स्याङ्जाको चापाकोटमा नि:शुल्क आँखा शिविर सम्पन्न
स्याङ्जा, २९ साउन । ग्रामिण क्षेत्रका जनताको आँखा स्वास्थ्यमा पहुँच पुर्याउन स्याङ्जाको चापाकोट नगरपालिका -९ सुन्तलीटारमा शनिबार निशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।
बीएम टीपीबी फाउन्डेशन आई केयर सेन्टरको आयोजनामा भएको सो शिविरमा १०३ जनाले निशुल्क आँखा जाँच गराएका थिए । शिविरको नेतृत्व गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका बरिष्ठ नेत्र विशेषज्ञ डा आश्विन थकाली चापाकोट पुगेका थिए । त्यहाँ उनलाई नेत्र सहायक देविका गौतम, आकृति दराई कुमाल लगायतले सहयोग गरेका थिए ।
शिविरमा दृष्ट्रि जाँच, मोतियाविन्दु, जलविन्दु लगायतका आँखा स्वास्थ्य सम्वन्धी सम्पूर्ण जाँच गरिएको थियो । साथै मधुमेह भएका व्यक्तिलाई हुने आँखाको समस्याका बारेमा जानकारी समेत गराईएको थियो ।
शिविर सुरु गर्नु अघि औपचारिक कार्यक्रममा वडाध्यक्ष कृष्ण सुवेदीले शिविरले स्थानीय जनताको स्वास्थ्य सेवामा थप टेवा पुरयाएको बताए । निवर्तमान वडाध्यक्ष शंकरभक्त भण्डारीले चापाकोटमा स्वास्थ्य सेवाका लागि बीएम टीपीबी फाउन्डेनको महत्वपूर्ण योगदान रहेको चर्चा गरे । फाउन्डेशनको तर्फबाट डा बुद्धिमान श्रेष्ठले आँखा स्वास्थ्यको महत्वको चर्चा गर्दै फाउन्डेशनले ग्रामिण क्षेत्रमा सेवा पुरयाउने उदेश्यले यस्तो शिविर आयोजना गरेको बताए ।
चापाकोटमा दुई वर्ष अघि देखि बीएम टीपीबी फाउन्डेशन आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ ।
शनिबारको शिविरलाई बीएम फाउन्डेशन, ताईवान फ्रिभेन्ट व्लाइन्डनेश फाउन्डेशन, केडीसी जनरल हस्पिटल काठमाडौँको सहयोग थियो ।
यस्तै शिविरलाई आर्थिक सहयोग मुक्तिनाथ विकास बैंक काठमाडौँले गरेको थियो । शिविरमा बैंकका प्रतिनिधि सुश्मा सेन ठकुरी र मञ्जु विकको समेत उपस्थिति रहेको डा श्रेष्ठले बताए ।
सम्पर्क इमेल : [email protected]