भेरीका एक बरिष्ठ सर्जन : जो २० असारमै २९ असार सम्मको हाजिर गर्छन् !

स्वास्थ्य मन्त्रालयले भन्यो - 'स्पष्टीकरण सहित ४८ घण्टा भित्र यहाँ उपस्थित हुनु'

काठमाडौँ, २२ असार ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पतालका बरिष्ठ कन्सलटेन्ट सर्जन डा. सुरेशकुमार नागलाई ४८ घण्टा भित्र उपस्थित हुन पत्र काटेको छ ।

अस्पताल विकास समिति, जिल्ला प्रशासन कार्यालय बाँके बाट आएको पत्र र विभिन्न सञ्चारमाध्यममा आएको समाचारलाई आधार मानेर मन्त्रालयले स्पष्टीकरण सहित ४८ घण्टा भित्र उपस्थित हुन पत्र काटेको हो ।

भेरी अस्पतालमा कार्यरत डा नागले त्यहाँ अग्रिम हाजिर गर्ने र निजीमा काम गर्ने गरेको आरोप लाग्दै आएको थियो । पछिल्लो पटक उनले गत २० असारमा अस्पताल आई २९ असार सम्मको हाजिर गरी निस्केको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद कुमार धितालले जानकारी दिएका छन् ।

‘जिल्ला प्रशासन र अस्पताल विकास समितिको पत्र आयो, त्यसमाथि मिडियाले पनि समाचार लेखेको पाइयो । त्यसैले स्पष्टीकरण सहित ४८ घण्टा भित्र यहाँ उपस्थित हुन भनेका छौँ,’ मन्त्रालय कर्मचारी प्रशासन महाशाखा प्रमुख मदन भुजेलले भने ।

डा नागलाई कारवाही गर्न विकास समितिले जिल्ला प्रशासन कार्यालयलाई लेखेको पत्र

डा नागले फ्नो ड्युटी पुरा नगरेको भन्दै गत वर्ष पनि अस्पताल विकास समितिले मन्त्रालयलाई जानकारी गराएको थियो ।

विकास समितिका अध्यक्ष धितालले २०७८ साल साउन २२ गते कारबाहीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काटेको भन्दै त्यसको सुनुवाई नभएको बताएका छन् ।

 

डा नागले गरेको अग्रिम हाजिर
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *