मंगलबार काठमाडौँमा भेटिएका संक्रमितमा चिनिया र भारतीय नागरिक समेत
काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यमामा मंगलबार ५३ जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकाका संक्रमितमध्ये ४८ जना काठमाडौँ, ४ जना ललितपुर र एक जना भक्तपुरमा देखिएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबार संक्रमित हुनेमा दुई जना चिनियाँ नागरिक र एक जना भारतीय नागरिक समेत छन् । चिनियाँ नागरिक एक जना ठमेलको होटलमा र अर्को एक जना बौद्यमा आफ्नै कोठामा बस्ने गरेका हुन् ।
उनीहरु पीसीआर गरी स्वदेश फर्कने तयारीमा थिए । यस्तै मंगलबार भेटिएका एक जना भारतीय नागरिक व्यापार गर्ने सिलसिलामा काठमाडौँमा रहेका व्यक्ति हुन् ।
अरु संक्रमित कहाँ कहाँका ?
इडिसिडीका बरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार सबैभन्दा बढी अर्थात २७ जना प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीहरु हुन् । त्यसबाहेक चार जना प्रहरीलाई सघाउने अन्य कामदारहरु छन् । एक जना ३ बर्षीय बालिका कान्ति बाल अस्पतालमा उपचार गराउँदै गरेकी हुन् ।
यस्तै काठमाडौँको धापासी, ठमेल, भोटेवहाल, बौद्य क्षेत्रमा बसोबास गर्नेहरुमा पनि संक्रमण देखिएको छ ।
उता ललितपुरको पाटन अस्पतालमा भर्ना भएकाका ४ जना शंकास्पदमा पनि संक्रमण देखिएको कोइरालाले जानकारी दिए ।
पछिल्लो समय उपत्यकाबाहिरबाट उपत्यका भित्रिनेको संख्या बढेसंगै संक्रमण बढेको भन्दै सरकारले घरबाहिर निस्कदाँ सतर्कता र सचेतता हुन आग्रह गरेको छ ।
सम्पर्क इमेल : [email protected]