रोग नै थिएन । मेरो छोरा यहिकै डाक्टर छ उसले भन्थ्यो ममी त यति उमेर भईसक्दा पनि कति स्वस्थ कति तगडा । एक दिन मेरो स्तन वरपर चिरचिर गरे जस्तो लाग्यो । छाम्दा सानो गिर्खा जस्तो अनुभव गरें ।

मेरो छोराबुहारी दुबै जना डाक्टर । मैले लुकाउन भन्ने लाग्यो र बुहारीलाई सुनाएँ । त्यसपछि पाटन अस्पतालमै आएर जाँच गरायौँ । केही रिपोर्ट आईसकेपछि छोरा पछि पछि लागेर थप जाँचहरु गराउन थाल्यो त्यसपछि मलाई चिसो पस्यो केही गडबड छ भनेर । तर मलाई डर पटक्कै लागेन । मलाई गम्भीर रोग लाग्ला भन्ने शंका पनि थिएन । घरमा गएपछि छोरा बुहारीले सानो गिर्खा देखियो अप्रेसन गर्नू परयो भने मैले गर्नु पर्छ भने गर्ने भने तर डराईन । किनभने डराएर केही हुने वाला पनि थिएन । फेरी म ७० माथि उमेर भएको मान्छे ।

धेरैले नेपालमा उपचार नगर्नुस भारत जानुस भनेका थिए । मेरो छोरालाई डाक्टर बनाउने म, दुनियाको उपचार गर्ने मेरो छोरा, अनि मैले आफ्नो छोराले काम गर्ने ठाँउमा विश्वास नगरी अन्त जाने ? हुदैन भनेर यहि नै गराएँ । डा अरुणको धेरैले बयान गर्नुभयो । म पनि भन्छु डाक्टरको एक मुस्कान पनि औषधि हो भनिन्छ । उहाँ त बिरामीलाई यति राम्ररी काउन्सिलिङ र केयर गर्नु हुन्छ कुरा गरी साध्य नै छैन् । क्यान्सर भएपछि बिरामी भन्दा पनि अरु आत्तिने, त्यो बाताबरणले गर्दा बिरामीलाई नकारात्मक असर पार्दो रहेछ । त्यसैले म भन्न चाहन्छु क्यान्सर लाग्दैमा नआत्तिउ, उपचारमा ध्यान दिऔँ । आत्मबल बढाउँ ।

बिरामीमाथिको हिंसा बन्द गरौँ : परमिता खनाल

१२ वर्ष भयो मैले स्तन क्यान्सर जितेर आएको ।आजको दिनसम्म नर्मल छु । हामीले क्यान्सर सर्भाइभर सोसाइटी स्थापना गरी काम हरु गर्दै आएका छौँ । क्यान्सरका बिरामीलाई आत्मबल बढाउनु पर्दछ । परिवारको सहयोग आवश्यक छ । डाक्टरले भने जस्तै यो त प्रेसर सुगर भन्दा राम्रो रोग हो । जे पनि खान मिल्छ रक्सी र चुरोट बाहेक । तर मैले यहाँ भन्नै पर्छ कतिपय क्यान्सर पिडीत महिला दिदी बहिनीहरुमा अहिले पनि परिवारमै हिंसा छ ।

किमो लगाउन जानु अघि टन्नै कपडा धुन लगाउने, किमो पछि दुई चार दिन काम गर्न सक्दिन भनेर, आराम गर्नु पर्ने बेलामा खाना बनाउने देखि घर सरसफाई गर्न लगाउने सम्मका गुनासाहरु मैले सुनेको छु ।

कृपया यस्तो नगरीदिनुहोला ।

सन्चो भएपछि त काम गरिनै हाल्नु हुन्छ नि । बिरामी माथि हिंसा गर्नु भएन । अर्को कुरा क्यान्सर रोग मृत्यु होइन । यसले जीवनलाई नयाँ ढंगबाट जीउन सिकाउँछ । हामी दशौँ विसौँ वर्ष देखी सक्रियताका साथ जीवन जिई रहेका छौँ । बरु समयमै यसको पत्ता लाग्यो र उपचार हुन सक्यो भने त्यो अति नै राम्रो हुन्थ्यो । यसका लागि हामीसबैले जनचेतना जगाउनु पर्दछ ।

कार्यक्रम पछि डाक्टर अरुण अमेरिकी डाक्टर रोर्वटलाई लिएर अंकोलोजी वार्डमा भर्ना भई उपचार गराईराखेका बिरामी भिजिट गर्न लागे ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *