कोरोनाविरुद्धको खोप कहाँ भण्डारण गर्ने ? ठाँउको खोजी हुँदै
काठमाडौँ, ५ पुस । नेपालमा २ देखि ९ डिग्री सेल्सिसेस तापक्रममा खोप राख्नका लागि एक लाख ९० हजार लिटर ‘स्पेस’ रहेको छ । कोरोना विरुद्धको खोप ल्याउने तयारी भइरहेका बेला भण्डारणको क्षमता खोजी गर्दा सो ‘स्पेस’ भेटिएको हो । तर यो ‘स्पेस’मै अहिले चलिरहेका नियमित खोपहरु भण्डारण गरिदै आएको छ ।
पछिल्ला दिनहरुमा विभिन्न देश र खोप निर्माता कम्पनीहरुले धमाधम कोरोना भाइरस विरुद्ध खोप प्रयोगमा ल्याउन अनुमति पाएका छन् । अमेरिका तथा वेलायत जस्ता देशहरुमा त खोप लगाउन सुरु गरिसकिएको छ । छिमेकी मुलुक भारतले पनि खोप लगाउने तयारी थालेको समाचार सार्वजनिक भइसकेका छन् ।
‘हामीले पनि अब खोप ल्याउने तयारी सुरु गर्दै छौँ । त्यसअघि हाम्रा प्राविधिक पक्षको पनि लेखा जोखा गर्नुपर्ने हुन्छ । त्यसैको तयारी स्वरुप भण्डारणको खोजीनिति गरेका हौँ,’ स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा झलक गौतमले भने । उनका अनुसार माइनस २० डिग्री खोप भण्डारणका लागि अहिलेसम्म साढे ७ हजार लिटर स्पेस पाइएको छ ।
हिजो मात्रै अमेरिकी निकाय एफडीएले स्वीकृत प्रदान गरेको मोर्डनाको खोप माइनस २० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने बताइएको थियो ।
यस्तै गरी कार्यदलले खोप लगाउन सेवाग्राहीहरको विवरण तयार पार्ने र प्राथमिकताहरु निर्धारण गर्ने कार्य समेत अघि बढाएको डा. गोतमले बताए ।
कोभ्याक्स फेसिलिटीले २० प्रतिशत जनताका लागि खोप उपलव्ध गराउने भनिएपनि त्यो आउन केही ढिलाई हुनसक्ने भन्दै अधिकारीहरुले सरकारले त्यसअघि नै खोप खरीद गरी लगाउन शुरु गर्ने योजना रहेको छ ।
त्यसका लागि जी टू जी, अथवा कम्पनी र खोप निर्माण गरिरहेका मुलुकहरुसंग कुटनीतिक रुपमा छलफल समेत अघि बढाइरहेको डा. गौतमले बताए ।
कोभ्याक्सले नेपाल सहितका सूचीमा रहेका देशहरुलाई सन् २०२१ को अप्रिलसम्ममा आफ्नो प्रतिवद्धता अनुरुप खोप पठाउन सकिने संकेत गरेको छ ।
सम्पर्क इमेल : [email protected]