ललितपुर र बाँकेमा गरी दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, १० भदौ । ललितपुर र बाँकेमा गरी थप दुई जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत काठमाडौँ बुढानिलकण्ठ निवासी ५४ बर्षका पुरुषको मंगलबार राती ९ : ३० बजे मृत्यु भएको हो ।

उता नेपालगञ्ज उपमहानगरपालिका १ निवासी ३७ बर्षका पुरुषको बुधबार विहान १ : ३० बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा मृत्यु भएका बिरामी गत २३ साउनमा अस्पतालमा भर्ना भई उपचाररत थिए । उता दुवै फोक्सोमा निमोनिया भएपछि मेडिकल कलेजमा भर्ना भएका उनको भेन्टिलेटरमा राखी उपचार गर्दा गर्दै मृत्यु भएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए ।

उनका अनुसार स्वासप्रस्वासमा समस्या भएपछि भदौ ८ गते बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती व्यक्तिलाई भर्ना गराइएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा हिजो सङ्क्रमण देखिएको थियो ।

उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचार गर्दागर्दै गए राति १ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना स्रोतव्यक्ति श्रेष्ठले बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले निधनप्रति दुःख व्यक्त गर्दै मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि नरैनापुर गाउँपालिका–५ निवासी २५ वर्षीय युवा, बैजनाथ गाउँपालिका–६ निवासी ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका–२ निवासी ७० वर्षीया महिला र नेपालगञ्ज–५ निवासी ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *