राष्ट्रिय ट्रमा सेन्टरमा बिरामीका कुरुवालाई एक छाक खाना नि:शुल्क
काठमाडौँ, १३ फागुन । राष्ट्रिय ट्रमा सेन्टरमा बिरामीका कुरुवाले अब दैनिक एक छाक नि:शुल्क खाना खान पाउने भएका छन् । सेन्टरले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर बिहीबार देखि बिरामी कुरुवालाई नि:शुल्क बितरण गर्न थालेको हो ।
यसअघि ट्रमा सेन्टरमा बिरामीलाई मात्र खाना खान दिइन्थ्यो ।
राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद जोशीले उपकार सेवा नामक संस्थाको सहयोगमा बिरामीका कुरुवाका लागि खाना खाने व्यवस्था गरिएको बताए । उनले अहिले बिहानको समयमा मात्रै विरामी कुरुवाले निशुल्क खाना पाउने स्पष्ट पारे ।
उपकार सेवाले १५० शैय्या रहेको सेन्टरमा कुरुवाका लागि खानाको प्याकेट बनाई उपलव्ध गराउने छ ।
‘भर्ना भएका बिरामीका लागि सेन्टरले नै खाना उपलव्ध गराउँछ । तर कुरुवाका लागि खाना आउट सोर्सिङ जस्तो हो । यहाँ भर्ना भएका हरेक विरामीको एक जना कुरुवाका लागि उपकार सेवा नामक संस्थाले हरेक दिन विहान प्याकेट खाना उपलव्ध गराउँनेछ,’ डा. जोशीले भने ।
यसैबीच, राष्ट्रिय ट्रमा सेन्टरमा गत वर्ष ७५५ जना विपन्न नागरिकले दुई करोड ९० लाख बराबरको स्वास्थ्य सेवा लिएका छन् ।
सेन्टरको सातौँ वार्षिकोत्सवमा निर्देशक डा। जोशीले स्पाइनल ईन्जुरी, हेड इन्जुरी र बोनम्यारो क्यान्सर भएका बिरामीले उक्त सेवा लिएको बताए ।
सम्पर्क इमेल : [email protected]