कोरोनाबिरुद्ध प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ औषधि बैधानिक रुपमै नेपाल भित्रियो

काठमाडौँ, ५ भदौ । कोरोना भाइरस (कोभिड – १९) संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेमडिसिभिर औषधि बैधानिक रुपमा नेपाल भित्रिएको छ । औषधि व्यवस्था विभागको अनुमति पछि पहिलो पटक यो औषधि बैधानिक रुपमा नेपाल भित्रिएको हो ।

यसअघि गम्भीर अवस्थाका कोभिड -१९ का बिरामीका लागि उनका आफन्तहरुले आफ्नै प्रयासमा ‘जुगाड’ गरी प्रयोगमा ल्याउने गरेका थिए ।

शुक्रबार विहान माइलन कम्पनीले उत्पादन गरेको औषधि त्यसको आधिकारिक आयातकर्ता सिनर्जी ओभरसिज प्रालिले ल्याएको हो । ‘औषधि आज विहान आइपुगेको छ । अब यसको वितरण कसरी कहाँ गर्ने ? त्यसबारेमा थप स्पष्ट हुन औषधि व्यवस्थाप विभागसंग परामर्श गर्दैछौँ,’ सिनर्जी ओभरसिज स्रोले बतायो ।

उता सिप्ला कम्पनीले बनाएको रेमडिसिभिर औषधि अर्को आयातकर्ता यतिकेम प्रालिले ल्याउँदै छ । ‘उताबाट डिस्प्याच भईसक्यो । हवाई मार्ग सहज नभएकोले हामीले स्थलमार्गबाट ल्याउँदै छौँ । तीन चार दिनमा आईपुग्छ सायद,’ यतिकेम प्रालिका प्रमुख प्रभुराज बैद्यले बताए ।

उनले पहिलो लटमा पाँच सय भाइल औषधि (खोप) आउँदै गरेको समेत जानकारी दिए । ‘मुम्बईबाट हिडिसक्यो, आज बेलुका वा भोलि विहानसम्म पटना आईपुग्छ । त्यसपछि रक्सोल त सात आठ घण्टा समय हो । त्यसपछि भन्सारमा कति समय लाग्छ भन्ने मात्रै हो । तीन चार दिन भित्र आउँछ होला,’ उनले भने ।

यसअघि औषधि व्यवस्था विभागले गत ३१ साउनमा सिप्ला, माइलन र हिटेरो कम्पनीबाट उत्पादित ‘रेमडिसिभिर’ आयात गर्न अनुमति दिएको थियो । यो औषधिको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले क्लिनिकल ‘क्लिनिकल ट्रायलका लागि समेत प्रयोग गर्ने भनिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *