नेपालमा सुत्केरी, मृतजन्म र नवजात शिशुबारे ल्यानसेटको पछिल्लो प्रतिवेदन र बास्तविकता
सारा विश्व कोभिड – १९ को महामारीबाट गुज्रिरहेको बेला हाम्रो देश त्यसबाट अछुतो रहने कुरै भएन । प्रतिकुल अवस्थाका बावजुत हाम्रो देशका स्वास्थ्यकर्मीहरुले अहोरात्र खटिएर स्वास्थ्यका नियमित सेवा सञ्चालन गरिनै रहेका छन् ।
तर, पछिल्लो केही समय देखि केही व्यक्ति र संस्थाहरुबाट कोभिड–१९को माहमारीको समयमा स्वास्थ्य मन्त्रालय र मातहतका स्वास्थ्य संस्थाहरुबाट प्रदान गरेको सेवालाई लिएर बिभिन्न प्रतिक्रियाहरु आएका छन् । विभिन्न सेवाहरुको अध्ययन प्रतिवेदन भन्दै निस्कर्षहरु सार्वजनिक गरेका छन् ।
यसै सन्दर्भमा स्वास्थ्य सम्बन्धि जर्नल ल्यान्सेटमा हालसालै प्रकाशित नेपालमा सुत्केरी, मृत जन्म र नवजात शिशु मृत्युबारे प्रकाशित लेखले धेरैको ध्यान आकर्षित गरेको छ । अध्ययन् प्रतिवेदन सार्वजनिक भईसकेपछि आएका समाचार र टिप्पणीपछि आफ्नो जानकारीमा रहेका केही कुरा भने भन्नै पर्ने पर्ने देख्यौ र यहाँ ती कुरा उल्लेख गर्न चाहन्छौँ ।
उक्त जर्नलमा प्रकाशित नेपालका ९ वटा प्रादेशिक तथा केन्द्रिय अस्पतालहरुमा बन्दाबन्दि सुरु हुनु भन्दा अघिको र बन्दाबन्दि अवधिको समय (जम्मा ५ महिना) मा गरिएको अध्ययनलाई आधार बनाई नेपालमा त्यस समयमा स्वास्थ्य संस्थामा हुने जन्ममा ५२ प्रतिशत भन्दा बढीले कमी आएको र नवजात शिशुको मृत्यु तीन गुणाले (३००%) बढेको देखाइएको छ । बन्दाबन्दिको समयमा नवजात शिशु मृत्युदर १३ प्रति एक हजार जिवित जन्मबाट बढेर ४० प्रति एक हजार जिवित जन्ममा पुगेको उल्लेख छ ।
सो अध्ययन ९ वटा प्रादेशिक तथा केन्द्रिय अस्पतालहरुमा गरिएको हो जसको निष्कर्ष समग्र रुपमा वा सामान्यीकरण गरी नेपालको अवस्था यहि नै हो भनि व्याख्या गर्न मिल्दैन, जुन कुरा अध्ययनमा पनि भनिएको छ ।
सो अध्ययनले ९ वटा प्रादेशिक तथा केन्द्रिय अस्पतालहरुमा बन्दाबन्दिको समयमा स्वास्थ्य संस्थामा हुने जन्म ५२.५ प्रतिशतले कमी आएको छ भनि देखाएको छ । संस्थागत सुत्केरी भनेको स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा सुत्केरी हुने बुझिन्छ । यद्दपि स्वास्थ्य मन्त्रालयको आधिकारीक स्वास्थ्य व्यबस्थापन सूचना प्रणाली को अनुसार नेपालमा संस्थागत सुत्केरीको संख्या हेर्ने हो भने आ.व. २०७५/७६ मा चार लाख छ हजार (४०६,०००) थियो भने आ.व. २०७६/७७ मा संस्थागत सुत्केरी हुनेको संख्या चार लाख दुई हजार (४०२,००० ) रहेको छ, यो संख्या थप हुनेछ किनभने स्वास्थ्य व्यबस्थापन सूचना प्रणालीमा हाल करिब ९० प्रतिशत मात्र रिपोर्टिङ भएको छ । तसर्थ नेपालमा कोरोना र बन्दाबन्दि ले संस्थागत सुत्केरी हुनेको संख्यामा समग्रमा कमि आएको देखिँदैन ।
नेपालमा २०७६ चैत्र १२ देखि लागु गरिएको बन्दाबन्दिले अत्यावस्यक सेवा बाहेकका सेवाहरु र यातायात सेवा बन्द भएको थियो । तर यसबीचमा केन्द्रदेखि स्थानीय तहसम्म स्वास्थ्य सेवा निरन्तर प्रदान भईरहेकै थियो । बन्दाबन्दिले लामो दुरीको यातायातको असुविधा र प्रादेशिक तथा केन्द्रिय अस्पतालहरु कोभिड डेडिकेटेड अस्पताल घोषणा भएका कारण ले यी अस्पतालहरुमा सुत्केरी हुनेको संख्यामा कमि आएको भएता पनि नजिकैको अरु स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्यामामा बृद्धि भएकोले समग्रमा नेपालमा संस्थागत सुत्केरी हुनेको संख्यामा कमि आएको देखिदैन ।
संस्थागत सुत्केरी हुने स्वास्थ्य संस्थाको किसिममा भने फरक प्रवृति देखिएको छ । हिमाल र तराईमा संस्थागत सुत्केरी हुनेको संख्यामा थोरै कमि आएको छ भने हिमाली क्षेत्रमा संस्थागत सुत्केरी हुनेको संख्या ५५ ले बढेको पाईएको छ । बन्दाबन्दिको कारणले सुत्केरी हुन तराई वा पहाडका स्वास्थ्य संस्थामा आउने संख्यामा कमि (३५ ले) आएको हो । साथै दुई आर्थिक बर्षको संस्थागत सुत्केरी हुनेको संख्या तुलना गर्दा सहरी क्षेत्रमा थोरैले कमि आएको र ग्रामिण क्षेत्रमा संस्थागत सुत्केरी हुनेको संख्यामा वृद्धि देखिएको छ । यसै गरि निजी स्वास्थ्य संस्थामा २ प्रतिशतले संस्थागत सुत्केरी हुनेको संख्यामा वृद्धि भएको छ । आ.व. २०७५/०७६ र आ.व. २०७६/०७७ को संस्थागत सुत्केरी हुनेको संख्या तुलना गर्दा शिक्षण अस्पताल, पोलीक्लिनिक, नर्सिंग होम, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिंङ सेन्टर (हेल्थ पोस्ट, शहरी स्वास्थ्य क्लिनिक) मा संस्थागत सुत्केरी हुनेको संख्या बढेको छ भने प्रादेशिक तथा केन्द्रिय अस्पतालहरुमा संस्थागत सुत्केरी हुनेको संख्यामा कमि आएको छ ।
स्मरण रहोस प्रादेशिक तथा केन्द्रिय अस्पतालहरु कोभिड डेडिकेटेड अस्पताल घोषणा भएका थिए जसले गर्दा बिशेष गरि जटिल अवस्था भएका गर्भवतीहरु मात्र यी अस्पतालहरुमा भर्ना भए अन्यथा सामान्य अवस्था भएका गर्भवतीहरुहरु नजिकैको स्वास्थ्य संस्थामा सुत्केरी भएको पाईएको छ ।
स्वास्थ्य संस्थामा हुने जन्म ५२.५ प्रतिशतले कमि आएको तथ्याङ्कलाई सामान्यीकरण गर्ने हो भने हामी आज भन्दा दस वर्ष पहिलेको अवस्थामा पुग्यौँ भन्ने स्वीकार्नुपर्ने हुन्छ । सन् २००९ मा निशुल्क (प्रसुती सेवा) आमा सुरक्षा कार्यक्रम लागु भएको हो । सन् २०११ मा संस्थागत सुत्केरी ३५ प्रतिशत मात्रै थियो । अहिले मन्त्रालयको आधिकारीक स्वास्थ्य व्यबस्थापन सूचना प्रणाली (HMIS) अनुसार आ.व. २०७५/७६ को संस्थागत सुत्केरी करिब ६३ प्रतिशत पुगेको छ । यहि ६३ प्रतिशतको ५२ प्रतिशतले घटेको मान्ने हो भने करिब ३० प्रतिशत भन्दा पनि कम संस्थागत सुत्केरी हुने अवस्था आएको बुझ्नु पर्छ । तर तथ्याङ्कलाई यसरी विश्लेशण गरिँदैन ।
सो अध्ययनले यी ९ वटा अस्पतालहरुमा मृतशिशु जन्म (स्टिल बर्थ) बन्दाबन्दि भन्दा अगाडी १७९ र पछाडी १५३ मात्र रहेको बताएको छ तर स्टिल बर्थ रेट (मृत शिशु दर) प्रति एक हजार जीवित जन्ममा १४ बाट बढेर २१ पुगेको देखाइएको छ । त्यसै गरि नवजात शिशुको मृत्यु बन्दाबन्दि भन्दा अगाडी प्रति एक हजार १८ र पछाडी २५ रहेको देखाइएको छ तर नवजात शिशु मृत्युदर तीन गुणाले बढेको भनिएको छ ।
उक्त अध्ययनमा भनिए जस्तै नवजात शिशु मृत्युदरको तथ्याङ्कलाई नेपाल भरी सामान्यीकरण गर्ने हो भने सन् २००० मा नेपालको नवजात शिशु मृत्युदर ४० प्रति हजार जीवित जन्म थियो भने अहिले जनसांखिक सर्वेक्षण–२०१६ अनुसार २१ प्रति हजार जिवित जन्म रहेको छ । यो अध्ययनको आधार लिएर केहि व्यक्ति र संस्थाहरुले सामान्यीकरण गरेको देखियो । यदि यस्तो हो भने संस्थागत सुत्केरीमा १० वर्ष पहिले (सन् २०११) र नवजात शिशु मृत्युदर २० वर्ष पहिले (सन् २०००) को अवस्थामा नेपाल पुगेको हो त ? यो गंभिर प्रश्न हो । यसरी व्याख्या गरिनु गलत हुन्छ ।
यस्तै अरु पनि तथ्याङ्कहरु छन् । यो तथ्यांकीय हिसाबले ठिक छ किनभने दर (रेट) निकाल्दा denominator (हर) ले ठुलो महत्व राख्दछ । यो अध्ययनमा जम्मा जन्म संख्या बन्दाबन्दि भन्दा अगाडी १३,१८९ र पछाडी ७,१६५ रहेको । अर्थात् denominator (हर) आधा ले कम भएकोले दर हरु ह्वातै बढेको देखिन्छ । Numerator (अंश) को सन्दर्भमा निम्न तथ्यहरु बुझन आवश्यक छ ।
१. बन्दाबन्दिले लामो दुरीको यातायात संचालनमा नरहेको अवस्था ।
२. अध्ययनमा समाबेश भएका अस्पताल रेफरल अस्पतालहरु हुन् । जहाँ जटिल अवस्थाका विरामीहरु नै आउँछन् ।
३. प्रादेशिक तथा केन्द्रिय अस्पतालहरु कोभिड डेडिकेटेड अस्पताल घोषणा भएका थिए जसले गर्दा बिशेष गरि जटिलता भएका सुत्केरीहरु मात्र यी अस्पतालहरुमा भर्ना हुन आए, सामान्य अवस्था भन्दा बन्दाबन्दि पछि जटिलता भएका सुत्केरिहरु यी अस्पतालमा बढी आएको सो अध्ययनले पनि बताएको छ ।
४. जटिलता नभएका गर्भवती महिलाहरु नजिकैको स्वास्थ्य संस्थामा सुत्केरी भएको पाईएको छ ।
५. मृत शिशु जन्म र नवजात शिशुको मृत्यु जटिलता भएका सुत्केरिहरुमा नै बढि हुने गर्छ ।
तसर्थ कोभिड- १९ संग सबै स्वास्थ्यकर्मी र सारा देश एकजुट भई लडिरहेको अवस्थामा एउटा अध्ययनको तथ्याङ्कलाई गलत तरिकाबाट बिश्लेषण गरि समग्र देशको स्वास्थ्य सेवा प्रणाली र उपलब्धि माथि प्रश्न उठाउनु र जनतामा अविश्वास, डर र भ्रम फैलाउने कार्य कुनै पनि व्यक्ति वा संस्थाबाट गरिनु हुँदैन ।
नेपालको स्वास्थ्य प्रणालि भनिएको जस्तो अत्यन्त कमजोर ९ाचबनष्भि० छैन । यस्ता विषयहरुको उठान गर्दा अत्यन्तै संवेदनशिल हुनुपर्छ । हामी सबैको उद्देश्य आमा, नवजात शिशु र बालबालिकाहरुको स्वास्थ्य अवस्थामा समग्र प्रगती होस्, जस्तो सुकै असहज अवस्थामा पनि उनिहरु स्वास्थ्य सेवाबाट बंचित हुन नपरोस् भन्ने नै हो ।
# डा. गौतम र झा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखामा कार्यरत छन् ।
सम्पर्क इमेल : [email protected]