महोत्तरीमा सर्पदंशका बिरामीको संख्या बढ्दो
गौशाला, ७ असार – वर्षा, पानी र बढ्दो गर्मीसँगै अहिले महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा सर्पदंशका बिरामी अत्यधिक बढेका छन् ।
महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक दुईदेखि पाँचजनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रमुख डा मनिष पाण्डेले बताए ।
गर्मी र वर्षायाम अघि कहिलेकाहीँ फाटफुटरुपमा सर्पले टोकेको बिरामी उपचारको लागि आउने गरेको जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक २/४ जना सर्पदंशका बिरामी उपचारका लागि आउन थालेको अस्पतालका मेडिकल अधिकृत डा राजीव झाले बताए ।
डा झाले अहिले वर्षा, पानी र बढ्दो गर्मीसँगै सर्प दुलोबाहिर निस्कने गरेको र घर, खेत, बारी, वन वा जङ्गलमा कामकाजको सिलसिलामा जाने गरेका मानिसलाई टोक्ने गरेको बताए।
जलेश्वर अस्पतालमा आउने सर्पदंशका बिरामीमध्ये अधिकांश विषालु करैत सर्पले टोकेका आउने गरेका छन् भने कोहीकोही गोमन र अन्य सर्पले टोकेका बिरामी तथा कोहीकोही विष नलाग्ने सर्पले टोकेका बिरामी पनि आउने गरेको अस्पताल प्रमुख पाण्डेले बताए।
सर्पदंशको बिरामीलाई उपचार गर्ने क्रममा एउटा बिरामीलाई ५/७ देखि १०/१२ र कसैकसैलाई विषको मात्राको आधारमा ३०/४० भाइल एन्टिस्नेक भेनम नामक सर्पदंशविरुद्धको औषधि दिनुपरेको डा पाण्डेले बताए ।
उनले जिल्ला अस्पताल जलेश्वरमा एन्टिस्नेक भेनम पर्याप्त मात्रामा रहेको र समयमै अस्पतालमा आइपुग्ने बिरामी कोही पनि सर्पदंशका कारण मर्न नसक्ने अवस्था रहेको बताए।
तीन नगरपालिका र ६८ गाविस रहेको महोत्तरी जिल्लाका विभिन्न गाउँठाउँबाट सर्पले टोकेको बिरामी आउनुका साथै जलेश्वर अस्पतालमा भारतीय बिरामीसमेत उपचारको लागि आउने गरेको अस्पताल प्रमुख पाण्डेले बताए । – रासस
सम्पर्क इमेल : [email protected]