राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि तीन जनाको नाम सिफारिस
काठमाडौँ, १६ माघ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको छ । प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य मन्त्री बिरोध खतिवडाको नेतृत्वमा गठित उपकुलपतिका लागि नाम सिफारिस समितिको शुक्रबार बसेको बैठकले तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार बर्णानुक्रम अनुसार प्राडा ऋषिकेशनारायण श्रेष्ठ, प्राडा नारायणविक्रम थापा र प्राडा रामेश कोइरालाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिसमा पर्ने प्राडा श्रेष्ठ अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स, प्राडा थापा काठमाडौँ मेडिकल कलेज र प्राडा कोइराला शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारीमा कार्यरत छन् ।
‘शुक्रबार बैठक बस्यो र तीन जनाको नाम टुंगो लगायो । त्यसमा क्रमसंख्या होइन बर्णानुक्रम अनुसार नाम राखिएको छ । यी तीन मध्येबाट प्रधानमन्त्री अर्थात प्रतिष्ठानको कुलपति ज्यूले जसलाई पनि नियुक्त गर्न सक्नुहुनेछ । टुंगिएको नाम आज सहकुलपति ज्यूले कुलपति ज्यू समक्ष पेश गर्ने कार्यक्रम छ,’ स्रोतले भन्यो ।
यसअघिका उपकुलपति प्राडा संगिता भण्डारीको पदावधी सकिएपछि सरकारले सहकुलपति एवं स्वास्थ्य मन्त्री विरोध खतिवडाको नेतृत्वमा तीन सदस्यीय नाम सिफारिस समिति गठन भएको थियो । त्यसमा स्वास्थ्य सचिव डा रोशन पोखरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइराला सदस्य रहेका थिए ।
सो समितिले सात दिनको म्याद राखेर गत ७ पुसमा उपकुलपति पदका लागि आवेदन माग गरेको थियो । तोकिएको अवधीमा १६ जनाको आवेदन परेको थियो । समितिले तिनै १६ जनामध्येबाट तीन जनाको नाम सिफारिस गरेको हो ।
सम्पर्क इमेल : [email protected]